२०८१ पुष २१ गते आइतवार / Jan 05 , 2025 , Sunday
२०८१ पुष २१ गते आइतवार
Ads

‘अनिश्चयको सिद्धान्त’ र ‘भाग्यवादी सिद्धान्त’

ADV
२०८१ पुष १८ गते ०६:१०
‘अनिश्चयको सिद्धान्त’ र ‘भाग्यवादी सिद्धान्त’

–डा. शम्भु कट्टेल

विगतमा चर्का मार्क्सवादी कुरा गर्ने केही युवाहरू आजभोलि नवीन आविष्कारमा आधारित चिन्तकको कुरा गर्दै छन् । उनीहरू ‘अनिश्चयको सिद्धान्त’ अघि सारेर मार्क्सवादको आवरणमा नयाँपनको दाबी गरिरहेका छन् । यद्यपि, उनीहरूको यो शैली मार्क्सवादकै मुटु झिक्ने ढंगले आएको छ । 

‘अनिश्चयको सिद्धान्त’ सन् १९२७ मा वर्नर हाइजेनबर्ग भन्ने जर्मन भौतिकशास्त्रीले अघि सारेको सिद्धान्त हो । यो सिद्धान्तले परमाणुभित्रका कणहरूको स्थान र गति एकैसाथ मापन गर्न सकिँदैन भनेको छ, जसको सहारा लिएर वैज्ञानिक भौतिकवादविरोधी चिन्तकहरूले अनिश्चयको सिद्धान्तको वकालत गरिरहेका छन् ।

जगत् जानी नसक्नु छ, कता जान्छ, भन्न सकिँदैन । संसार ध्वस्त हुन पनि सक्छ, क्रान्ति नहुन पनि सक्छ । मार्क्सवादले भनेका क्रान्तिका सिद्धान्तहरू लागू नहुन पनि सक्छन् भन्ने बुझाइ अनिश्चयको सिद्धान्तमा छ । प्रोफेसर हाइजेनवर्गको फरक सन्दर्भको सिद्धान्तलाई सामान्यीकरण गरी निराशाजनक र ‘भाग्यको खेल’ भन्नेहरूका जस्ता कुरा गर्न थालेका रहेछन् । सायद, यो ‘घुमिफिरी रुम्जाटार’को बाटो हो !

जीवन, जगत् वा संसार कसरी चल्छ भन्ने मुख्य गरी २ वटा कोण छन् । एक : नियममा । संसार नियमबद्ध तरिकाले चल्छ, आफैं चल्छ, छिटो–ढिलो, उकाली–ओराली जे भए पनि कालान्तरमा उँभोतिरै चलिरहन्छ । निश्चित स्तरका क्रमिक परिवर्तनहरूपछि झ्वाट्ट र ठूला परिवर्तनहरू आउँछन् भन्ने छ । 

अर्को, नियमबद्ध होइन, उट्पट्याङ तरिकाले चल्छ, आफैं होइन, कुनै अलौकिक शक्तिले चलाउँछ । कालान्तरमा उँभोतिरै मात्र होइन, सदाका लागि विनाश वा ध्वस्त हुन पनि सक्छ भन्ने छ । 

ती नेपाली युवाहरूले भनेको ‘अनिश्चयवाद’ दोस्रो कोटीको कोणमा पर्छ । यसले संसार संचालनभित्र नियमबद्धता देख्दैन, विशृंखलता देख्छ । स्वचालन देख्दैन, पारलौकिक वा अद्भुत शक्तिद्वारा परिचालित देख्छ । उत्तरोत्तर उँभोतिरको विकास देख्दैन, सदाका लागि विनाशको सन्देश छर्छ । 

संसार संचालन प्रक्रिया जटिल भए पनि अज्ञेय छैन । हिजो थाहा नभएका कुरा आज थाहा भएका छन्, आज थाहा नभएका कुरा भोलि थाहा पाइने छन् । धेरै कुरा थाहा हुन बाँकी छ तर क्रमशः थाहा हुँदै जाने छ ।

हामी आज प्रयोगशालामा हाइड्रोजन र अक्सिजनको निश्चित मात्रा मिसाएर पानी बनाउन सक्ने भएका छौं । गणित गरेर यति बेला ग्रहण लाग्छ भन्न सक्ने भएका छौं । कतिपय क्यान्सर रोगीको आयु तोक्न सक्ने भएका छौं । एउटा बिरुवाको वंशाणु अर्को बिरुवामा सारेर अर्को बिरुवामा वंश गुण सार्न सक्ने भएका छौं ।

प्रकृतिमा जे चिजहरू जुन अनुपात र परिवेशमा मिसिएर नयाँ चिज बन्छन्, त्यही अनुपात र परिवेश सिर्जना गरेर मान्छेले (वैज्ञानिकहरूले) नयाँ चिजहरू निकालिरहेका छन् । यसले चिजहरू बन्नुमा निश्चित नियम हुने र सो नियम प्रयोग गरेर ती चिजहरू बनाउन सकिने कुरा देखाउँछ ।

यसबाट संसार विभिन्न भौतिक चिजहरूको निश्चित अनुपात र परिवेशको सम्मिश्रणले आफैं बनेको सिद्ध हुन्छ । आज थाहा नभएका अरू अनुपात र परिवेश भोलि थाहा हुँदै जाला । यो प्रक्रिया जानी नसक्नु छैन । यो सिर्जनाको प्रक्रियामा कतिपय पुराना चिज मासिन्छन् र नयाँ बन्छन् । प्रलय भएर पनि नयाँ संसार बनेकै छन् ।

एउटा तारा खसे पनि त्यसका कणहरू अरू कणहरूसँग मिलेर नयाँ तारा, सूर्य, पृथ्वी चन्द्रमा आदि बनेकै हुन्, बन्ने छन् । संसार सनातनदेखि उकाली–ओराली गर्दै अन्ततः नयाँतिरै, उँभोतिरै अघि बढेको छ, बढ्छ । आत्तिनुपर्ने कुरो छैन । 

समाजको क्षेत्रमा पनि आवश्यकताको दबाबले सुधार हुँदै जान्छ । सुधारहरूको दबाबले कालान्तरमा क्रान्तिसमेत भइछाड्छ । अनिश्चयको बिउ छरेर, नवीनताको बहानामा जता जान र जे गर्न पनि छुट सिर्जना गर्ने चाल चल्न आवश्यक छैन । 

विज्ञानको असान्दर्भिक उदाहरण दिएर न त्यस्ता पाखण्डहरूले आफूलाई विज्ञ साबित गर्न सक्छन्, न त सचेत जनता नै झुक्किनेवाला छन् । राजनीति कूटनीति होइन, आफ्नो बाटो हिँडे काँडाले नि कोर्दैन ।

ADVADV

सम्बन्धित खबर

Advertise