२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

महँगियो अण्डा

ADV
निमिष झा
२०८१ पुष २० गते ०६:३५
महँगियो अण्डा

काठमाडौं : अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । निरन्तर घाटामा विक्री हुँदै आएको अण्डाको मूल्य गत शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा विक्री भइरहेको छ ।

लागू भएको नयाँ मूल्यअनुसार ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी ठूलो ३ हजार ७५० देखि ३ हजार ७८० रुपैयाँसम्म, मझौलाको ३ हजार ६५० देखि ३ हजार ६८० सम्म प्रतिपेटी दर कायम गरेका छन् ।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुराको उत्पादन कम भएका कारण मूल्य बढेको बताउँछन् ।

अण्डाको मूल्य बढेपछि किसानले लागत मूल्य पाउने छन् । उनका अनुसार दाउन्ने एग्रो फार्म, हिमचुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो) सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्मलगायतले काठमाडौंको होलसेल बजारमा नयाँ दर कायम गरेका छन् ।

नेपाल पोल्ट्री महासंघ गुणचन्द्र विष्टले कुखुरा पालन नै नभएपछि अण्डाको उत्पादन कम भएर भाउ बढेको बताए । ‘किसानले कुखुरा पालन व्यवसाय छाड्दैन । व्यवसायी यस क्षेत्रबाट पलायन भइरहेका छन् । कुखुराको पर्याप्त उत्पादन नहुँदा अण्डाको मूल्य बढेको हो’, अध्यक्ष विष्टले भने ।

तर, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धरको भनाइ फरक छ । उनका अनुसार जाडो र उत्पादनमा कमी आएका कारण अण्डाको भाउ बढेको हो । ‘उत्पादन गर्ने कुखुरामा गिरावट, किसानको फार्ममा बुढो कुखुरा विक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसक्दा पनि मूल्य बढेको हुनुपर्छ’, मानन्धरले भने ।

उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ । अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन् ।’ 

नोक्सान थपिँदै गएपछि धेरै किसान पोल्ट्री व्यवसायबाट विस्थापित भएको ह्याचरी उद्योग संघका अध्यक्ष मानन्धर बताउँछन् ।

दक्षिण एसियामै महँगो

नेपाल अण्डा उत्पादक संघका अनुसार अहिले अण्डाको लागत मूल्य प्रतिगोटा १६ दशमलव ५६ रुपैयाँ पर्न आउँछ । 

विक्रेताले १७ रुपैयाँ प्रतिगोटामा फार्मबाट खरिद गरी ढुवानी र अन्य लागत जोड्दा प्रतिगोटा १९ देखि २० रुपैयाँमा पर्ने खुद्रा विक्री गर्दा २२ रुपैयाँ ५० पैसासम्ममा विक्री हुँदै आएको छ ।

दक्षिण एसियामा अण्डाको मूल्य नेपालमा सबैभन्दा धेरै छ । नेपालमा अण्डा प्रतिदर्जन २७० रुपैयाँ, भारतमा २११, बंगलादेशमा १६०, पाकिस्तानमा १५९ र श्रीलंकामा १४६ विक्री भइरहेको छ । विगतमा दैनिक ४४ लाख गोटाभन्दा बढी अण्डा उत्पादन हुँदै आएकामा अहिले घटेर २३ लाख गोटा उत्पादन हुँदै आएको छ ।

अण्डा व्यवसायीहरूका अनुसार गत वर्ष पनि पुस महिनामा ४ पटक अण्डाको मूल्य वृद्धि भएको थियो । 

अण्डा व्यवसायीहरू माग बढ्दै जाने तर उत्पादन घट्दै जानु, कुखुरा रोग लागेर मर्ने, दानाको भाउ बढ्दै जानुलगायतका कारणले अण्डाको भाउ बढेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम के. सी.को भनाइ छ ।

कुखुरापालक तथा अण्डा उत्पादकहरू भाउ बढेको नभई कृषकले लागत मूल्य पाउन थालेको र ५ महिनाअघिको अवस्थामा मूल्य पुगेको दाबी गर्छन् ।

लेयर्स कुखुरापालक संघका अध्यक्ष पोखरेलले भने, ‘कृषकहरूले लागत मूल्य पाऊन् भनेर आफूहरूले समर्थन मूल्य तोकेको बताए ।’

कुखुराको अण्डाको भाउ हालसम्मकै उच्च भएको गुनासो आइरहेका बेला पोखरेलले भने त्यो सत्य नभएको दाबी गर्छन् ।

कृषक तथा उत्पादकहरूले भाउ बढ्नुको मुख्य कारण नै जाडो महिनामा अण्डाको खपत बढ्नु र उत्पादन घट्नु भएको बताएका छन् ।

‘पहिले दैनिक ४४ लाख गोटाभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो । त्यो घटेर अहिले २२ देखि २३ लाख गोटामा सीमित भएको छ’, अण्डा उत्पादक संघका अध्यक्ष के. सी.ले भने । उनले यसै बेला माग बढ्दा मूल्य वृद्धि भएको बताए । उनले जाडो मौसममा अण्डा पार्ने कुखुराले दानाको खपत पनि बढी गर्ने भएकाले लागत पनि बढेको बताए ।

ह्याचरी संघका अध्यक्ष मानन्धरका अनुसार नेपालमा पर्यटकको संख्या बढ्नु, विद्यालय तथा कलेजहरूमा नियमित अण्डाको खपत हुनु, मानिसहरूले जाडोमा अण्डा धेरै खानु जस्ता विविध कारणले माग बढेको छ ।

‘उत्पादन घट्नुको एउटा कारण धेरै कृषकहरू यो क्षेत्रबाट पलायन हुनु पनि हो’, उनले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise