–भीम उपाध्याय
नेपालमा उच्च शिक्षा हासिल गर्नु भनेको ४–५ वर्ष समय कटाउनु मात्र भएको छ । कलेज जानु भनेको बेरोजगारी हटाउन केही वर्ष अलमल्याउने मेसो मात्र बनेको छ । कलेज जानेका ९५ प्रतिशत शिक्षा ‘आउट डेटेड’, गुणस्तरहीन, अवैज्ञानिक र निरस, देश, काल, परिस्थिति र विश्व परिवेश तथा मागअनुकूल पनि छैनन् । यसमा लाग्दा ऊर्जाशील ५–६ वर्ष अवधिको जीवन बर्बाद हुँदै आएको छ ।
यहाँका अधिकांश विद्यार्थीहरू दलका आगो फुक्न काम लाग्ने ढुंग्रा मात्र बनेका छन् । अहिले यस्तो शिक्षा पढेर ठूलो मान्छे बनिन्छ भन्ने पनि छैन । ८ वा १० कक्षा पास भए पनि ठूलै पद र पावरमा पुगिन्छ । नेताको पछि लागे बिनायोग्यता वा नक्कली प्रमाण मात्र छ भने पनि जस्तोसुकै नियुक्ति पनि हात लाग्छ ।
बढी पढेकाहरूको यहाँ काम छैन भनेर त्यस्ता गँवार नेताहरूलाई जिताएर जनताले सत्ता सुम्पिँदै रमेकै छन् । नेताका पढाइको स्तर र सीपले यो देश ‘बनेकै’ छ । विद्यार्थीका पढाइले तिनलाई रोजगारी पाइन्छ भन्ने पनि कुनै ग्यारेन्टी लिने कोही छैन । पाए विदेश हुइँकिने भन्ने हो र यस्तो नेपाली शिक्षा विदेशमा बाहिर आची पुछ्ने कागजजति पनि मान्यता छैन ।
कठै ! न चरित्र, न ज्ञान, न सीप, न कला, न साहित्य, न भाषा, न इतिहास, न भूगोल, न अध्यात्म, न संस्कार, न संस्कृति, न विज्ञान प्रविधि, न खगोल, न मानवताको ज्ञानमा कुनै दख्खल छ । अनि, यस्तो शिक्षा दिन मैले पढाउँछु भन्ने शिक्षकहरूको फुइँ त बकवास र बकबक मात्र हो, तिनका भट्याइँ र फट्याइँ पेट पाल्ने खेती मात्र हुन् ।
यस्तो यहाँको शिक्षाले देशलाई के नै गर्न सक्छ ? अनि, मुलुक कसरी अगाडि बढ्छ ? ८ पास वा १० कक्षा पास गरे मनग्यै पुग्छ । त्यति पढे २१औं शताब्दीको २१औं सालमा पुगेर पनि राष्ट्रपति, प्रम, अर्थमन्त्री, परराष्ट्रमन्त्री भइहालिन्छ ।
८ पासेले नै धेरै पढेको प्रमाणपत्र जागिरमा मात्र काम लाग्छ, अन्यत्र कुनै काम छैन भनेर दिव्य सन्देश दिएका दियै छन् । अनि, बेकारमा यहाँका २ दर्जन विश्वविद्यालयहरू मातहतका कलेजहरूमा वर्षौं पढेर नेपालीले किन जीवन बर्बाद गरेका होलान् ?
नेपाल विश्वकै शिक्षामा पछाडि परेको देश भनेर प्रतिवेदन आएको देखिएको छ । यसरी बाहिरियाले भन्दा मन त दुख्छ तर हामीले नमाने पनि यहाँको हविगत त त्यही नै हो । यो केही वर्ष युवा बेरोजगारीको समस्या समाधान गर्न अलमलिएकै होइनन् र ?
(उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन् ।)