२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

शिक्षाभित्रको बहस र शिक्षक

ADV
२०८१ पुष २२ गते ०६:१५
शिक्षाभित्रको बहस र शिक्षक

–राजन तिमिल्सिना

शिक्षक एक यस्तो व्यक्ति हो, जसले ज्ञान, सीप र विचारलाई व्यवस्थित, तार्किक र प्रभावकारी ढंगले सम्प्रेषण गरी विद्यार्थीहरूको बौद्धिक, भावनात्मक र सामाजिक विकासमा योगदान पुर्‍याउन मद्दत गर्छ । शिक्षकले शैक्षिक सिद्धान्त, मनोविज्ञान र शिक्षणका वैज्ञानिक विधिहरू प्रयोग गरी शिक्षण प्रक्रिया संचालन गर्नुपर्छ ।

शिक्षकलाई ‘ज्ञानको उत्प्रेरक’ पनि मान्न सकिन्छ, जसले विद्यार्थीहरूलाई तार्किक सोच, सिर्जनशीलता र आत्मनिर्भरता हासिल गर्न प्रेरित गर्छ । शिक्षकले शिक्षण प्रक्रियामा विद्यार्थीलाई केन्द्रमा राख्दै उनीहरूको पूर्ण व्यक्तित्व विकास गराउनेतर्फ केन्द्रित हुनपर्छ । उनीहरूले परम्परागत शिक्षण पद्धतिलाई परिमार्जन गरी आधुनिक, समावेशी, व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्न विशेष भूमिका खेल्नुपर्छ । 

शिक्षकले विद्यालयलाई ज्ञानको केन्द्र मात्र नभई जीवनको प्रयोगशाला बनाउन मद्दत गर्दै विद्यार्थीलाई भविष्यका चुनौतीहरूसँग सामना गर्न सक्षम बनाउँन प्रयासरत हुनुपर्छ ।

शिक्षकले विज्ञान, प्रविधि र अनुसन्धानलाई शिक्षाको केन्द्रमा ल्याउँदै विद्यालयहरूमा हुने रूढिवादी गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्छ । प्रयोगात्मक शिक्षाको अभावले विद्यार्थीहरूलाई नवप्रवर्तनशील र तर्कसंगत बनाउने प्रक्रियामा अवरोध खडा गरेको हुन्छ ।

शिक्षकको शिक्षण कौशल प्रभावकारी र छात्र केन्द्रित हुनुपर्छ । यसले विद्यार्थीहरूलाई जिज्ञासु, रचनात्मक र व्यावहारिक रूपमा सोच्न उत्प्रेरित गर्न सहयोग पुर्‍याउन सकोस् ।

शिक्षकहरूमा विषयको गहिरो ज्ञान, भौतिक जगत्, मानव समाज र विज्ञानका सिद्धान्त, अवधारणा र तथ्यहरूबारे यथेष्ट जानकारी हुनुपर्छ । विभिन्न विषयहरू, जस्तै : विज्ञान, इतिहास, समाजशास्त्र, गणित, अर्थशास्त्र, भाषा र सम्बन्धित विषयका बारेमा अतिरिक्त ज्ञान भएन भने शिक्षकले आफ्नो दायित्व निर्वाह गर्न सक्दैन ।

विज्ञान शिक्षकमा विज्ञान विभिन्न शाखाहरू, जस्तै : भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, इलेक्ट्रोनिक विज्ञान, खगोल विज्ञान, कम्प्युटर विज्ञान, परमाणु विज्ञान, यन्त्र विज्ञान आदिको आधारभूत ज्ञान हुनु आवश्यक हुन्छ । विज्ञानका जटिल विषयहरूलाई प्रयोगात्मक तथा सरल तरिकामा प्रस्तुत गर्न सक्ने क्षमतासमेत हुनुपर्छ ।

शिक्षकसँग नयाँनयाँ जानकारी, प्रविधि र पद्धतिहरूका बारेमा अनुसन्धान गर्न र नवीन ज्ञान प्राप्त गर्न सधैं उत्सुकता र इच्छाशक्ति हुनुपर्छ । विद्यार्थीहरूलाई तथ्यका आधारमा अनुसन्धान पद्धतिद्वारा अध्यापन गराई सोही पद्धतिअनुसार सिक्न प्रेरित गर्नुपर्छ । शिक्षकले सम्बन्धित विषयका अवधारणाहरूलाई रोचक रचनात्मक र कलात्मक ढंगले प्रस्तुत गर्न सक्नुपर्छ । 

शिक्षकले पठनपाठन प्रक्रियामा प्रयोगशालाको प्रयोग, शारीरिक व्यायामहरू, विभिन्न वैज्ञानिक, समाजशास्त्री, अन्वेषक, अध्येता, खोजकर्ताहरूका नयाँनयाँ तथ्यहरूलाई उदाहरण दिएर प्रस्ट्याउन सक्नुपर्छ ।

शिक्षकको संवाद कौशल उच्चस्तरीय हुनुपर्छ । आफ्नो पाठ्यक्रमका जटिल विषयहरूलाई सरल, स्पष्ट, तथ्यपरक र रोचक तरिकाले बुझाउन सक्षम हुनुपर्छ ।

शिक्षकले विद्यार्थीहरूका प्रश्नहरूको धैर्यपूर्वक सही उत्तर दिनु, उनीहरूको विचार र दृष्टिकोणलाई सम्मान गर्नु र उनीहरूको कमजोरीलाई सुधार्ने अवसरका रूपमा लिन सक्ने हुनु आवश्यक छ । शिक्षकले कम्प्युटर, इन्टरनेट र अन्य डिजिटल स्रोतहरूको ज्ञान र प्रभावकारी प्रयोग गर्न जान्नुपर्छ ।

इ–लर्निङ, अनलाइन स्रोत र डिजिटल उपकरणहरूको उपयोग गरेर शिक्षण विधिलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सक्नुपर्छ । शिक्षकले विद्यार्थीहरूलाई विज्ञानप्रति रुचि बढाउने, खोज, अनुसन्धान गर्ने, प्रयोगात्मक विधि अपनाउन र उनीहरूको जिज्ञासालाई बढावा दिने वातावरण सिर्जना गर्न सक्षम हुनुपर्छ ।

विज्ञानका नयाँ अनुसन्धान र खोजहरू निरन्तर परिवर्तनशील हुन्छन् । शिक्षकले यस किसिमको परिवर्तनलाई सहजै स्वीकार गर्न सक्ने र शिक्षण विधिमा समायोजन गर्न सक्नुपर्छ । शिक्षकले इमानदारी, पारदर्शिता र नैतिक मूल्यहरूको पालना गर्नुपर्छ । विद्यार्थीहरूले शिक्षकबाट नै यस्ता कुरा अनुसरण गर्ने भएकाले शिक्षकले हमेसा यी गुणहरू विकसित गर्ने र व्यवहारमा प्रदर्शन गर्ने प्रयास गर्नुपर्छ ।

शिक्षकले सम्बन्धित विषयवस्तु स्पष्ट रूपमा व्याख्या गर्न सक्ने तथा जटिल विषयलाई सरल र सहज ढंगमा बुझाउन सक्ने हुनुपर्छ । विद्यार्थीलाई प्रयोगशालामा सक्रिय सहभागिता गराउने र प्रयोगात्मक गतिविधिहरूमार्फत पाठलाई जीवन्त बनाउन सक्नुपर्छ । विद्यार्थीलाई विज्ञानमा रुचि उत्पन्न गराउने र नवीनतम् प्रविधि र सामग्री प्रयोग गरी वैज्ञानिक सोच र अनुसन्धानको महत्त्वलाई जोड दिनुपर्छ ।

विद्यार्थीहरूको क्षमता र आवश्यकताअनुसार शिक्षण शैली परिवर्तन गरी विविध गतिविधिहरू (डिबेट, प्रोजेक्ट, ग्रुप डिस्कसन)मा सहभागी गराउनुपर्छ । विद्यार्थीहरूको जिज्ञासा र जटिलतालाई समाधान गर्न तथ्य र प्रमाणको आधारमा समाधान प्रस्तुत गर्न सक्नुपर्छ ।

नेपालका शिक्षालयहरूमा अझैसम्म सरस्वतीको फोटो र मूर्ति पूजेर विद्या आर्जन गर्न सकिन्छ भन्ने अन्धविश्वासले दह्रो ढंगले जरा गाढेकै छ । साथसाथै, शिक्षकहरूको अज्ञानता, रूढिवादी सोच र प्रविधि सम्बन्धि अनभिज्ञताले गुणस्तरीय शिक्षामा बाधा पुर्‍याउनुका साथै गुणस्तरीय जनशक्ति उत्पादनमा ह्रास आइरहेको छ ।

शिक्षा व्यक्ति र समाजको समग्र विकासका लागि आधारभूत माध्यम हो । जीवन उपयोगी  शिक्षाले मानिसमा तर्क, अनुसन्धान र नवप्रवर्तनको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । तर, हाम्रो समाजमा यस्तो शिक्षाको ठाउँमा धार्मिक अन्धविश्वास र परम्परागत सोच हावी हुँदै आएको छ । 

शिक्षा समाजको विकासको मेरुदण्ड हो । आधुनिक समाजमा विज्ञान र प्रविधिले सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । तर, नेपालमा शिक्षाको गुणस्तरमा अझै धेरै सुधार आवश्यक छ । हाम्रा विद्यालयहरूमा विज्ञान शिक्षाको अभाव र अन्धविश्वासको बर्चस्वले विद्यार्थीको भविष्यमा प्रतिकूल प्रभाव पारेको छ ।

विज्ञान शिक्षालाई प्राथमिकता दिएर नेपालले भविष्यमा नवप्रवर्तनशील जनशक्ति उत्पादन गर्न सक्छ । शिक्षकहरूमा तार्किकता, नवीनता र आधुनिक प्रविधिको उपयोग गर्ने क्षमताको विकास गर्दा मात्र समाजको वास्तविक परिवर्तन सम्भव हुने छ । यसरी विज्ञान शिक्षकको शिक्षण कौशलले विद्यार्थीलाई विज्ञानप्रतिको रुचि बढाउन र उनीहरूको भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

नेपालले आफ्नो शैक्षिक प्रणालीलाई पुनः परिभाषित गर्न जरुरी छ । जीवन उपयोगी शिक्षाको अभावले देशको आर्थिक र सामाजिक विकासमा अवरोध खडा गरेको छ । शिक्षकहरूलाई तार्किक, प्रविधिमैत्री र नवप्रवर्तनशील बनाउँदै विद्यालयहरूमा विज्ञान प्रयोगशालाको स्थापना अनिवार्य गर्नु आवश्यक छ । यसले मात्र नेपालको उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्न सक्छ ।

धेरै विद्यालयहरूमा अझै पनि धार्मिक परम्परा र अन्धविश्वास शिक्षाको प्राथमिकतामा छ । शिक्षण प्रक्रियामा कम्प्युटर, इन्टरनेट र डिजिटल उपकरणहरूको प्रयोग न्यून छ । इ–लर्निङ र अनलाइन शिक्षाको सम्भावना भए पनि ग्रामीण क्षेत्रमा यसको पहुँच छैन । प्रविधि–मूलक शिक्षाको कमीले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न असमर्थ बनाएको छ ।

वैज्ञानिक शिक्षा समाजको रूपान्तरण, देशको विकास र विश्व प्रतिस्पर्धामा अग्रणी बन्ने आधार हो । यसको प्रभावकारी कार्यान्वयनले मात्र आधुनिक, प्रगतिशील र आत्मनिर्भर समाज निर्माण गर्न सकिन्छ । चीन, जापानलगायत विश्वका विकसित देशहरूमा सुरुदेखि नै विज्ञान शिक्षामा जोड दिएको हुन्छ । 

विद्यार्थीलाई ४–५ कक्षादेखि नै प्रयोगात्मक शिक्षण विधिबाट प्रशिक्षित गरिन्छ । फलस्वरूप ती देशहरूले अन्तरिक्ष यात्राका लागि अत्याधुनिक प्रविधि निर्माण गरिरहेका छन् । नेपालमा भने विद्यालयहरूले धर्मलाई प्राथमिकता दिँदा विज्ञान र प्रविधिमा अवसरहरू सीमित भएका छन् ।

युनेस्कोको एक अध्ययनले देखाएको छ कि विज्ञान प्रयोगशालासहितको शिक्षाले विद्यार्थीको सिर्जनात्मकता र समस्या समाधान क्षमता ७५ प्रतिशतले वृद्धि गर्न सक्छ । वैज्ञानिक शिक्षा भनेको तर्क, तथ्य र अनुसन्धानमा आधारित शिक्षण हो, जसले मानिसलाई वास्तविक संसारका समस्याहरू समाधान गर्न सक्षम बनाउँछ । यसले व्यक्ति र समाजको समग्र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्छ ।

शिक्षामा आधुनिक प्रविधिको प्रयोग वृद्धि गर्ने, शिक्षकहरूलाई तालिम, प्रेरणा र प्रविधिमा दक्ष बनाउने, विद्यालयहरूमा वैज्ञानिक प्रयोगशाला, पुस्तकालय र इ–लर्निङ प्लेटफर्म स्थापना गर्ने, ग्रामीण क्षेत्रमा शैक्षिक स्रोतहरू र पहुँच वृद्धि गर्ने, शैक्षिक नीति कार्यान्वयनलाई पारदर्शी र भ्रष्टाचारमुक्त बनाउने कार्यले मात्र शैक्षिक सुधार ल्याउन सकिन्छ ।

तर्कशीलता र आलोचनात्मक सोचको विकासले नै विद्यार्थीलाई तर्क र प्रमाणका आधारमा सोच्न र निर्णय गर्न सक्षम बनाउँछ । अनुसन्धान र प्रयोगका माध्यमबाट समस्या समाधान गर्न सिकाउँछ । वैज्ञानिक शिक्षाबिना आधुनिक प्रविधि र नवीन आविष्कार असम्भव हुन्छ । यस्तो शिक्षाले परम्परागत अन्धविश्वासलाई तोड्न र तर्कशील समाज निर्माण गर्न मद्दत गर्छ साथै विभिन्न व्यावसायिक क्षेत्रमा चाहिने सीप र ज्ञान प्रदान गर्छ । विज्ञान र प्रविधिको प्रयोगले कृषि, उद्योग, स्वास्थ्य र पूर्वाधार विकासमा टेवा पुर्‍याउँछ ।

अहिले युवाहरू जे जसरी पलायन भइरहेका छन्, यसका पछाडि गुणस्तरी शिक्षाको अभाव देखिन्छ, जसलाई सम्बोधन गर्न हामी चुकिरहेका छौं । अहिलेको सन्दर्भमा शिक्षक सही नहुँदा पनि समस्या आइरहेको प्रति कुनै दुविधा छैन । एकातिर अधिकांश शिक्षक योग्य छैनन् भने अर्कातिर उनले पढाउने पाठ्यक्रम पनि गुणस्तरहीन छ, जुन व्यावहारिक छैन । यसले शिक्षा आज बेरोजगार उत्पादन गर्ने माध्यम बनिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise