–रोशन पन्त
म जन्मन लागेको तर जन्मी नसकेको
कालिदासको अवतार हुँ
एक बाल विधवाको सिन्दूर हुँ
आकाशले थुकेको बादल हुँ
हरेक प्रेमकथाहरूको रोमियो–जुलियट हुँ ।
म चाहन्छु, मेरो मृत्यु शैयामा
कात्रो होइन,
प्रेमिकासँग पुनर्मिलनको
शुभसाइत निकालेको
पात्रो राखियोस्
मेरा लेख्न छुटेका
सेता कोरा कागजहरू राखियोस्
मेरा लागि प्रेमिकाले लेखेको
पहिलो चिट्ठी राखियोस् ।
कल्पवृक्षको शीतल छहारीमुनि बसी
म अन्तरिक्षको
अनन्त ऋषि मुनि हुन चाहन्छु
म आफ्नो आयसँग
आफ्नो आयु साट्न चाहन्छु
म प्रकृतिको वायुसँग
आफ्नो दीर्घायु साट्न चाहन्छु
म हरेक निर्दोष व्यक्तिलाई
वैतर्णी तार्न चाहन्छु
तर, मलाई माफ गर
अहिलेलाई विश्राम लिन चाहन्छु ।
म हरेक पुरुषहरूका लागि
स्त्रीको मुलायम छाती हुन चाहन्छु
म हरेक बलात्कृत बालिकाको
प्रमाण हुन चाहन्छु
म हरेक पिंगलाहरूको
एकान्त हुन चाहन्छु
जुन धुनसँग
म धुन बनी गुन लगाउन सकूँ
म ती हरेक खुनीको खुन बनी
पेस हुन चाहन्छु ।
म होसमा मृत्युसँग हुन्छु
म बेहोसमा जीवनसँग हुन्छु
म एकान्तमा सबैसँग हुन्छु
म सबैसँग हुँदा म सधैं एक्लै हुन्छु
तर, मलाई माफ गर
अहिलेलाई म विश्राम लिन चाहन्छु ।
मैले कविताका छन्दसँगै
मैथुनको गन्ध भुलें
मैले परागको बास्नासँगै
सराबको बास्ना भुलें
मैले आदिको अन्त्यसँगै
अनादिको अनन्त भुलें
मैले स्त्रीको कोखसँगै
मिस्त्रीको सोख भुलें ।
वैमनस्यको जात्रामा पनि
मै मनुष्यको यात्रा
तीर्थ धाम गएझैं लाग्छ
श्रद्धालुहरूको श्रद्धा देख्ने भगवान्ले पनि
अर्धविकसित मुस्कानसँगै
खुट्टा छाडेझैं लाग्छ ।
म सोच्छु,
किन एक जीवन
निर्जीवन ठडिइरहेको मूर्तिलाई पुजिरहेछ ?
किन एक जीवन मन्दिरमा राम खोजिरहेछ ?
किन एक जीवन मदिरामा आराम खोजिरहेछ ?
किन एक जीवन आजीवन
वासनामा विश्राम खोजिरहेछ ?
ऊ निर्जीवन खोज्न चाहन्छ
म जीवन खोज्न चाहन्छु
यी सबै खोज्नु्पूर्व
म मेरा रहरका कान्लाहरूमा
दुई हल गोरु जोत्न चाहन्छु
तर, मलाई माफ गर
अहिलेलाई म विश्राम लिन चाहन्छु ।
म प्रेमको तीर्थ धाम जान चाहन्छु
तर, मैले प्रेम जन्माउनुपूर्व नै
घृणाले जन्मधारण गर्छ
म शान्त बुद्ध हुन चाहन्छु
दृष्टान्त जुद्ध हुन चाहन्छु
तर, मैले नास्तिकता जन्माउनुपूर्व नै
आस्तिकताले गर्भधारण गर्छ
ब्याज चपाएर रुनुभन्दा बरु
प्याज चपाएर रुनु उचित छ
बातहरूको न्वारन गर्नुभन्दा बरु
यादहरूको सती जान उचित छ ।
प्रेमिकाका खुल्न लागेका
तर, खुली नसकेका
रसाइला मुस्कानहरूभन्दा
मैले आफैंमा आफूलाई
आफ्नो देख्नु उचित छ
मैले मरुभूमिमा बसेर
कमलको फूल खोजिरहेछु
जुन सार्वजनिक ट्वाइलेटझैं दूषित छ
त्यसैले मलगायत मेरो अन्तरआत्मालाई
दश औंलाबाटै कोटीकोटी धिक्कार छ ।
मैले यो शहरमा
बैंसको रहरमा
मेरा यादहरूको संग्रहालय
राख्नेसम्म ठाउँ पाइनँ
मैले यो अँध्यारो शहरमा
लालटिनसम्म बेच्न पाइनँ
तेरो भरमा मेरो
भविष्य सुरक्षित छैन सरकार !
यो शहरमा पार्टीको झण्डा र पार्टीका
किम्बदन्तीबाहेक मैले अरू केही भेटिनँ ।
तेरो शहरमा मेरो रहरको घर
चल्न सकेन सरकार !
यो शहरमा रहर होइन, कहर मात्र भेटियो
यो शहरमा विदेशिने युवाहरूको
लहर मात्र भेटियो
त्यसैले म यो शहरको
जहर खाएर विदेशिन चाहन्छु
तर, मलाई माफ गर
अहिलेलाई म विश्राम लिन चाहन्छु ।
कन्चनपुर, महेन्द्रनगर