–राजेश भट्टराई
उसको परिवार निकै विपन्न थियो । विपन्नमाथि अर्को सकस, बाउ रक्स्याहा ! कलेजोको बिरामी, डाक्टरले रक्सी छाड्न भन्दा पनि मानेनन् र अन्तिममा रक्सी खाईखाई बिते । बाउ बितेपछि अब आमा–छोरा मात्र रहे । आमाले कहिले ज्यामी काम गरेर त कहिले फुटपाथमा सेल रोटी बनाई बेचेर छोरालाई हुर्काउन, पढाउन थालिन् ।
छोरो गतिलो निस्कियो । ज्ञानी थियो, मिहिनेत गरेर पढ्थ्यो । राम्रो नम्बर ल्याएर पास हुन्थ्यो । एसईई पनि राम्रो नम्बर ल्याएर पास भएर कलेज भर्ना भयो । नाम थियो– अर्जुन ।
कलेजमा ऊसँगै पढ्ने एउटी केटी थिई– आकांक्षा । एकदम चलाख थिई । राम्ररी पढ्ने मान्छे ठानेर अर्जुनसँग नजिकिएकी थिई । ऊसँग पढ्ने आइडिया र सूत्र प्राप्त गर्थी । तर, मध्यम वर्गीय परिवारकी थिई ।
भलै, पहिला विपन्न परिवारकै किन नहोस् । उसका बाउले इमान्दारीपूर्वक कठोर मिहिनेत गरेर विपन्नतालाई मध्यम वर्गसम्म पु¥याएका थिए । पहिला विपन्नतामा हुँदा धेरै दुःख पाएको हुनाले अब दुःख नपरोस् भन्ने चाहन्थी ।
पढाइमा धेरै सहयोग पाउने स्वार्थले नजिकिएको भए पनि नजिकिँदा नजिकिँदा उसले अर्जुनलाई मनपराउन थाली । अर्जुनको शील स्वभाव, आनीबानी र मिहिनेतबाट धेरै प्रभावित भई र एक दिन भनी, ‘अर्जुन म तिमीलाई एकदमै मनपराउँछु, हाम्रो यो साथीको सम्बन्ध यतिकै नरहोस् । जीवनसाथीको रूपमा परिणत होस् ।’ अर्जुनले आफ्नो पारिवारिक अवस्था बताउँदै ‘अहिले यसरी नसोची ठन्डा दिमागले राम्ररी विचार गर अनि पछि कुरा गरौंला’ भन्यो ।
उसले भनेझैं केही दिन लगाएर सोच्दै मनमनै भनी, ‘गरिब भएर के भो र ? ट्यालेन्ट छ, मिहिनेती छ, पछि कमाइहाल्छ नि ! हामी पनि पहिला गरिब थियौं ।’ केही दिनपछि भनी, ‘मलाई धन होइन, मन चाहिएको हो ।’ अर्जुनले ‘पछि धोका नदिनू’ भन्दै स्वीकार्यो ।
समय बितिरहेको थियो । यहीबीचमा उसलाई माग्न एउटा धनी परिवारको केटा आयो । बा–आमाले दिने विचार गरे । आकांक्षाले आफू एक जनासँग प्रेममा रहेको र धोका दिन नसक्ने बताई । को केटा ? कस्तो केटा ? भनेर सोध्दा सबै यथार्थ बताई । बा–आमाले पहिलाको आफूहरूको गरिबीको इतिहास बताउँदै सम्झाए । उसलाई पनि हो जस्तो लाग्यो ।
उसले धोका दिएपछि अर्जुनलाई गहिरो चोट पर्यो । पीडा भुल्न रक्सी खान थाल्यो । आमाले छोराको यस्तो अवस्थाले आफूमाथि ठूलो बज्रपात परेको ठानिन् ।
‘बूढेसकालको सहारा छोरो, यस्तो भयो । बाउ जस्तै बन्ने भो । मेरो फुटेको भाग्य’ भन्दै आफैंलाई धिक्कार्दै धेरै रुन थालिन् । छिमेकीले उसलाई सम्झाउँदै ‘केटी भनेको अरू पनि पाइन्छ तर आमा पाइँदैन । आमालाई नरुवाउनू, पाप लाग्छ’ भन्दै सम्झाए । त्यसपछि ऊ बिस्तारै बिस्तारै सम्हालियो र पछि ठीक भयो ।
यता आकांक्षालाई बिहेपछि अरू सुख त सबै भयो तर ३ वर्षसम्म पनि बच्चा भएन । जाँच गर्दा श्रीमान्को वीर्यमा शुक्रकीट नै नभएको पत्ता लाग्यो । डाक्टरले उसको श्रीमान्लाई भने, ‘तपाईंबाट बच्चा हुँदैन अरू नै दाता खोजेर उसको वीर्य तपाईंको श्रीमतीको पाठेघरमा हालेर बच्चा बसाल्न सक्छौं ।’
‘कसको वीर्य ?’, श्रीमान्ले सोधे ।
‘कसको हो, यसै भन्न सकिँदैन । दातालाई पनि कसलाई दिने हो भन्दैनौं’, डाक्टरले उत्तर दिए । अरू केही उपाय नभएपछि त्यही गर्ने निर्णय भयो ।
अस्पतालले दाताको वीर्य उसको पाठेघरमा हालिदिए । सफल भयो । आकांक्षा गर्भवती भई । ९ महिनापछि अस्पतालमा बच्चा जन्मियो । बच्चा देखेर ऊ झसंग भई– अनुहार काटीकुटी अर्जुनसँग मिल्थ्यो ।