२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

पृथ्वीनारायण : सम्झिनुपर्ने पाटाहरू

ADV
२०८१ पुष २८ गते ०६:१५
पृथ्वीनारायण : सम्झिनुपर्ने पाटाहरू

–उत्तम कार्की

आजभन्दा ३०३ वर्षअघि अर्थात् २७ पुस १७७९ मा तत्कालीन गोर्खा राज्यमा जन्मिएका हुन् पृथ्वीनारायण शाह । ७ महिनामै जन्मिएका उनी हालको नेपाली भूभाग एकीकरणका एक प्रमुख कर्ता हुन् ।

बाइसी र चौबीसी राज्यका नाममा विभक्त भूगोललाई एकीकरण गरेर सिंगो नेपाल बनाउने अभियानमा सफल पृथ्वीनारायण शाहबारे अनेक कोणबाट अनेक टिप्पणी र विश्लेषण भइरहेका छन्, जुन स्वाभाविक हो ।

झण्डै ३०० वर्षअघिका शासक । स्वाभाविक रूपमै त्यसबेलाको नेपाली समाजको सामाजिक, राजनीतिक व्यवस्थाअनुसार शासक भगवान्को अवतार मानिन्थ्यो र सोहीअनुसार शासक निरंकुश हुन सक्थ्यो ।

त्यस्तो समाजमा शासकको भूमिका र तामझाम अनि व्यवहारबारे बोलिरहनु पनि पर्दैन किनकि केही वर्षअघिसम्म मात्र पनि हामीले हाम्रा निरंकुश शासकका गतिविधि, सोच र व्यवहार भोगिसकेका, देखिसकेका छौं ।

यसो भन्दैमा के निरंकुश वा तानाशाही शासक सधैं नकारात्मक, निर्दयी वा शोषक मात्र हुन्छ ? भन्ने प्रश्नको उत्तर खोजिनु वा यसबारे चर्चा गर्नु मनासिब होला ।

अहिले पृथ्वीनारायण शाहबारे बनिरहेको भाष्यले शासक सधैं र सबै अवस्थामा निर्दयी र निंकुश हुन्छ भन्ने देखाउँछ । के पृथ्वीनारायणले आफ्नो शासनकालमा सबै नकारात्मक कार्य मात्र गरे ? के उनी नेपाली समाज वा जनताका लागि शोषक, सामन्त र निरंकुश शासक मात्र रहे ?

यहाँ उनका केही तथ्यहरूबारे चर्चा गरौं ।

पृथ्वीनारायण शाहको समग्र इतिहास कोट्याउँदा उनी नेपाल र नेपालीका लागि अविष्मरणीय शासक हुन् । उनले अनेक टुक्रामा विभाजित भूगोललाई एकीकृत गरेका हुन् । किन जरुरी थितयो एकीकरण ? सबै आ–आफ्नै ढंगले चलेकै थिए त भन्ने सवाल हुन सक्ला ।

तर, त्यस समयमा दक्षिणतिरबाट सलबलाइरहेको अंग्रेजले देशलाई क्वाप्प खान सक्थ्यो यदि बाइसी र चौबीसी राज्य एकीकृत नभएका भए । उनले भौतिक (जमिन) मात्र एकीकरण गरेनन्, सामाजिक न्याय र सुव्यवस्थाका लागि नेपाललाई ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’ भनेर जातीय, साम्प्रदायिक र सामाजिक–सांस्कृतिक एकीकरणको प्रयास पनि गरे ।

पृथ्वीनारायणले आफ्ना दिव्य उपदेशमार्फत राज्य, शासक, नागरिकलगायका भूमिका र दायित्वका विषय पनि उठाए । उनले राष्ट्रसेवक कर्मचारीका जिम्मेवारी र आचरणका कुरा पनि उपदेशमा उठाए । घुस लिने र दिने दुवैलाई देशका शत्रु भने ।

उनले दिव्योपदेशमै भनेका छन्, ‘खानी भएको ठाउँमा भएको गाउँलाई अन्य स्थानमा सारेर त्यहाँ खानी चलाउनू र उब्जनीयोग्य जमिनमा घर बनेको भए उक्त घर भत्काएर त्यहाँ खेतीपाती गर्नू ।’

यो उपदेशले मुलुकको आर्थिक समृद्धि र अनिकालबाट जनतालाई बचाउने उनको ध्येय देखिन्छ ।

यसरी नै उनले ‘अदालतको पैसा दरबारमा नलैजानू, त्यसको सदुपयोग जोगी, संन्यासी र ब्राह्मणलाई भोजन गर्नमा खर्च गर्नू ।’ यसको आसय उनी धर्मकर्ममा निकै सचेत थिए भन्ने हो । अध्यात्मचेत उनमा कति रहेछ भन्ने यस दिव्योपदेशबाट बुझ्न सकिन्छ ।

‘भ्रष्टहरूले न्याय निसाफ परम्परालाई बिगार्छन् यसर्थ भ्रष्टहरूलाई जति र जस्तोसुकै कारबाही गरे पनि पाप लाग्दैन’ भन्ने उनको सुशासनप्रतिको प्रतिबद्धता र भ्राष्टाचारप्रतिको असहनशीलता बुझन सकिन्छ ।

त्यसबेला राज्य विस्तारका लागि लडाइँ गर्नु नै शासकको प्रमुख ध्येय र योजना हुने गथ्र्यो । सोहीअनुसार उनले एकीकरणको अभियान चलाए र सफल भए । पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा मरेका सिपाहीका सन्तानलाई राज्यबाट प्रोत्साहनका लागि विशेष व्यवस्था गरेका थिए ।

यो उनको एउटा जिम्मेवार शासक हुनुको प्रमाण र दायित्व पनि थियो । यसका कारण उनका पक्षमा राज्यका निम्ति ज्यान दिन सिपाही तयार भए र आजको नेपाल निर्माण हुन गयो ।

उनी विदेशीका प्रभाव र हस्तक्षेपबाट मुलुकलाई जोगाउन निकै सचेत देखिन्छन् । विदेशीलाई सजिलै मुलुकमा छिर्न दिनु नहुने उनको राय छ । उनी विशेषगरी दक्षिणमा बिस्तारै आफ्नो प्रभुत्व जमाउँदै गएको अंग्रेजसँग निकै सचेत र सजग थिए ।

यसै कारण उनले देशभित्रै कपडालगायतका उद्योग, कारखाना स्थापना र विस्तारमा महत्त्व दिए । आर्थिक आत्मनिर्भरताका लागि स्वदेशको पैसा विदेश जान नदिन विभिन्न योजना अघि सारे ।

‘जनता बलिया भए दरबार मोटो (बलियो) हुने छ’ भन्ने उनको यो भनाइ तत्कालीन समयमा तथ्य कुरो पनि हो ।

२ ठूला छिमेकी मुलुक चीन र भारतसँगको समदुरी सम्बन्धप्रति उनी निकै सचेत थिए । उनले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भनेर निकै सजग र सचेत भएर नेपालले कूटनीतिक कदम चाल्नुपर्ने संकेत गरेका छन् ।

आफू कसैप्रति पहिला जाई नलाग्ने तर आफूमाथि आई लाग्नेलाई नछाड्ने उनको घोषित नीति नै रहेको पाइन्छ ।

यसका अतिरिक्त पृथ्वीनारायण शाहले मुलुक र मुलुकवासीका हितका लागि अन्य धेरै कामहरू गरेका छन् । तल्लो जातका भनिएका दलितहरूबाट उनले सम्मानपूर्वक एकीकरण अभियानमा सहयोग मात्र लिएका छैनन्, आवश्यक सुझाव र सल्लाहका लागि पनि उनीहरूसँग परामर्श गरेका छन् । यसको ज्वलन्त उदाहरण चर्चित बिसे नगर्ची हुन् ।

समय र परिस्थितिअनुसारका शासन व्यवस्था हरेक मुलुकमा रहँदै आएका छन् । राजनीतिक परिवर्तन स्वाभाविक प्रक्रिया हो । तर, यसका आधारमा इतिहास गलत कोर्नु र सही काम गरेका व्यक्ति वा शासकका सही कर्मको इतिहास नामेट पार्नु, पार्न खोज्नु बहादुरी होइन, असभ्यता र संकीर्णता मात्र हो । अहिलेको सन्दर्भ र परिवेश अनि चेतनाबाट ३०० वर्षअघिको समाज, सभ्यता र शासकप्रति नानाथरि टिप्पणी गरे अपमान गर्नु इतिहासप्रतिको बेइमानी हो ।

ADVADV

सम्बन्धित खबर

Advertise