–डा. युवराज संग्रौला
छिमेकी २ देश भारत र चीनसँगको सम्बन्धलाई लिएर नेपालभित्र अनेक खालका बहस सार्वजनिक संचार माध्यममार्फत हुने गरेका छन् । विशेषगरी नेपालको राजनीतिमा कुनको भूमिका के भन्ने कोणबाट विश्लेषणहरू भइरहेका पाइन्छ । कहिलेकाहीँ सुनिने विश्लेषण यतिसम्मका हुन्छन् कि कुनै दलभित्रको नेता बनाउन वा सरकारकै नेतृत्व दिन बाह्य शक्तिले खेलेका कुरा पनि आउँछन् ।
तर, सोचनीय विषय, हामी किन सधैं भारत र चीनलाई यसरी हेर्छौं ? हामीले हेर्ने त नेपालभित्र हो नि ! किन हामीले नेपालमा उभिएर विश्वलाई हेर्न चाहेनौं ? किन हामी अरूलाई हेरेर आफ्नो अस्तित्व बिर्सन्छौं ? शासकले मात्र होइन, नागरिकले पनि देशप्रतिको कर्तव्य छाडेको किन देख्दैनौं ? किन हामी सधैं नेपाल स्वतन्त्र होइन कि भन्ने मनोविज्ञानबाट ग्रस्त छौं ?
हाम्रो इतिहास लामो छ । यलम्बरले नेपाल राज्यलाई संगठित गरे । न्याय प्रणाली, कर प्रणाली र कृषिको शुभारम्भ गरे । मानदेवले टुक्रिन लागेको नेपाल एकीकरण गरे र शक्तिशाली बनाए । अंशुवर्माले नेपालको शासनमा दखल गर्न पुगेका मगधबाट आएका गुप्तहरूको दखल समाप्त गरी दक्षिणको प्रभावबाट मुक्त गरे, नयाँ संवत् पनि चलाए । उनले नेपालको राष्ट्रवादलाई प्रवर्द्धन गरे ।
नरेन्द्रदेवले चीनसँग व्यापार सुरु गरे र उत्तर र दक्षिणसँग व्यापारमा प्रतिस्पर्धा गरेर धनी हुन सकिने देखाए । सिञ्जाका राजाले कैलाशसम्म नेपालको सभ्यता पुर्याए । सिम्रौनगढका राजा शिवदेवले गया सुद्धिनसँग लडेर काठमाडौं जोगाए । प्रताप मल्लले काठमाडौंलाई उन्नत बनाए । भूपतेन्द्र मल्लले वास्तुकलाको अनुपम वैभव निर्माण गरे ।
पृथ्वीनारायणले आधुनिक नेपालको जग हाले । भीमसेन, अमरसिंह, भक्ति थापाले नेपालको स्वतन्त्रता कायम राख्न अनुपम योगदान गरे । जंगबहादुरले पनि योगदान गरे । बी. पी., के. आई. सिंह, टंकप्रसादले, पुष्पलाल र मनमोहन अधिकारीले निरंकुश राणा शासनबाट जनतालाई मुक्त गर्न योगदान गरे । नेपालको यो लामो इतिहासमा अनेक व्यक्तिको भूमिका छ । के हाम्रो आफ्नै पहिचान छैन र ?
तर, २००७ सालमा आएको परिवर्तनले जनताको स्वतन्त्रता ल्याए पनि राष्ट्रको स्वतन्त्रतामा बादल लाग्यो, नेपालको शासनमा भारतको अधीनले । क्याबिनेटमै भारतीय सचिव अनि राजा त्रिभुवनका पी. ए. पनि भारतीय । राजा महेन्द्रले यो क्रम भंग गरे । नेपालको सम्बन्धमा अन्तर्राष्ट्रियकरण भयो । तर, उनको यो गौरव दरबारले कायम गर्न सकेन ।
२०४६ सालमा बहुदल आयो तर यसले त कुलीनतन्त्र जन्मायो । आजसम्म ७० वर्ष ज्यादा भयो तर जनताको अवस्था उस्तै छ । उद्योग छैनन् । कृषि समाप्त भयो । नागरिक श्रम निर्यात गरेर देश बाँचेको छ । आजसम्म आइपुग्दा राज्यको स्वनिर्णयको क्षमता ध्वस्त भएको छ । अर्थतन्त्र पनि ध्वस्त भएको छ ।
हामीले देशको स्वाधीनता जोगाउन कसरी सकिन्छ होला भन्ने कुरामा छलफल गर्नै चाहेनौं । देशको अर्थतन्त्र समृद्ध पार्न उत्पादनमा क्रान्ति ल्याउन कसरी सकिन्छ भन्ने कुरामा छलफल गर्नै चाहेनौं । काठमाडौंमा सीमित रहेको नेपाललाई कसरी मधेशमा, पूर्वमा पश्चिममा सुदूरपश्चिममा पुर्याउन सकिन्छ भन्ने छलफल गर्नै चाहेनौं । बस्, हाम्रो छलफल भारत र चीनका बारेमा केन्द्रित गर्यौं ।
हामी नेपालमा बस्ने मान्छे मात्र किन भयौं ? किन नागरिक हुन सकेनौं ? हामीले भूराजनीतिको चुनौतीलाई कहिल्यै महसुस गरेनौं । आज हरेक मान्छे अभियानमा छन् । उनीहरू वर्तमान शासक बदल्न चाहन्छन् । पुरानाले विचार, देशभक्ति र राजनीतिक संस्कार त्यागिदिए । तर, परिवर्तन खोज्नेलाई पनि विचारको कुनै चासो छैन । कसरी बनाउन सकिन्छ देश ? यही प्रश्नको छलफलले नेपालको भविष्य निर्माण गर्ने छ ।