काठमाडौं : मलेशियामा हुने आईसीसी यू–१९ महिला टी–२० विश्वकपको ट्रफी सार्वजनिक गरिएको छ ।
मलेशियाको राजधानी क्वालालम्पुरको सिटी सेन्टरस्थित पेट्रोनास ट्विन टावरमा मंगलवार विश्वकप खेल्ने १६ वटै देशका कप्तानले संयुक्त रूपमा विश्वकप ट्रफी सार्वजनिक गरेका हुन् ।
विश्वकपमा भाग लिन सबै टोली मलेशिया पुगिसकेका छन् । नेपालले पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप खेल्न लागेको हो ।
पूजा महतोको कप्तानीमा रहेको नेपाली महिला टोलीले विश्वकप अघि वेष्ट इण्डिजसँग सोमवार पहिलो अभ्यास खेल खेलेको थियो । खेलमा नेपाल ९ रनले पराजित भएको थियो ।
नेपालले दोस्रो अभ्यास खेल बुधवार अमेरिकासँग खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मो छ । यस समूहमा नेपालसँगै अष्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् ।
नेपालले समूह चरणको पहिलो खेल ५ माघमा बंगलादेशसँग खेल्ने छ । दोस्रो खेल ७ माघमा स्कटल्याण्डसँग खेल्नेछ भने तेस्रो खेल ९ माघमा अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेशियासहित भारत, श्रीलंका र वेष्ट इण्डिज छन् ।
समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् भने समूह ‘सी’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाइजेरिया छन् ।