२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

पर्यावरण रक्षाको सवाल

ADV
२०८१ असार १२ गते ०६:३०
पर्यावरण रक्षाको सवाल

–लोक नारायण सुवेदी

हामी यही प्रकृतिकै उपज हौं । त्यसैले पर्यावरणको रक्षा गर्नु हाम्रो परम कर्तव्य हो । सनातनिक शास्त्रहरूमा भनिएको पनि छ कि प्रकृति रक्षति रक्षितः अर्थात् प्रकृतिको रक्षा गरेमा नै प्रकृतिले हामीलाई रक्षा गर्नेछ । हुन पनि मानिस र प्रकृतिको अन्तरसम्बन्ध अत्यन्तै गहिरो र चीरकालीन रहेको छ । मानिस स्वयम् प्रकृतिको अंश भएकोले प्रष्ट छ कि जुन–जुन तत्वले प्रकृति बनेको छ, त्यसको अंश पनि स्वभावतः मानिसमा जोडिएको छ ।

हुन पनि प्रकृतिले सबै जीवका लागि स्थल, जल, बन र वायुका रूपमा एउटा व्यापक र विस्तृत आवरण निर्माण गरेको छ । त्यसैलाई हामी ‘पर्यावरण’ अर्थात् ‘इकोसिस्टम’ पनि भन्ने गर्दछौं । शब्दमै पर्यावरण ‘परि+आवरण’को संयोजनबाट बनेको हो । ‘परी’को अर्थ वरिपरि र ‘आवरण’को अर्थ परिवेश हो । अर्को शब्दमा भन्नुपर्दा, वनस्पति, जनावर र मानव जाति र तिनीहरूसँग सम्बन्धित भौतिक संयोजनलाई पर्यावरण भनिन्छ । वास्तवमा हावा, पानी, जमिन, रूख, बोटबिरुवा, जनावर, मानव र तिनीहरूको सन्तुलित अवस्था प्रकृतिले खोजेको हुन्छ । तर, आज प्रकृति प्रदत्त तत्त्वहरू मानवद्वारा नै प्रदुषित बनाएका कारण ती सबैको जीवनका घातक बन्न पुगेका छन् । 

जीवधारी कोही पनि सानो होस् या ठूलो, शान्त रहने होस् या चर्को स्वरमा कराउने सबैलाई प्रकृतिले मिलाइ मिलाइ अघि बढ्ने अवसर प्रदान गर्दछ । त्यसैले विश्व प्रसिद्ध दार्शनिक फ्रेडरिक एङ्गेल्सले भनेका छन्– प्रकृतिका अधिशासित नियमको पालना गर, यसलाई जथाभावी दोहन नगर, अन्यथा यसले बाढी पहिरो, रोगब्याथी र अनेक प्राकृतिक विपत्ति ल्याएर बदला लिन्छ । तर, यो कुरालाई सही किसिमले मनन नगर्दा नै अहिलेको अवस्था आएको पाइन्छ । अहिले विश्वभर नै भोक तथा पोषणको समस्या विकराल बनिरहेको छ । अर्कोतर्फ, हावापानीमा तिव्र असन्तुलन आउँदा र मानवीय कृयाकलाप मनलागी प्रकृतिको हुँदा मरुभूमिकरण पनि बढिरहेको छ । यसले गर्दा विश्वमा भोकमरी र कुपोषणजस्ता अनेकथरी समस्याहरू सिर्जना भइरहेको छ ।

अहिले विश्वका निम्ति जलश्रोत नदी नाला, ताल तलैयाको संरक्षण सम्वद्र्धन गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । अनि यसको लागि बन र बनस्पतिहरूको संरक्षण सम्वर्द्धन पनि आवश्यक छ । बनले नै पर्यावरणलाई सही ठाउँमा राख्दछ । अनि जमिनका लागि आवरणको पनि काम गर्दछ । भूस्खलन रोकेर भूसंरक्षण गर्दछ । यसले जलको सञ्चय गर्न पनि मद्दत गर्दछ । हरित ग्यास सोस्छ । यसका अतिरिक्त जलवायु परिवर्तनलाई न्यून गर्न मद्दत गर्नुका साथै बढ्दो तापमानमा पनि कमी ल्याउँदछ । सुखा, अकाल र बाढी पहिरोको विभीषिकाबाट पनि बचाउँदछ । यी सबै महत्वलाई बुझेर नै प्राचीन ऋषिहरूले पनि प्रकृति संरक्षणको विषयमा विभिन्न कुराहरु अगाडि सारेका थिए ।

यतिबेला संयुक्त राष्ट्र संघको प्रस्ताव २०३० को लक्ष्य १५ मा पनि टिकाउ बन व्यवस्थापनका जोड दिइएको छ । गरिबी, अनिकाल, बिमारी, बेरोजगारी, बिषमता, शोषण आदिबाट मुक्ति पाउनका लागि पनि यो धारालाई व्यवहारमा लागु गर्नु आवश्यक छ । जसको लागि प्राकृतिको संरक्षण पहिलो सर्त हो । यदि प्रकृतिलाई सन्तुलनमा राखिएन भने भनिएका सबै कुरा व्यर्थ हुनेछन् ।

‘लिभिङ्ग प्लानेट’ प्रतिवेदन २०२० का अनुसार पनि वर्ष १९७० देखि २०१६ का बीचमा लगभग ६० प्रतिशत पशुपंक्षी, जलचर तथा सर्प एवम् माछाहरूको संख्यामा ठूलो कमी आएको छ । यसको सम्वद्र्धन गरेर नै हामीले प्रकृतिको यो धरोहरलाई फेरि पनि बचाउन सक्छौ । प्रकृतिको यो सन्तुलनलाई निरन्तर कायम राख्न हामीले पर्यावरणमा जस्ता खालका समस्याहरू उत्पन्न भएका या गरिएका छन् तिनको समाधान गर्न सक्छौं ।

आज बढ्दो तापक्रमका कारणले पृथ्वीमा अनेक प्राकृतिक विपत्तीहरू आइरहेका छन् । पृथ्वीको यो बढ्दो तापक्रमलाई रोक्नका निम्ति जीवाश्म इन्धनको कमी र २०५० सम्ममा कार्बनरहित विकास लक्ष्यमा द्धढताका साथ लाग्न आवश्यक छ । जसका लागि अक्षैय ऊर्जाका स्रोतहरू जस्तै सौर्य, बायु, हाइड्रोजन आदिको उपयोग गर्ने, भएका वृक्ष र बनको संरक्षण र सदुपयोग गर्ने, आगलागी हुन नदिने उपाय अपनाउने र निरन्तर वृक्षारोपण गर्ने अनि प्लास्टिक, फोहरमैला आदिको समुचित व्यवस्थापन गरेर वातावरण स्वच्छ बनाउने जस्ता अति महत्वपूर्ण कुराहरूलाई निरन्तरता दिनु आवश्यक छ । यदि यस्ता नियमलाई पालना गर्न सकिएमा पर्यावरण सन्तुलित राख्न हामी सक्षम हुनेछौं ।

भनिन्छ चमेराका कारण कोरोना उत्पन्न थियो । सबैलाई थाहा छ, यो रोग विश्वमा कति आतंक फैलायो । अत्यन्तै विकसित मानिएका अमेरिकी र युरोपेली देशहरूलाई पनि यसले कति अप्ठ्यारो अवस्थामा पुर्‍यायो । त्यस्तो बेलामा पर्यावरण संरक्षणको लागि दृढ संकल्प, संयम र सजगताका साथ प्रस्तुत हुनु अत्यन्त जरुरी छ । अहिले कोरोना हटेर गए पनि निकट भविष्यमा यस्तै अर्को कुनै महामारीले फेरि पिरोल्ने परिस्थिति नबनोस् भन्नेतिर ध्यान केन्द्रित हुनै पर्दछ । यसका लागि यतिबेला हामीले जंगली जनावरसँगको दूरी पनि कायमै राख्नु पर्ने देखिन्छ । प्रकृतिलाई हरितमय तुल्याएर रमाउन सिक्नु पर्दछ । किनभने यो मानिसको जीवनको आधार, गुजारा र जीवनचर्यासँग अभिन्नरूपले जोडिएको कुरा छ । पर्यावरण बिग्रियो र बढ्यो भने त्यसले गरीबी, भोकमरी, असमानता, बेरोजगारीलाई नै अभूतपूर्वरूपमा मलजल पुग्दछ ।

निष्कर्षमा, प्रकृतिको सही किसिमले संरक्षण सम्वद्र्धनबाट नै हाम्रा धेरैजसो समस्याहरूको निराकरण हुन्छ । प्रकृतिलाई सन्तुलनमा राख्न सकेमा नै हाम्रो जित हुनेछ । अहिलेको आवश्यकता प्रकृतिसँग तादात्म्यता राखेर प्रकृतिससँग सुसम्बन्ध कायम गरेर अगाडि बढ्नु हो । हामीले सोंचेका सबै अपेक्षा प्रकृतिलाई सन्तुलनमा राखेर मात्रै प्राप्त हुनेछ । 

विश्वमा यतिबेला पेरिस जलवायु सम्झौताको विषयमा छलफल भइरहेको छ । यद्यपि, यसलाई लागु गर्न अझै आनाकानीको अवस्था देखिन्छ । अमेरिका, युरोप र महाशक्तिको दौडमा देखिएका अन्य राष्ट्रका बीच यसमा गम्भीर छलफल हुन आवश्यक छ । नत्र सबैका निम्ति खतराको घण्टी बज्न बेर लाग्दैन । 

ADVADV

सम्बन्धित खबर

Advertise