२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

दुर्गा मावि लाम्राका शिक्षक धितालमाथि कुटपिट

Nada
दिलमाया शाही
२०८१ असार १२ गते १२:१३
Shares
दुर्गा मावि लाम्राका शिक्षक धितालमाथि कुटपिट

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय लाम्राका एक शिक्षकमाथि कुटपिट भएको छ । विद्यालय हाताभित्र शिक्षक जयशंकर धितालमाथि कुटपिट भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदी प्रसाद न्यौपाने र शिक्षक टेक बहादुर रोकायाले विद्यालय हाताभित्र आफूमाथि कुटपिट गरेको धितालले दाबी गरेका छन् ।

ncell

शिक्षक धिताल विद्यालयमा भइरहेका गलत क्रियाकलापको विरोध गरेकाले आफूमाथि नियतबसरुपमा योजना बनाएर कुटपिट गरिएको बताउँछन् । विद्यालयको भवन निर्माणमा विद्यार्थीहरुलाई ढुंगा बोक्न लगाइएकोमा आफूले विरोध गरेको उनले बताए । त्यस्तै विद्यार्थीहरु कक्षा कोठा अभावमा  बाहिर बसेर पढ्न बाध्य हुँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदी प्रसाद न्यौपानेका लागि छुट्टै जिम गर्नका लागि कोठा  छुटाइएकोमा पनि आफूले विरोध गरेको बताउँदै उनले यसरी गलत क्रियाकलापको विरोध गर्दा आफूमाथि आक्रमण भएको बताए ।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले शिक्षकले पोसाक नलगाइ पढाउन आउने, विद्यार्थी कुट्नेलगायतका विषयमा छलफल हुँदै गर्दा शिक्षक धिताल आक्रोशमा आएर शिक्षक, विद्यालय व्यवस्थापन समित, शिक्षा शाखा, प्रधानाध्यापकलगायत सबैलाई गली गर्न थालेपछि उनको र आफ्नो एक पटक कुटाकुट भएको बताए । त्यसपछि अलिअलि धकेलाधकेल भएको बताउँदै उनले यसका लागि विद्यालयको सीसीटीभीको फुटेज हेर्न पनि सकिने बताए ।

विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर शाहीले शिक्षक धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेबीच कुटाकुट भएको बताउँदै शुरुमा भने अध्यक्ष न्यौपानेले हात हालेको बताए । तातोपानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले उक्त घटनामा सीसीटीभी फुटेज हेरेर छानबिनका लागि समिति गठन गर्ने तयारी रहेको जानकारी दिए ।

यस्तै विद्यालयको हाता भित्र शिक्षक कुटिएको विषयलाई लियर विभिन्न पेसागत संगठनहरुले सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल शिक्षक महासंघ जिल्ला समिति जुम्लालगायतले छुट्टछुट्टै विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्न दोषीमाथि कानूनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

uae

सम्बन्धित खबर