२०८१ माघ ९ गते बुधवार / Jan 22 , 2025 , Wednesday
२०८१ माघ ९ गते बुधवार
Ads

पर्यावरण संरक्षण र हाम्रो दायित्व

hardik ivf
२०८१ माघ ९ गते ०६:०५
पर्यावरण संरक्षण र हाम्रो दायित्व

–खगेन्द्र पौडेल

पर्यावरण संरक्षण अहिलेका लागि सबैभन्दा महत्त्वपूर्ण मुद्दा हो । प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध प्रयोग, वन जंगलको विनाश र प्रदूषणका कारण पृथ्वीको वातावरण असन्तुलित बन्दै गइरहेको छ । यसले मात्र प्राकृतिक सुन्दरतामा क्षति पु¥याएको छैन, मानवीय जीवन, वन्यजन्तु र जैविक विविधतामा समेत गम्भीर असर गरेको छ । 

नेपाल जस्ता मुलुकका लागि पर्यावरणको सन्दर्भ थप चुनौतीपूर्ण बन्दै गइरहेको छ । आज जे–जसरी हाम्रा हिमालहरू काला बन्दै छन् र जे–जसरी हिमतालहरू फुट्दै छन्, यसले नेपालको भविष्यमाथि नै प्रश्न उठाएको छ । जबसम्म हामीले पर्यावरणको सन्दर्भलाई ध्यान दिँदैनौं, तबसम्म यो समस्या समाधान हुँदैन । यद्यपि, यो हाम्रो एक मुद्दा मात्र भने होइन ।

पर्यावरण प्रदूषणका कारण

आजको युगमा औद्योगिकीकरण, शहरीकरण र मानवीय क्रियाकलाप पर्यावरण प्रदूषणका प्रमुख कारण हुन् । उद्योगहरूबाट निस्कने हानिकारक ग्यास, रसायन र फोहोर, सवारी साधनबाट निस्कने धुवाँ र प्लास्टिक जस्ता गैरविघटनशील फोहोरले माटो, हावा र पानीलाई दूषित बनाइरहेका छन् ।

वन जंगलको विनाश र प्राकृतिक स्रोतहरूको अनियन्त्रित दोहनले पर्यावरणीय चक्रलाई खलल पुर्‍याएको छ । औद्योगीकरण वा शहरीकरणको विषयबाट भाग्ने अवस्था छैन यद्यपि यसलाई वातावरणमैत्री कसरी बनाउने भन्ने एजेन्डामा विश्व केन्द्रित हुन सकेको छैन ।

संरक्षणका उपायहरू

भनिन्छ, सामूहिकतामा सबै कुरा सम्भव छ । सबैले पर्यावरणको संरक्षणको पाटोबाट प्रयास गरे संरक्षण सम्भव रहन्छ । यद्यपि, नेपालको सन्दर्भमा पनि हामी आफूले गर्न मिल्ने विषय धेरै छन्, जसमा हामी चुकिरहेका छौं । 

नेपालको सन्दर्भमा वन जंगलको संरक्षण, वृक्षरोपण, पुनः वन जंगल अभियान र जलस्रोतहरूको व्यवस्थापन प्रभावकारी उपाय हुन् । जैविक खेतीलाई प्रोत्साहन गर्नु, फोहोरको सही व्यवस्थापन र पुनः प्रयोग (रिसाइकल)को संस्कृति विकास गर्नु पर्यावरण संरक्षणका प्रभावकारी कदम हुन् । साथै, वैकल्पिक ऊर्जा स्रोतको प्रयोगले प्रदूषण कम गर्न सकिन्छ ।

नीति र कानुनी पहल

सरकारले पर्यावरण संरक्षणका लागि विभिन्न कानुन र नीतिहरू लागू गर्नु महत्त्वपूर्ण छ । वातावरणीय प्रभाव मूल्यांकनलाई प्राथमिकता दिनु, उद्योगहरूलाई वातावरणमैत्री प्रविधि अपनाउन बाध्य बनाउनु र प्रदूषण नियन्त्रणका लागि कडा कानुनी कारबाही गर्नुपर्छ । साथै, जनचेतनाका कार्यक्रममार्फत आमनागरिकलाई वातावरणको महत्त्वबारे जानकारी गराउनु जरुरी छ ।

सामुदायिक सहभागिता

पर्यावरण संरक्षणका लागि समुदायको सक्रिय भूमिका अत्यावश्यक छ । स्थानीय तहमा वृक्षरोपण अभियान, सरसफाइ कार्यक्रम र फोहोर व्यवस्थापनको पहल गर्नु प्रभावकारी हुन्छ । विद्यालय तथा क्याम्पसहरूमा पर्यावरणीय शिक्षा र सचेतनामूलक कार्यक्रम आयोजना गरी नयाँ पुस्तालाई वातावरणप्रति जिम्मेवार बनाउनुपर्छ ।

निष्कर्षमा, पर्यावरण संरक्षण केवल सरकार वा केही संस्थाहरूको जिम्मेवारी होइन, यसमा हरेक नागरिकले आफ्नो भूमिका खेल्नुपर्छ । सन्तुलित वातावरणले मात्र पृथ्वीको अस्तित्वलाई बचाउन सक्छ ।

अहिलेदेखि नै ठूला र साना प्रयास थालेर हामीले भावी पुस्ताका लागि हरियाली, स्वच्छ हावा र स्वस्थ वातावरणको सुनिश्चितता गर्न सक्छौं । ‘हाम्रो प्रकृति, हाम्रो जिम्मेवारी’ भन्ने भावनासहित अघि बढ्नु अहिलेको आवश्यकता हो ।

ADVADV

सम्बन्धित खबर

Advertise