२०८२ असोज ३१ गते शुक्रवार / Oct 17 , 2025 , Friday
२०८२ असोज ३१ गते शुक्रवार
Ads

जेनजी आन्दोलनको औचित्य

shivam cement
खिमराज गिरी
२०८२ असोज ३१ गते ०६:००
जेनजी आन्दोलनको औचित्य

‘जेनजी’ अर्थात् आजको नयाँ पुस्तालाई जनाइन्छ, जसले नयाँ विचार, जोस–जाँगर, अनुकूलनशीलता तथा नवीन मूल्य–मान्यताका साथ समाज परिवर्तनको चाहना राख्छ । यो पुस्ता प्रविधिमा निपुण मात्रै छैन सामाजिक रूपमा सचेत र विश्वव्यापी प्रवृत्तिसँग जोडिएको छ । यही विशेषता बोकेको जेनजीको असन्तोष गत भदौको आन्दोलनमा प्रकट भएको देखियो । भनिन्छ नि, ‘अघि चेते चेतै, पछि चेत होते नै’ । यदि हरेक राजनीतिक दलले समयमै युवाको भावना, आवश्यकता र सम्भावना पहिचान गरी उनीहरूका लागि लक्षित शिक्षा, स्वास्थ्य, रोजगारीका कार्यक्रम ल्याएको भए, आज हजारौं युवा बिदेसिन बाध्य हुने थिएनन् । यदि राज्यले युवाको आवाज सुनेको भए, के भदौ २३ र २४ गतेको त्यो त्रासदीपूर्ण आन्दोलन हुने थियो त ? जसमा ७० जनाभन्दा बढीको ज्यान गएको छ ।

आजका युवा स्वसचेत छन् । तर उनीहरूलाई अभिभावक र राज्यले पनि समयमै सही मार्गदर्शन गर्न आवश्यक छ । यदि प्लस टु सकेलगत्तै बिदेसिने प्रवृत्ति रोक्ने हो भने, युवालाई देशमै अवसर दिने वातावरण निर्माण गर्नुपर्छ । तर विडम्बना, सत्ता हुँदा आफ्नै कामको प्रशंसा गर्ने नेताहरू, गाउँपालिका भवन उद्घाटनसम्म आफैं पुग्नेहरू, विकास र युवाको भविष्यबारे भने मौन बस्छन् । अनि सत्ताबाट बाहिरिएपछि देशकै अस्तित्व संकटमा परेको दाबी गर्दै विदेशी शक्तिको आडमा सत्ताका लागि दौडिने गर्छन् । गत भदौको आन्दोलन पनि यस्तो राजनीतिक स्वार्थको सिकार बन्न पुगेको विश्लेषण भइरहेका छन् । कतिपयले यस आन्दोलनमा राजनीतिक दलका कार्यकर्ता र विदेशी शक्तिहरूको संलग्नता रहेको र त्यसैको परिणामस्वरूप सत्ता परिवर्तनको प्रयास गरिएको ठान्छन् । सत्ता केन्द्रित राजनीति, सिद्धान्तमा मात्र युवाको औचित्यता स्वीकार गर्ने तर व्यवहारमा नलाग्ने प्रवृत्तिले आजको अवस्था सिर्जना भएको हो । 

वास्तवमा, कुनै पनि आन्दोलन सफल हुन नेतृत्व आवश्यक पर्छ । नेतृत्वविहीन आन्दोलन सही दिशा नपाउने प्रस्ट सन्देश भदौको जेनजी आन्दोलनबाट देखिएको छ । देश, राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा साझा कूटनीति नभएसम्म, दल र बुद्धिजीवीहरूको सिद्धान्तमै सीमित बहसले मात्र देश निर्माण हुने छैन । आजका युवाहरूले पनि सामाजिक सञ्जालको हौवा र मोबाइलमा समय खेर फाल्ने प्रवृत्तिको अन्त्य गरी रचनात्मक क्रियाकलापमा लाग्नुपर्छ । राजनीतिक दलहरूले चुनावको बेला मात्र युवालाई सम्झने बानीको अन्त्य नगरेसम्म, विदेशी शक्तिहरूले नेपाली युवालाई प्रयोग गर्ने सम्भावना कायमै रहन्छ । त्यसैले युवालाई ‘तरवारको ढाल’ बनाउने प्रवृत्तिको अन्त्य गर्न अपरिहार्य छ ।

जेनजी आन्दोलनले यिनै मुद्दा उजागर गरेको छ । अहिलेका युवा विश्वव्यापी परिवर्तनका साक्षी हुन् । प्रविधिको प्रयोग, नयाँ सोच र दृष्टिकोणले उनीहरूले पुराना व्यवस्थालाई चुनौती दिइरहेका छन् । जेनजी आन्दोलन, जुन युवाहरूको भावना र आक्रोशको परिणाम थियो, नेपालको सामाजिक र राजनीतिक परिप्रेक्ष्यमा निकै महत्वपूर्ण छ । राजनीतिक दलहरूको घोषणापत्रमा युवा समावेश भए पनि उनीहरूको समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गरिएको छैन । 

शिक्षा, स्वास्थ्य, रोजगारी र विकासमा युवाको सशक्त सहभागिता आवश्यक छ । आन्दोलन मात्र समस्याको समाधान होइन । सरकारको दायित्व युवाका मुद्दाहरू पहिचान गर्दै दीर्घकालीन समाधान निकाल्नु हो । आजको राजनीतिक अवस्था युवाहरू स्वतन्त्र र सशक्त शक्ति बन्न सकेका छैनन् भन्ने यथार्थ देखिएको छ । नेताहरूको ध्यान सत्ता प्राप्तिमा मात्रै केन्द्रित हुनु दुःखद पक्ष हो । देश सशक्त बनाउन सबै तहमा रहेका नेताहरू र बुद्धिजीवीहरूले युवाको मुद्दामा सशक्त कदम चाल्नुपर्छ । युवालाई नकारात्मक दृष्टिकोणबाट नभई, सकारात्मक सोचसहित व्यवहारमा ल्याउनु अत्यन्त आवश्यक छ । यसै सन्दर्भमा, जेनजी आन्दोलनको औचित्यलाई गहिरो विश्लेषण र छलफलको विषय बनाउन आवश्यक छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise