२०८२ असोज ३० गते बिहिवार / Oct 16 , 2025 , Thursday
२०८२ असोज ३० गते बिहिवार
Ads

कांग्रेसमा पूर्णबहादुर र गगन–विश्वको अग्नि परीक्षा

shivam cement
बसन्तकुमार उपाध्याय
२०८२ असोज ३० गते १३:०६
कांग्रेसमा पूर्णबहादुर र गगन–विश्वको अग्नि परीक्षा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंसिरमा कार्यकाल सकिनेछ । विधानले गरेका व्यवस्था बमोजिम छोटो अवधिका लागि ‘म्याद थप’ गरेर वडा तहदेखि प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको मिति तोक्नुपर्छ भन्ने आवाज कांग्रेस वृत्तमा उठेको छ । कांग्रेसमा नियमित महाधिवेशनको विकल्प विशेष महाधिवेशन हुन सक्दैन भन्ने पक्षधरको आवाज मुखरित भएका छन् । विशेष महाधिवेशनले केवल केन्द्रीय समिति मात्रै चयन गर्ने अवधारणा समय अनुकूल कदापि होइन भन्ने धारणा तल्लो तहमा उठेको हो । म्याद थप्नु पर्ने एक मात्र कारण सबै तहमा चुनाव होस् भन्ने नै हो ।

कांग्रेसभित्र विषम परिवेशमा कार्यवाहक सभापति तोकेर अघि बढ्ने गरिएको परम्परा हो । प्रायजसो कार्यवाहक सभापतिहरूले कार्यभार सम्पन्न गरेको रेकर्ड छ । कार्यवाहक सभापति पूर्ण बहादुर खड्का माथि उनको क्षमता पुष्टि गर्ने अवसर र चुनौती दुवै छ । खड्का महाधिवेशन सम्पन्न गर्ने अग्नि परीक्षामा छन् ।

संस्थापन पक्षबाट उपसभापति चुनिएका नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का आफूलाई संस्थापन पक्षको हार्डलाइनर भनेर चिनाउँछन् । यद्यपि खड्का संस्थापन पक्ष भित्रै पनि कतिपय सन्दर्भमा कैयौं पटकका निर्णायक अवस्थामा आलोचित समेत भएका छन् । उदाहरणका लागि देउवा नेतृत्वको सरकार ढल्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको कम्युनिकेसनमा चुक भएको थियो,आफ्नै समूहका महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महतलाई असहयोग गरेको, केन्द्रीय सदस्य बालकृष्ण खाँणमाथि भुटानी शरणार्थी प्रकरणमा नकारात्मक रहेका आदि ।

नेपाली कांग्रेसमा पटक–पटक कार्यवाहक सभापति बनाइएको छ । पछिल्लो पटक वि.सं. २०६४ असोज ७ पछि सभापतिमा गिरिजाप्रसाद कोइराला, वरिष्ठ नेतामा शेरबहादुर देउवा, कार्यवाहक सभापति सुशील कोइराला र उपसभापति (हाल राष्ट्रपति) रामचन्द्र पौडेल भएर फुटेको कांग्रेसलाई जोडेको स्मरण गर्नुपर्छ । तर पछिल्लो पटक भएको महाधिवेशन पछि ‘वरिष्ठ नेता’ हटाइयो । हुन त पार्टी विधानले नचिन्ने पदहरू सृजना गरिने अभ्यास उपयुक्त पनि होइन ।

कांग्रेसको १०औं महाधिवेशनमा मध्यपश्चिम क्षेत्रबाट एक जना मात्र केन्द्रीय सदस्य हुने व्यवस्था रहँदा (दिवंगत) सुशील कोइरालासँग पराजित भएका खड्का पार्टी फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनेपछि केन्द्रीय सदस्य चुनिएका थिए । ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबिच एकीकरणपछि भएको १२औं महाधिवेशनमा केन्द्रीय सदस्य जितेका खड्का सहमहामन्त्रीमा मनोनीत भएका थिए । १३औं महाधिवेशनपछि मनोनीत महामन्त्री भएका खड्का १४औं महाधिवेशनमा पार्टी उपसभापति निर्वाचित भएका हुन् । 

खड्का समकालीन नेताहरूमा कडा स्वभाव र अपेक्षाकृत गुनासो कम सुन्ने स्वभावका भनेर पार्टीमा चित्रित छन् । दिवंगत नेता कृष्णप्रसाद भट्टराईको सहयोगी भएर काम गरेका खड्काले सभापति देउवासँग निकट भएर सरकार र पार्टीमा दुवै ठाउँमा काम गर्ने मौका पाइरहेका पात्र पनि हुन् ।

नेपाली कांग्रेसका संस्थापकहरूका पछि–पछि दौडेर देशमा प्रजातन्त्र पुनर्बहालीमा लागेका शेरबहादुर देउवाको सक्रिय राजनीति लगभग स्थिर भएको छ । कांग्रेस संस्थापक नेताहरूका प्रिय पात्रका रूपमा राजनीतिक यात्रा सुरुवात गरेका सभापति देउवाको सक्रिय राजनीतिमा विश्राम भन्न त सकिएला तर भूमिका आगामी दिनहरूले निर्दिष्ट गर्दै जालान् । यद्यपि पार्टीका आन्तरिक समीकरण र संसदीय अभ्यासमा देउवाको रुची कायमै रहला वा बिलकुल अलग भएर शान्त वा मौन व्यक्तिगत जीवन बिताउलान् भविष्यले देखाउला ।

नेपाल विद्यार्थी संघको नेतृत्व गरेर यहाँ सम्म पुगेका देउवा वि.सं.२०४८ सालमा पहिलो पटक संसद् प्रवेश भएदेखि निरन्तर रहने सौभाग्य पाउने नेता हुन् ।

१ पटक गृहमन्त्री, ५ पटक प्रधानमन्त्री, ३ पटक (पार्टी विभाजन सहित) सभापति हुने अवसर देउवाको व्यक्तिगत राजनीतिक सफलताका गतिला उदाहरण हुन् । यद्यपि देउवा माथि संसदीय राजनीतिको स्वच्छतालाई लिएर कैयौँ पटक आलोचना गरिएको छ । समकक्षी नेताहरू माझ व्यक्तिगत रूपमा देउवा नेपालको राजनीतिका अब्बल पात्रमा गनिन्छन् । तर देउवाका कतिपय निर्णय विवाद रहित भने रहेनन् । सभापतिबाट कृष्णप्रसाद भट्टराईले सहजै नेतृत्व हस्तान्तरण गरे यता कांग्रेसमा सभापति पेचिलो विषय बन्दै आइरहेको छ ।

कांग्रेसको इतिहासलाई केलाउने हो भने संस्थापक नेता बी.पी.कोइराला सभापति रहँदा विश्वास पात्र महामन्त्रीहरू विश्वबन्धु थापा,डा.तुलसी गिरी,श्रीभद्र शर्मा र परशुनारायण चौधरीबाट कोइरालाले साथ पाउन सकेका थिएनन् । कांग्रेस भित्र परिस्थिति यस्तो आयो कि यतिबेला पनि सभापति देउवाले महामन्त्रीहरूको साथ पाउन सकेनन् ।

यतिबेला कार्यवाहक सभापति खड्काले इतर पक्ष सँग कस्तो सहकार्य गरेर अघि बढ्लान् मूल प्रश्न हो । कांग्रेसमा इतर पक्षका नेता डा.शेखर कोइराला र कार्यवाहक सभापति खड्काबिचको पुरानो कोल्ड वार अन्त्य हुन्छ त ? अर्का तर्फ महामन्त्रीद्वयलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने चुनौती समेत छ । कांग्रेस भित्रको श्रोत भन्छ महाधिवेशन पछि निकटतम प्रतिद्वन्द्वीलाई वरिष्ठ नेताको स्थान दिने परम्परालाई खड्काकै कारण सभापति देउवाले रोकेका थिए । कति सम्म पनि भयो भने डा.कोइराला पुग्ने मञ्चमा खडाका जाँदैन थिए । बितेका वर्षहरूमा भएका प्रदेश तहका भेलाहरूमा गण्डकी भेलामा डा.कोइराला पुग्दा खड्का गएनन् । त्यसैगरी जनकपुरमा सम्पन्न भेलामा डा.कोइराला अनुपस्थित रहेका थिए । जनकपुरमा भएको प्रदेश सम्मेलनमा त खड्का मञ्चमा बस्दा उनकै समूहका पूर्व उप सभापति विमलेन्द्र निधि मञ्च मै बसेनन् । निधि कार्यकर्ताहरू सँग दर्शक दीर्घामा बसेका थिए ।यी केही उदाहरण मात्रै हुन् ।

कांग्रेसमा कार्यवाहक सभापति भएकाहरू निर्वाचित सभापति भएका छन् । कांग्रेस भित्रको आन्तरिक समीकरण र ध्रुवीकरणमा कार्यवाहक सभापति खड्काले अबका दिनहरूमा संस्थापन पक्षबाटै कति साथ र सहयोग पाउलान् यसै भन्न सकिन्न । देउवालाई साथ दिएकाहरू र सभापतिका आकांक्षीहरूका पात्र थुप्रै सक्रिय छन् ।

कलिलो उमेरमा सुर्खेत जिल्ला सभापति भएका खड्का आजका मितिसम्म स्वयं सफल पात्र हुन् । खड्काले पञ्चायतमा चुनाव जितेका थिए । तर बदलिँदो परिवेशमा उनी लामो समय त्यहाँ रहेनन् । 

कार्यवाहक सभापति भइसकेपछि उनी गह्रौँ भारी बोक्ने अवस्थामा पुगेका छन् । कांग्रेसको नेतृत्व पूर्वबाट कोइरालाहरूले गरे, सुदूरपश्चिमबाट देउवाले गरे, बाँकेलाई कर्म क्षेत्र बनाएर सुशील कोइरालाले पश्चिम क्षेत्रबाट गर्ने मौका पाए । अब कर्णाली क्षेत्रबाट खड्काले नेतृत्व गर्ने अवसर पाउने सम्भावना बोके पनि उनी महाधिवेशन सम्पन्न गर्न सक्छन् वा सक्दैनन् भन्ने सवाल छ । महाधिवेशन गराउन सकेर सभापति निर्वाचित हुन सक्लान् कि आन्तरिक ध्रुवीकरणको सिकार बन्लान् केही समय महाधिवेशन पर्खनुपर्ने छ ।

यी सबै विषयको चुरो कुरा अब कांग्रेसको महाधिवेशन कहिले हुन्छ भन्ने नै हो । महामन्त्रीद्वय र कार्यवाहक सभापति सहित म्याद सकिनै लागेको कांग्रेस कार्य समिति नियमित र निर्धारित अवधिमा महाधिवेशन गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयका कारण कांग्रेस गम्भीर मोडमा पुग्ने देखिन्छ । महामन्त्रीद्वयलाई त विशेष महाधिवेशनका खातिर चलाएको हस्ताक्षर अभियानको दबाब पनि सामना गर्नुपर्ने छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise