२०८१ माघ १० गते बिहिवार / Jan 23 , 2025 , Thursday
२०८१ माघ १० गते बिहिवार
Ads

प्रहरीमा अराजकता

hardik ivf
निमिष झा
२०८१ माघ १० गते ०६:४५
प्रहरीमा अराजकता

१५ पुस, चितवन : अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई बुद्धिबहादुर भुजेलद्वारा एक युवकलाई निर्घात कुटपिट 

असार २०७९, ललितपुर : निदान अस्पतालमा कार्यरत डा. कुलबहादुर घिसिङमाथि प्रहरीद्वारा कुटपिट 

असोज २०७७, काठमाडौं : नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्ने ‘हन्ड्रेड’ नामक ग्रुपका अध्यक्ष बब्लु गुप्तामाथि प्रहरीद्वारा कुटपिट 

असोज २०७७, जुम्ला : जुम्लामा अनसन बसेका सत्याग्रही डा.गोविन्द केसीसँग दुर्व्यवार

यी प्रतिनिधिमूलक घटनाहरूले नागरिकमाथि प्रहरी कसरी प्रस्तुत भइरहेको देखाउँछ ।

२७ असार, २०७३ मा सरकारले नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणा ल्याएको थियो । प्रहरीलाई नागकिरमैत्री बनाउन यस्तो अवधारणा ल्याएको हो ।

समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी संगठनको छविलाई गरिमामय तुल्याउन यो अभियान सुरु भएको हो । त्यसअघि नेपाल प्रहरीले ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ प्रहरीले जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।

प्रहरीलाई झन चुस्त बनाउन ‘नागरिक बिना बर्दीका प्रहरी’, ‘समुदाय प्रहरी साझेदारी’ जस्ता अभियान पनि सुरु गरिएको थियो ।

प्रहरीलाई चुस्त बनाउन विभिन्न अभियान सुरु भएपनि नागरिकसँग २४ सै घण्टा रहने प्रहरीको केही आचरण विपरीतका कामले उसको छविमा असर परेको छ । 

आम नागरिकको सुरक्षाका लागि खटिने प्रहरीबाट नै यसरी जनता कुटिनु र दुव्र्यवार व्यहोर्नुबाट प्रहरी संगठनको गरिमामा असर परेको सुरक्षा विज्ञहरू चिन्ता प्रकट गर्छन् ।

नागरिकको सामान्य कमजोरीमा सचेत गराउने र कानुन विपरीतका कार्य गर्दा कानुनी दायरामा ल्याउनुपर्ने प्रहरी आफै नागरिकमाथि भौतिक आक्रमण गर्नु उसको चरम अनुशासनहीनता भएको  उनीहरू बताउँछन् ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्लका अनुसार फिल्डमा खट्ने प्रहरीका यस्ता गतिविधिले सिंगो प्रहरी संगठनप्रति नै नागरिकको भरोसा गुम्दै गएको छ । 

‘यसको कारण उनीहरूको मनोविज्ञान पनि हो । कामको दवाब यति छ कि सिंगो प्रहरी संगठनका ४० प्रतिशत प्रहरीले १४ घण्टासम्म खट्न् पर्छ’, मल्लले भने, ‘थकित अवस्थामा प्रहरी खट्दा त्यसको मानसिक दबाबको असर समाजमा पर्छ नै ।’ 

फिल्डमा खटिने प्रहरी कर्मचारीका गुनासो धेरै आउन थालेपछि तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीका लागि २०७७ सालमा १४ बुँदे आचारसंहिता जारी गरेका थिए । आचारसंहितामा प्रहरी कर्मचारीहरूको आचरण र व्यवहारमा समयानुकूल सुधार गर्नुपर्ने कुरा उल्लेख थियो ।

आचारसंहिताको बुँदा नम्बर ७ मा लेखिएको छ, ‘प्रहरी कर्मचारीले ड्युटी गर्दा तथा सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट बोलीचालीको प्रयोग गरी यथासम्भव शीघ्र, सहज र जवाफदेही ढंगबाट सेवा प्रदान गर्नुपर्ने र फरक क्षमता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने ।’ तर यो आचारसंहिताको पालना प्रभावकारी रूपमा भएको देखिदनै । 

सुरक्षाविद् चिरन जंग थापा प्रहरीले चार वटा ‘अ’ को नियमलाई मूलमन्त्र बनाउन सक्नुपर्छ बताउँछन् । ‘प्रहरीले सामाजिक उत्तरदायित्वसहित कानुनी राज्यका लागि काम गर्ने हो भने आचरण, अनुशासन, आश्वासन दिन सक्ने हैसियत र अनुसन्धानको विश्वसनीयतालाई मूलमन्त्रका रूपमा स्वीकार गर्नुपर्छ’, उनले भने ।

प्रहरीले कुनै पनि नागरिकबाट नियमको उल्लंघन भयो भने त्यसको नियन्त्रका लागि सामान्य बल प्रयोग गर्न पाउने भए पनि अत्यधिक बल प्रयोग गरेर व्यक्तिको मानवअधिकार नै उल्लंघन हुने खालका गतिविधिप्रति प्रहरी सचेत र चनाखो हुनु पर्ने पूर्वडीआईजी  मल्लको भनाइ छ ।

राम्रो आचरण र अनुशासनमा बसेको प्रहरीले अनुसन्धान गर्ने विषयलाई जनताले अविश्वास गर्ने कुरा नआउने हुँदा कानुनी राज्यको स्थापनामा देखिएका समस्याहरू धेरै हदसम्म समाधान हुने सुरक्षा विज्ञहरूको तर्क छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise