-गोपालप्रसाद थपलिया
‘सबै आउनु भयो ? ल सल्लाह गरौँ न त । सबै क्षेत्रका मान्छे जम्मा भइहाल्यौं त ! न्याय निसाप र गाउँको विकास गर्ने मान्छेलाई मुली बनायो भने गाउँमा शान्ति आउँछ गाउँको विकास हुन्छ कसैले दुःख पाउनु पर्दैन । यसपाली गाउँको मूली प्रेमराज कन्चनलाई बनाउँ ।’ काइला बाजेले कुरा उठाए ।
‘किन बाजे’ ? दुर्गा प्रसादले प्रश्न गरे ।
‘खै मैले अरू कोहि देखिन रातभर मेरो विवेकले यसैलाई छान्यो । तपाईँहरूको नजरमा कोही भए भन्नु होस् ! हाम्रै कारणले हामीलाई भोलि दुःख नहोस् !’ काइला बाजेले भने ।
‘नीति, सिद्धान्त, विचार भट्भट्याएर मात्रै हुँदैन नि । मुख्य कुरा विवेक र व्यवहार चाहिन्छ’ जीत बहादुरले भने ।
‘समय आइसक्यो गाउँको मुली छान्ने । पहिला पहिला जस्तो नहोस्, यसपाली त राम्रै परोस् है गाउँको मूली ।’ त्यहाँ बसेका सबैको मुखबाट एकै पटक आवाज आयो ।
‘अहिले काइला बाजेले भने पछि हुन्छ भन्ने भोलि केहि नराम्रो भयो भने उहाँकै थाप्लोमा राखेर पछिने काम नगरौं । गाउँका बुध्दिजीवी देखि सर्वसाधाण सबै भेलामा आएका छौ सबैले विवेक प्रयोग गरौ है’, सीताले भनिन ।
सीताको भनाईलाई सुमित्रा, प्रायश्चित ,श्रीराम लगायत उपस्थित सबैले समर्थन जनाए ‘हामीले चुन्ने नेताले कबुल गर्नु पर्दैन र र? गाउँलेले भनेको सही कुरा मान्छु इमान्दार र विवेकी भएर काम गर्छु। सल्लाहा मै सबै काम गर्छु भनेर ?’ सुमित्राले भनिन ।
‘कुरा ठीक’ सामुहिक आवाज गुन्जियो ।
आफूले छानेको मान्छेलाई गाउँलेले उठाएका कुराहरूको जबाफ दिन काइलाबाले प्रेमराज कञ्चनलाई भने ।
‘मेरो नामको अन्तिममा ‘कन्चन’ किन लेखेको मैले ? मैले गरेका काम सबै ‘कन्चन’ हुन्छन् । नाम पनि कञ्चन काम पनि कञ्चन । सबैको सल्लाह अनुसार चल्ने छु । विवेकी भएर ब्यवहार गरेको छु र गर्ने छु । मलाई सेवा गर्ने मौका दिनुहोस् । म माथि कुनै शंका नगर्नु होस् । हजुरहरूले मलाई चिन्नु पनि भइसकेको छ ।’ कञ्चनले भने ।
कञ्चनको पुरा नाम हो प्रेमराज बराल । उनको प्रतिज्ञा सुने पछि सबैले भने ‘हामी प्रेमराज कञ्चनलाई हाम्रो गाउँको मुली चुनौं ।’
रातमाटे गाउँको मुली प्रेमराज कञ्चन सर्वसमत चुनिए । गाउँभर खुशी छायो । केहि राम्रा काम हुन थाले । सबै गाउँले हाम्रो गाउँमा अब विकास हुने भयो भनेर रमाउँन थाले ।
समयक्रम बित्दै जाँदा कञ्चन आफू खुशी सबै काम गर्न थाले । आफ्नो मान्छे र अरूको मान्छे भनेर छुट्याउन थाले । इमान्दार त्यागीलाई पाखा पारे । छट्टु पाराका केहि मान्छेको समूह बनाए । त्यसमा केहि इमान्दार पनि राखे तर इमान्दारको स्वर झिनो । गाउँलेको सरसल्लाहाबाट काम गर्न छोडे । मनखुशी गर्न थाले । यो थाहा पाए पछि काइला बाजे सबै भन्दा चिन्तित हुन थाले । सबैले काइला बाजेलाई कराउन थाले । गाउँलेहरू काइला बाजेकोमा भेला भए । भेलाको निष्कर्ष एक पटक प्रेमराज कञ्चनलाई सम्झाउने भन्ने रह्यो । काइला बाजे आफै प्रेमराज कञ्चनलाई भेट्न गए तर उनले भेटै दिएनन् ।
‘यो गाउँमा म भन्दा जान्ने सुन्ने कोहि छैन मेरा बिरुद्ध कोहि बोल्यो कि त्यसको खैरत छैन । भन्दै गाउँमा हिड्न थाले ।
‘होइन यो मान्छे गरिब पनि हो । न्यायो कुरा गर्ने पनि मान्छे हो । कुरा बुझ्ने मान्छे पनि हो । अहिले के भो यसलाई ?’ काइला बाजेले चिन्तित स्वरमा बोले ।
‘मान्छे गरिब हुँदैमा मान्छे असल हुने होइन । कोहि त गरिब भएर पनि छट्टु हुन्छन । अरुको शोषण र दमनमा परेर गरिब हुने धेरै छन् । तर कोहि कोहि त छट्टु काम गरेर गरिब हुने पनि त छन् नि ?’ सीताले भनिन ।
‘पदको उन्माद सत्ताको उन्माद’, हरि सरले बोल्नु भयो ।
‘अब यो मान्छे कञ्चन । सफा होइन । यस्को थर बराल हो ? कञ्चन नाम पछाडि झुन्ड्याउने बित्तिकै मान्छे कञ्चन हुन्छ र ?’ पवित्राले भनिन्।
‘यो कञ्चन पनि होइन प्रेमराज पनि होइन यो ‘अहंमराज’ भइसक्यो !’ दुर्गाप्रसादले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies