२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

राष्ट्रियता हराएको देश

ADV
२०८१ असार १३ गते ०६:३०
राष्ट्रियता हराएको देश

– शिव कुमार श्रेष्ठ

हाम्रो देशको नेतृत्व वर्ग र शासकहरूमा राजनीतिक, सांस्कृतिक र संस्कार शालीनता हुनुपर्छ । शक्ति केन्द्रको निहित स्वार्थ अनुकुलको कारण नेपालको राष्ट्रिय अखण्डतालाई चुनौतीको रूपमा लिनु राष्ट्रघात बाहेक अरु केही होइन । नेतृत्व वर्ग सत्ता र शक्तिको उन्मादमा दिग्भ्रमित, मनस्क चिन्तन र सोचबाट ग्रस्त रहँदै आएका छन् ।

जबसम्म प्रत्येक नेपालीले राष्ट्र र राष्ट्रियतालाई हृदयंगम गर्दैनन्, तबसम्म राष्ट्रले स्वाधीनता प्राप्त गर्न सक्दैन । सम्पूर्ण नेपाली के मधेश ? के पहाड ? के हिमाल ? के तराई ? के हिन्दु ? के मुस्लिम ? के बुद्धिस्ट ? के ख्रीष्टियन ? सबै एक जुट भई राष्ट्रियता जोगाउनतर्फ लाग्नु कर्तव्य हुन आउँछ । राष्ट्र र राष्ट्रियता नै हराए न त नेपाल रहन्छ, न त नेपाली । राष्ट्रियता हराएकोले विश्वका धेरै देशका जनताले आफ्नो सार्वभौम सत्ता सम्पन्न मुलुक गुमाउनु परेको उदाहरणहरू धेरै छन् । आदिकालदेखि बीसौं शताब्दीसम्मको अवधिमा ति कुरामा इतिहासमा उल्लेखित छन् । त्यसमध्येको एउटा उदाहरण हाम्रो छिमेकी देश इन्डियाको मुगल सम्राट मीर कासिमलाई लिन सकिन्छ । जो अङ्ग्रेजको गुलाम बने, त्यसको परिणाम आफ्नो देशको सम्पूर्ण अधिकार अङ्ग्रेजको हातमा गयो । साथै, उनको अङ्ग्रेजद्वारा हत्या हुनुको साथै सम्पूर्ण सम्पत्ति जफत भयो । यस ज्वलन्त उदाहरणबाट पनि नेपालीहरूले पाठ सिक्नुपर्ने हुन्छ । नत्र अर्ध गुलामबाट पूर्ण गुलाम बन्न नपरोस् । 

संसारका सबै देशका मानिसहरू आफ्नो देशको बारेमा चिन्तन, मनन र अध्ययन गर्दछन् । आफ्नो जन्मथलोलाई कर्मथलोमा परिणत गर्न दिन रात खट्छन् । आफ्नो संस्कृति, धर्म, कला, साहित्य, भेषभुषा, राष्ट्रको पहिचान हुने स्थल, कुराहरूमाथि बहस गर्दछन् । राष्ट्रियताको विषयमा आँच आउने कुनै कुरा कसैबाट गर्दैनन् । र, चुक्लान् कि भनेर चिन्ता गर्दछन् । जहाँ सामाजिक सदभाव, भाइचारा, वातावरण राष्ट्रियताको विषय पाठ सिकाइन्छ, आफ्ना परम्परा, भेष भुषा, रीति, रिवाज चाडपर्व गौरवका साथ अंगीकार गर्दछन् । त्यसको अनुसरण गर्नु आफ्नो कर्तव्य ठान्दछन् । आफ्नो देशको भूगोल र इतिहास अनिवार्य पढाइन्छ । हरेक मानिसलाई अर्थतन्त्र सुधार गर्नका लागि कृषि, उद्योग, पर्यटन क्षेत्रको विकाससँगै समग्र विकासका अवधारणाको विकास गरि आत्म निर्भर हुन सिकाइन्छ । जनताको हक, अधिकारका लागि सरकार सदा तत्पर जवाफदेहिताका साथ कार्यान्वयनमा अहोरात्र लागि परेका हुन्छन् । 

तर, हाम्रो देशको पोशाक लगाउन लाज हुने, हाम्रो देशको खाना भात, दाल, तरकारी, ढिँडो, साग, सिस्नेको तरकारी, अचार, मोही खान र भन्न लाज लाग्ने । आफ्नो कलासंस्कृतिलाई हेला गर्ने । हाम्रा पञ्चेबाजा कठे, पाखे हुने । हाम्रा वन, पाखा, सगरमाथा, कञ्चनजंघा, माछापुच्छ्रे, बुद्ध जन्मस्थल लुम्बिनी, सीताको जन्मस्थल जनकपुर विश्वसामु चिनारी पहिचान गराउन हिचकिचाउने । आफ्नो देशको हिमाल, पवित्र भूमि र अन्य कुरा छिमेकीले आफूमा समाहित गर्दा बोल्नु नसक्ने, आर्थिक नाकाबन्दी गर्दासम्म संयुक्त राष्ट्रसंघसमेत आफ्ना देश र जनताले भोगेको दुःख राख्नु नसक्नु केवल छिमेकीको विरोध गर्दा मेरो सत्ता गई हाल्छ भन्ने विकृत मानसिकताले ग्रस्त सरकारबाट जनताले के आश गर्ने ? 

राडी पाखी बिछ्याउँदा जिउ बिझाउने, डोको नाम्लो बोक्दा काठे, पाखे र बेवकुफ हुने, गुन्हु चोलो, पटुका, दौरा, सुरुवाल, भोटो, कमिज र कछाड, धोती, साडी लगाउँदा गवार हुने जस्ता परम्पराले जकडिँदै गएको समाज छ हाम्रो । अबका दिनमा हाम्रा भावी सन्ततिले कोदो, मकै, धान भनेको के हो ? कहाँ फल्छ ? रूख कि आकाशमा भन्ने दिन नआउँला भन्न सकिन्न । यसरी नै हामी हाम्रो मौलिकतालाई भुल्दै जाने हो भने नेपाल र नेपालीको पहिचानमा आँच आउने खतरा रहन्छ । तसर्थ, हामी सबै नेपालीले बेला रहँदै सोचौ, मनन गरौं र आत्मसाथ गर्दै राष्ट्र र राष्ट्रियता हृदयमा राखी बाच्ने प्रण गरौं । 

आत्मबल, जोस, जाँगर र हिम्मत भए के हुँदैन ? आफ्नै देशका स्रोत साधनको सदुपयोग गरे पराधीन हुनुपर्छ र ? आफ्नो आवश्यकता आफ्नै परिश्रमले पूरा गरे, सुख अवश्य पाइन्छ । लगनशील, प्रतिभाका धनी, विकास प्रेमी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार आगो लगाई दिन्छुभन्दा र संघर्षबाट आएका जनप्रतिनिधिका साथै, देशका बागडोर सम्हालेर वर्तमान प्रधानमन्त्रीले मेयर बालेन शाहलाई पक्रेर थुन्न सर्वदलीय बैठक बोलाइ सबै दलसँग थुन्ने स्वीकृति मागे भन्दा अचम्म लाग्दैन र ? उनले केवल देशको बेथिति, अराजक, भ्रष्टाचार, कुसंस्कारलाई पो आगो लगाई देशलाई अग्रगामी दिशामा लान्छु भनेका थिए । त्यति पनि कुरा नबुझ्ने सरकारसँग के अपेक्षा गर्न सकिन्छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शनको क्रममा आफ्नो राष्ट्रिय पोशाक दौरा सुरुवाल, टोपी लगाउन नपाइने, चन्द्र, सूर्य अंकित हाम्रो राष्ट्रिय झण्डा बोक्नु नपाउने, यो कस्तो सरकार राष्ट्रियता हराएको होइन ? हाम्रा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको निमन्त्रणामा जाँदा त्रिभुवन विमानस्थलमा सलामी खान दौरा सुरुवाल कोट र टोपीमा सजिएका थिए भने प्लेनमा आफ्नो राष्ट्रिय, पोशाक सम्पूर्ण उतारी विदेशी पोशाक कोट, पाइन्ट, टाईमा सजिएर प्लेनबाट उत्रिए । केको लाज आफ्नो राष्ट्रिय पोशाक लगाउन ? भुटानका राजा प्रधानमन्त्री, कुवेत, बहराइन साउदी अरबका शेष, चीन देशका स्वर्गीय नतो माओत्सेतुङ बेलायतका राजारानीको पोशाक र विश्वका थुप्रै राष्ट्र प्रमुख संयुक्त राष्ट्रको सम्मेलनमा आउँदा आफ्नै राष्ट्रिय पोशाकमा आउँछन् । उनीहरूलाई लाज लाग्दैन । बालेनले कुरीति, कुचलन र भ्रष्टाचारको विरुद्ध आगो लगाई दिन्छु मात्र के भनेका थिए । यी पुरातन वादीहरूको मुटुमा आगो लाग्यो । 

के कांग्रेसले वि.पी कोइरालाको निर्देशनमा गिरिजाप्रसाद कोइरालाले विराटनगरबाट प्लेन हाइज्याक गरि त्यस बखतको पाँच लाख भारु लुटेका होइनन् ? कोशी, गण्डकी राष्ट्रघाती सम्झौता गरेका होइनन् ? कृषि मन्त्रालयका भ्रष्टाचार हुनु वा लाउडा काण्ड कांग्रेसको हात छैन ? नक्कली भुटानी शरणार्थी हुन वा सरकारी जग्गा हडप्ने खेल होस् उनीहरूको हात छैन ? एमालेले पनि महाकाली सन्धि, पञ्चेश्वर सन्धि गरेको होइन, एमाले चोखो छ ? 

१० वर्षे जनयुद्धको नाममा कति मरे ? कति विदेश पलायन भए ? कति पूर्वाधार ध्वस्त पारिए ? कयौं बैंकका नगद र सुन चाँदी लुटिए । के यसमा बोल्नै नहुने हो ? यहाँको मौलिक अधिकार ठूला वडालाई मात्र लागू हुने हो ? सानो, निमुखाको निम्ति त केवल महँगी, मुखमा ताला, बेरोजगारी बाहेक के नै छ र ?आस्था र विचार जुन दलमा भए पनि नेपाली समाजमा युग सुहाउँदो मुक्ति आन्दोलनमा हातेमालो गर्दै संलग्न नभएसम्म समाज परिवर्तन हुँदैन । समाज परिवर्तन नभए देश विकास, उन्नति र प्रगतिको कल्पना पनि गर्न सकिन्न । त्यसका लागि सबै जात, जाति, संघ, संस्था नागरिक समाज, सबै दलका कार्यकर्ता र नेताकै सहकार्य, सहमति सोचविचारको संलग्नता नै मुख्य भूमिका रहने कुरामा कुनै द्विविधा र शंका गर्ने ठाउँ छैन ।

समाजलाई समृद्ध, समुन्नत र विभेद रहित बनाउनको लागि सकारात्मक अभिमानको आवश्यक छ । विभेदकारी कार्यशैली र भ्रष्टाचारविरुद्धको अन्त्यको लागि मोर्चामा सम्पूर्ण वर्ग, समुदाय, संघ, संस्था र सचेत नागरिकको गोलबन्द हुन आवश्यक छ । जहाँ समुन्नत समाजको सोच राख्ने सबैको प्रतिनिधित्व भएमात्र छिटै परिवर्तन हुने सम्भव छ । युग सुहाउँदो, ठाउँ सुहाउँदो र परिवेश सुहाउँदो चले सफलताले चुम्ने छ । साँचिक्कै राष्ट्रिय सोच भएको सपूत नेपालीको खाँचो छ । राष्ट्रिय सोच र विचार भएको एक मात्र नेतृत्व देशले पाएमा, यस देशको कायापलट हुन धेरै समय लाग्ने छैन । यस्ता उदाहरणहरू विश्वमा धेरै देशहरूमा छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise