झापा : झापामा ६६ जना कुष्ठरोगीका बिरामी फेला परेका छन् । ती मध्ये ६ बालबालिका छन् । आर्थिक वर्ष २०७९/८० मा १६० तथा आव २०८०/८१ मा २२२ नयाँ कुष्ठरोगी फेला परेका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।
कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा १–१, शिवसताक्षीमा ७, कमलमा ३, दमकमा १०, गौरादह र गौरीगञ्जमा ५–५ नयाँ बिरामी फेला परेको दासले जानकारी दिए ।
यस्तै, झापा गाउँपालिका र बाह्रदशीमा २–२, बिर्तामोडमा ६, हल्दिबारीमा ४ तथा कचनकवलमा ८ नयाँ कुष्ठरोगी फेला परेको पनि उनले बताए ।
हात्तीपाइले संक्रमण उच्च
यस्तै जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीका अनुसार
हाल हात्तीपाइले रोगीको संख्या करिब २२०० छ ।
प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा. सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए ।
‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक दुई लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ’, उनले भने, ‘बिरामीलाई यातायात खर्च दिन्छौँ, तर रकम पर्याप्त हुँदैन । विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरू उपचार गराउन आउँदैनन् ।’