२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

एचपीभी खोपपछि बालिका गम्भीर बिरामी : सांसद सिद्धिकीले मागिन् सरकारसँग क्षतिपूर्ति

Nada
२०८३ असोज ८ गते १२:३४
Shares
एचपीभी खोपपछि बालिका गम्भीर बिरामी : सांसद सिद्धिकीले मागिन् सरकारसँग क्षतिपूर्ति

काठमाडौँ : दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ ।

ncell

बिहीबारको संसद् बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गरेकी हुन् ।

सांसद सिद्धिकीले सदनमा जानकारी गराएअनुसार कक्षा ६ मा अध्ययनरत बालिकालाई एचपीभी खोप लगाइएलगत्तै स्वास्थ्यमा जटिलता देखिएको थियो । खोपपश्चात गम्भीर बिरामी परेकी बालिकालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९ दिनसम्म भेन्टिलेटरसहितको आइसियुमा उपचार गरिएको थियो । हाल उनी घर फर्किए पनि उनका हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेको सांसद सिद्धिकीले बताइन् ।

उनले स्वास्थ्य मन्त्रालयलाई उक्त घटनाको छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था मिलाउन जोडदार माग गरेकी छन् ।

यसैगरी, सांसद सिद्धिकीले रसुवा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजतलासको अवस्थाबारे पनि सरकारसँग जवाफ माग गरिन् । उनले तथ्यांक प्रस्तुत गर्दै बेपत्ताहरूको अवस्था अझै स्पष्ट नहुनु दु:खद् रहेको बताइन् ।

उनले मुलुकको समग्र महँगी, नागरिकले भोग्नुपरेको आर्थिक संकट र आत्महत्याका बढ्दो घटनाप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘देश महँगो भयो, हरेक कुरा महँगो हुँदै जाँदा नागरिक पिल्सिएका छन् । आत्महत्याका घटना किन बढिरहेका छन् ? सरकारले नागरिकको जीवन रक्षाका लागि कस्तो योजना बनाउँदै छ ?’

उनले देशको जिम्मेवार अभिभावकका रूपमा सरकारले ठोस योजनासहित नागरिकलाई जवाफ दिनुपर्ने बताइन् ।

ताजा खबर

सम्बन्धित खबर