२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

अटिजम भएका बालबालिकाका अभिभावकसँग गहन छलफल

Nada
२०८३ असोज २० गते २०:४३
Shares
अटिजम भएका बालबालिकाका अभिभावकसँग गहन छलफल

काठमाडौं : लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजनामा ‘अटिजमबारे कुरा गरौं’ विषयक विशेष सचेतना तथा घनिभूत छलफल कार्यक्रम सम्पन्न भएको छ ।

ncell

विराटनगर महानगरपालिकाद्वारा सञ्चालित महानगर अटिजम सेवा केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा अटिजम भएका बालबालिकाका आमाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूले दैनिक जीवनमा भोग्नुपरेका अवस्था, परिस्थिति तथा चुनौतीका विषयमा गहन छलफल गरिएको थियो ।

सचेतना कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साह मुख्य व्यक्तित्वका रूपमा सहभागी थिए । उनले अटिजमका लक्षण, बालबालिकाको स्याहारसुसार तथा उनीहरूको सर्वांगीण विकासका विषयमा उपयोगी जानकारी दिएका थिए ।

डा.साहले कार्यक्रममा सहभागी आमाहरूका जिज्ञासा, प्रश्न तथा चिन्ताका विषयमा चिकित्सकीय समाधान र परामर्शसमेत प्रदान गरेका थिए ।

कार्यक्रमका अवसरमा लायन्स क्लब अफ विराटनगर सेन्ट्रलका तर्फबाट सेवा केन्द्रमा रहेका अटिजम भएका बालबालिकाका लागि उपयोगी हुने खेलकुद तथा मनोरञ्जनका सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । खेलकुद सामग्री पाएपछि बालबालिका तथा उनीहरूका अभिभावक उत्साहित भएका थिए ।

क्लबका अध्यक्ष डा. मञ्जिल श्रेष्ठ र सचिव आशिष श्रेष्ठको नेतृत्वमा सम्पन्न कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, वर्तमान पदाधिकारी तथा लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 

अभिभावकलाई हौसला प्रदान गर्नुका साथै अटिजमसम्बन्धी समाजमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम प्रभावकारी र फलदायी रहेको क्लबका अध्यक्ष डा.मञ्जिल श्रेष्ठले बताए ।

सम्बन्धित खबर