विराटनगर : सरकारले वितरण गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा कुष्ठ तथा हात्तिपाइले रोगका बिरामीहरुलाई निःशुल्क उपचार तथा सहज पहुँच नहुँदा कठिनाइपूर्ण दैनिकी गुजार्नुपरेको सरोकारवालाहरुले बताएका छन् ।
विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवसको सन्दर्भमा फेरमेड नेपालको प्राविधिक सहयोगमा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्धारा विराटनगरमा आयोजना गरिएको ‘कुष्ठ तथा हात्तिपाइले प्रभावितहरुको लागि स्वास्थ्य बीमामा सहज पहुँच सम्बन्धी नीति संवाद’ कार्यक्रममा सरोकारवालाहरुले नेपाल सरकारको स्वास्थ्य बीमा नीति अनुसार कुष्ठ तथा हात्तिपाइले प्रभावितहरुका लागि स्वास्थ्य बीमा समायोजन हुन नसक्दा उपचारको पहुँचबाट टाढा रहेको औंल्याए ।
कार्यक्रमकमा बोल्दै स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डा. राधिका थपलियाले सरकारले दिएको निःशुल्क सेवाको बारेमा पर्याप्त जानकारी नपुगेको कारण लक्षित वर्ग अझैपनि सेवाको पहुँचबाट टाढै रहेको बताइन् ।
‘हामीमाझ स्वास्थ्य साक्षरताको निकै कमी छ, सामान्य समस्यादेखि सरकारले के कस्तो काम गरिरहेको छ भन्ने भन्ने विषयमा सामान्य मानिस पनि जानकार हुनु आवश्यक छ,’ सचिव डा. थपलियाले भनिन्, ‘तर स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिलाई नै स्वास्थ्य बीमाको बारेमा जानकारी छैनन् भने उनीहरुले सर्वसाधारणलाई कसरी बुझाउने ?’
उनले राज्यले स्वास्थ्यमा छुट्याएको अर्बौ रकम सदुपयोग हुन नसकेको कुरा सबैले मनन गर्नु आवश्यक भएका समेत बताइन् । व्यक्तिगत र राजनीतिक स्वार्थबाट माथि उढेर सबैले आफ्नो कमजोरी सुधार्दै अगाडि बढ्ने हो भने छोटो समयमै समग्र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुने उनले बताइन् ।
स्वास्थ्य बीमाबाट कस्ता नागरिकले कसरी सेवा पाइरहेका छन् भन्ने बारेमा अस्पतालमा अनुगमन गर्न समेत आवश्यक रहेको उनले बताइन् ।
कार्यक्रमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले उपेक्षित उष्णप्रदेशिय रोगको निवारणको लागि तिनै तहको सरकार र सरोकारवालाहरुको सहकार्यको महत्वपूर्ण भूमिका रहेको औंल्याए ।
कार्यक्रममा प्यानल छलफलको सहजीकरण सञ्चारकर्मी तथा जनस्वास्थ्यविद् कैलाश खाकी श्रेष्ठले गरेका थिए । कार्यक्रममन कुष्ठ तथा हात्तिपाइले रोगका बिरामी तथा प्रभावितहरुले आफुले भोग्नुपरेको समस्याका बारेमा खुलेर बोलेका थिए ।