२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

समाजको विकास र धर्म

ADV
२०८१ असार १४ गते ०६:२५
समाजको विकास र धर्म

–राजन तिमिल्सिना

धार्मिक अन्धविश्वास र रुढीवादमा भरपर्नु भौतिक जगत, मानव समाज र विज्ञानविरुद्धको आक्रमण हो । धर्मलाई गहिरिएर बुझ्यौ भने धर्मभित्र अज्ञानता, भय र आतंक मात्रै भेटिन्छ । धर्ममा सत्यता र सच्चाइ पाइँदैन । धर्मकै कारण संसारमा विखण्डन, विभेद, शोषण, हत्या, हिंसा र युद्ध भइरहेको कुरालाई नकार्न सकिन्न । मानिसले बनाएको मन्दिर, चर्च, मस्जिद, गुम्बा, मूर्ति र तस्विर मानिसभन्दा ठूलो कदापि हुन सक्दैन । निर्जीव ढुङ्गा पूजा गर्नुको सट्टामा गरिबीको हितमा काम गरे समाज बन्नेछ । मन्दिरमा चढाइएको भेटी भगवानको लागि होइन, पुजारीको लागि हो । प्रष्ट हुँदा हुन्छ, यदि भेटी नचढाउने हो भने मन्दिरमा पुजारी बस्दैनन् । 

जबसम्म शिक्षा र चेतनाको विकास हुँदैन तबसम्म धर्मको विस्तार भइरहनेछ । श्रम नगरीकन भ्रामक कुरा गरेर पेट पाल्नु धार्मिक अतिवादीहरूको दिनचर्या हो । तीर्थस्थल र मन्दिरको दर्शन गरेमा मनोकांक्षा पूरा हुन्छ भन्नु कुतर्क मात्रै हो । यदि मन्दिरमा गएर मागेको पूरा हुने भए किन श्रम गर्नु ? 

धर्मले मानिसलाई अन्धो, अतिवादी, अहंकारी, विभेदकारी, दमनकारी, अज्ञानी, दास, पाखण्डी र मूर्ख बनाएको पाउँछौ । जसरी समाजलाई जात र समुदायको नाममा खण्डित गराइएको छ, यसलाई हेर्दा नै हामी धर्मको अवस्था बुझ्न सक्छौँ । हजारौं वर्षदेखि हिन्दु, बौद्ध, इस्लाम, इसाई, सिख, कन्फ्युसियन, फारसी, यहूदी, शिन्तो, ताओ, जैन, रास्ताफेरियन, बहाइ आदि धर्म र उनीहरूका धर्मग्रन्थहरू वेद, पुराण, बाइबल, कुरान, त्रिपिटक, कल्पशास्त्र, तनखा, गुरुग्रन्थ आदिमा उल्लेखित कथाहरू काल्पनिक र आधारहीन देखिन्छन् । विभिन्न धर्मका कट्टरपन्थी पुजारी, पण्डित, पास्टर, लामा, भिक्षु, पोप, मुल्ला, प्रमुख, रब्बी, आयतोल्लाह, मुल्लाह, गुरु, सतगुरुको भूमिका समाजलाई सिर्जनशील बनाउने होइन, पछाडि फर्काउने खालको छ । हजारौं वर्षदेखि ईश्वरको खोजी भैरहेको छ तर, अहिलेसम्म कसैले ईश्वरलाई भेट्टाएको छैन । के यसको जवाफ आउनु पर्दैन ? तर, धार्मिक पाखण्ड र अन्धभक्तहरूले मानिसहरूलाई मूर्ख बनाउन र बर्बर युगमा लैजान धर्मको पासो थापी रहन्छन् ।

चरमपन्थी, अनुयायीहरूको कारण जनतालाई मूर्ख बनाउन र ठग्न सजिलो हुन्छ । यज्ञ, हवन, जप, तप, दान–दक्षिणाद्वारा मनोकांक्षा पूरा हुने र स्वर्ग–नर्कका कुरा देखाएर त्रसित बनाई ठग्ने बनिरहेको छ । धार्मिक गतिविधि फस्टाउनु मानव समाजलाई फाइदा होइन हानी पु¥याएको पाइन्छ । हवनको नाममा खाद्यान्न, ध्यू, तेललाई नष्ट गरी भोको पेटमाथि लात मार्नु, पर्यावरणलाई प्रदुषित पार्नु मानवजाति र प्रकृतिमाथिको कुनै कोणबाट पनि सही हुन सक्दैन । मृत्यु संस्कारमा त्रासदीपूर्ण गरुड पुराण सुनाएर क्रियापुत्रीलाई थप आहत दिनु के सही हुन्छ ?

धार्मिक अतिवादीहरू विज्ञानको विरोध गर्दै विज्ञानले आविश्कार गरेको मोबाइल, क्यामरा, नेट, कम्प्युटर, रेडियो, घडी, चस्मा, फेसबुक, युट्युब आदिको प्रयोग गर्छन् । बिरामी हुँदा मन्दिर, चर्च, मस्जिद, गुम्बा, गिर्जाघर र धामीझाँक्रीकोमा जानुको सट्टामा हस्पिटल गइ मानव अङ्गसमेत प्रत्यारोपण गर्नु धर्मको उलङ्घन र विज्ञानको समर्थन होइन र ? यदि धर्म ठूलो हो भने आफ्ना छोराछोरी गुरुकुल, मदरसा, चर्च, आश्रम, बौद्धबिहारमा पठाउनुको सट्टा स्कुल कलेज किन पठाइरहेका छन् ? यस्ता अन्धभक्त पाखण्डबाट माथि उठ्नैपर्छ । 

धार्मिक कथाहरूमा अल्झनु कदापी सही होइन । त्यसलाई परीक्षण गरिनै पर्छ । आजको शताब्दीमा पनि भौतिक जगत, मानव समाज, प्रकृति र विज्ञानका सामान्य ज्ञान नभएका मानिसको जीवन पशुतुल्य हो । 

ADVADV

सम्बन्धित खबर

Advertise