–कृष्ण बेलबासे
देशको राजनीतिले निकृष्टताको पराकाष्ठा नाघेको छ । यतिबेला राजनीतिलाई सकारात्मकरूपमा हेर्न सकिने अवस्था नै छैन । राजनीति छुद्रता र नीचताको तल्लोस्तरसम्म पुगिसकेको छ । हिजो राजनीतिलाई आदर्श प्रेरित, राष्ट्र र जनसेवामूलक एवम् त्याग र बलिदानीपूर्ण कार्य/विषयको रूपमा हेरिन्थ्यो । तर, अब राजनीति लगानी र योगदान बिना कमाउने धन्दा बन्न पुगेको छ । त्यसका निम्ति राष्ट्र एवम् जनविरोधी, आपराधिक सोचयुक्त, नैतिकताविहीन विदेशी दलालहरू मात्र योग्य पात्र मानिन्छन् । त्यसो हुन सक्यो भने खोक्रो नारा र झुट्टा आश्वासनको भरमा जनताको सोचमा भ्रम पैदा गरेर राजनीतिक कर्तुतहरू जारी राख्न सम्भव हुन्छ ।
हुनत यतिबेला राजनीति मूल्यहीनता विश्वव्यापी अभियान बन्न पुगेको छ । संसदीय प्रणालीको जन्मदाता बेलायत, अध्यक्षात्मक प्रणालीको जन्मदाता अमेरिका र मिश्रित प्रणालीको जन्मदाता फ्रान्सको अवस्था पनि त्यति बिघ्न सन्तोषजनक रहेको पाइँदैन । तापनि राजनीतिक स्तरहीन दक्षीण एशियाली मुलुकहरूको तुलनामा अन्य मुलुकमा अलि कम देख्न पाइन्छ । राजनीतिमा देखापरेको यो दुरावस्थाले अब राजनीतिक व्यवसायीहरूको नियत र व्यवहारमा मात्र नभएर राज्यकै औचित्यता र अस्तित्वमा समेत प्रश्न उठ्न थालिसकेको छ ।
अब यहीँनेर केही प्रश्नहरू उठ्न सक्छन्, नेपालको राजनीतिले यो गति लिनुको कारण के होला ? के अब राजनीतिको यो अवस्थामा सुधार सम्भव छ त ? यदि सम्भव नभए त्यसको परिणाम कस्तो निस्केला र सम्भव भए के–कस्ता उपायहरू अपनाउनु पर्ला ? निश्चय पनि, राजनीतिलाई यो गतिमा पुर्याउने कुरामा पश्चिमाहरूको कथित उत्तरआधुनिकता र नवउदारवादी सोच जस्ता कुराहरू जिम्मेवार रहेका छन् । हुनत पश्चिमाहरूलाई ज्ञान एवम् विज्ञानका प्रणेता एवम् दाता ठान्ने गरिन्छ । यसबारे के कुरा चाहिँ सही हो भने हामीले ज्ञान, विज्ञान र विचार/वादको नाममा यतिबेला जे–जस्ता कुराहरू सिकेका र अनुकरण गरेका छौं, ती सबै पश्चिमा उपज नै हुन् । तर, यथार्थ चाहिँ के हो जस्तो लाग्दछ भने ज्ञानको प्रारम्भिक श्रोत पूर्वीय दर्शन नै रहेछ । पश्चिमाहरूले पूर्वीय दर्शनबाट ज्ञान प्राप्त गरेपछि त्यसभित्रका सकारात्मक पक्षहरूलाई अवलम्बन गर्दै आफ्नो ज्ञानको गतिलाई नयाँ दिशा दिने काम गरे, त्यसभित्रका नकारात्मक/कमजोर पक्षहरूलाई पूर्वीय दर्शनको विशेषता हो भनी प्रचारमा ल्याउने कार्य गरे । पूर्वीय दर्शनका उद्गमस्थल रहेका मुलुकहरूमा पश्चिमाद्वारा सृजित यस किसिमको छलकपटपूर्ण व्यवहारलाई समयमै प्रतिवाद गरेर आफ्नो ज्ञानलाई संरक्षण गर्दै गतिशीलरूपमा अगाडि बढाउने कुराले केही अपवादात्मक घटना बाहेक निरन्तरता पाउन सकेन । बरु उल्टै पहिले मुस्लिम त पछि ईसाइको हस्तक्षेपद्वारा पूर्वीय दर्शनका मूल श्रोतहरूलाई ध्वस्त तुल्याउने कामसँगै गलत व्याख्या र झुट्टा प्रचारबाजीद्वारा दर्शनको औचित्यलाई प्रयोजनहीन सावित गर्ने कार्य गरियो । यस किसिमका कार्यहरूको प्रयोगस्थल मूलरूपमा भारत रह्यो ।
पश्चिमाहरूले पूर्वीय दर्शनलाई फगत धार्मिक श्रोतको रूपमा मात्र प्रमाणित गर्ने कार्य गरे । पश्चिमाहरूले यी सबै कार्यहरू राजनीति र शासकीय हर्कतका बलमा शैक्षिक अवस्था/व्यवस्थामा सुधारको माध्यमद्वारा सम्भव तुल्याए । उनीहरूले पूर्वीय मुलुकहरूको संस्कृतिलाई ध्वस्त तुल्याउँदै यहाँका जनताहरूको मानसिकतासँगै साधन श्रोतहरू माथि कब्जा जमाउन पुगे । फलतः पूर्वीय दर्शनले दुर्गति व्यहोर्दै जानुपर्यो । परिणाम, हिजो सत्कर्म, संस्कृति र नैतिकतालाई ज्ञानका प्रमुख आधार मान्ने पूर्वीय चिन्तकका सन्ततिहरू आज विज्ञ, आधुनिक र उदारवादी बन्ने नाममा आफ्नो कर्म, संस्कृति, नैतिकता र सामाजिक सद्भावलाई लत्याएर लुटेरा, छाडा र अमर्यादित बन्दै पश्चिमाहरूका खुला दलाल बन्न पुगेका छन् । उनीहरूले साम्यवाद, समाजवाद, प्रजातन्त्र र उदारवाद जुनसुकै राग अलापे तापनि त्यो समर्पणवाद बाहेक केही फरक साबित हुन सकेको छैन ।
नेपाली जनता सामु अहिले दुई विकल्प मात्र बाँकी छ । पहिलो, देशभित्र दलीय नेता वा तिनका कार्यकर्ता वा समर्थक बनेर राष्ट्रिय लुटमा सहभागिता जनाउने दोश्रो, त्यसो गर्न सम्भव नभए वा ठिक नलागे देश छाडेर विदेश पलायन हुने । यहीँनेर एउटा मननीय कुरा, देश छाडेर विदेशमा गई बसोबास गर्ने वा त्यहाँको शिक्षा लिएर स्वदेश फर्किई विद्वताको ढोँग प्रस्तुत गर्ने पात्रहरूको ठूलो संख्या देशमा राजनीतिक बलमा लुट कर्म गरेर धनोपार्जन गर्नेका सन्तानहरूको समेत रहेको छ । सोसँगै राष्ट्रिय लुट मच्चाएर आर्जित सम्पत्ति विदेशी बैंकमा जम्मा गर्नेहरूको संख्या पनि कम छैन भन्ने बुझिन्छ । दलायन वा पलायन यी दुवैमध्ये कुनै एक मार्गलाई अवलम्बन नगरी देशमा बसेर जिविका चलाउन चाहनेहरूले आफूलाई असहाय एवम् असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको छ ।
यो सबै लोकतन्त्रको नाममा भइरहेको छ । हुनत, देशमा ब्रह्मलुट मच्चाउनेमा राजनीति गर्नेहरू मात्र नभएर व्यापारी, उद्योगपति र अन्य क्षेत्रका विशिष्ट भनाउँदाहरू समेत छन् । तर, तिनीहरूले आफ्नो लुटकर्मलाई कथित राजनीति कर्मीहरूलाई लोभको जालमा फसाएर त्यसकै बलमा सञ्चालन गर्ने गरेका छन् । यसरी ‘सेवा’ होइन, ‘नाफा’ यतिबेलाको राजनीतिको मूल आदर्श र उद्देश्य हुन पुगेको छ । यो विकृति राजनीतिकर्मीसम्म मात्र सीमित नरहेर प्रशासक, न्यायकर्मी, सुरक्षाकर्मी, मिडियाकर्मी, शिक्षक–प्राध्यापकहरू सम्म पुगेको छ । यसो हुनुको मूल कारण सबै क्षेत्रलाई अति राजनीतिकरण गर्नु नै हो । यी कुराको प्रमाण खोज्न खासै मेहनत गर्नु पर्दैन । यतिबेलाको राजनीतिमा हावी कथित नेता, कार्यकर्ता र तिनका समर्थकहरूको आचरण, जीवनशैली र कार्यशैलीलाई सूक्ष्मरूपमा नियाल्नु पर्याप्त हुनेछ । नपत्याए हेरौं न, यतिबेला कथित संघीय एवम् प्रान्तीय सरकारको गठन, सांसद एवम् राजनीतिक दलका नेता भनाउँदाहरूले सत्ता स्वार्थका निम्ति गर्ने गरेको गठबन्धन राजनीतिले तिनको स्तरहिनता र घटिया व्यवहारको यथार्थ स्वरूपलाई प्रमाणित गरेर देखाउँछ ।
अब यहीँनेर अर्को प्रश्न उभिन सक्दछ ? के देशको राजनीतिको वर्तमान अवस्थामा सुधार सम्भव छ त ? निश्चय पनि, देशको यो अवस्थाका निम्ति समाजलाई भ्रष्टीकृत गरेर विघटित तुल्याउने पश्चिमा शक्तिहरू नै मूल रूपमा जिम्मेवार रहेका पाइन्छन् । उनीहरूले आफ्नो उक्त उद्देश्य पूर्तिका निम्ति सर्वप्रथम पूर्वीय संस्कृतिलाई ध्वस्त तुल्याउने लक्ष्य साँधेका छन् । यसका निम्ति आफूहरूले थोपरेको गलत शिक्षा र विचारलाई गति दिने उनीहरूको लक्ष्य रहेको छ । यो कुरा बुझ्न पहिले त पूर्वीय ज्ञान र दर्शनको बारेमा अध्ययन र जानकारी हुनुपर्दछ । थपरूपमा, यतिबेला विज्ञ, आधुनिक र परिवर्तनकारी बन्ने नाममा पश्चिमाहरूको दाससम्म बन्ने लक्ष्य लिएका कुपात्रहरूको व्यवहारलाई बुझ्नु र लत्याउनु आवश्यक हुन्छ । यसका निम्ति हेरौं न, पश्चिमाहरूले आइएनजिओ, चर्च र गुप्तचर संस्थाहरूको माध्यमबाट नेपालीहरूलाई वैचारिकरूपमा मात्र नभएर व्यवहारिकरूपमा समेत स्तरहीन तुल्याएका छन् । अनि लोकतन्त्रको नाममा लुटतन्त्र थोपरिदिएका छन् । त्यसैले अब राजनीति वा शासन सञ्चालनमा कुनै मूल्य मान्यताको औचित्य छैन । मात्र एउटा मान्यताको अवलम्बन आवश्यक छ, त्यो हो, विदेशीहरू प्रतिको बफादारी । सोको माध्यमबाट उनीहरूले नेपालीहरूलाई आफ्नै देशमा भित्र्याएर प्रत्यक्ष र देशको राजनीति र शासन व्यवस्थामा हस्तक्षेप गरेर अप्रत्यक्ष तवरबाट दास र दलाल तुल्याएका छन् । यस कुराको प्रमाणको निम्ति एकजना पूर्वप्रधानमन्त्री भनिने व्यक्तिले ‘देशको अवस्था यति बिघ्न कमजोर भएको छ कि नेपालको मन्त्री/प्रधानमन्त्रीसँग विदेशी मन्त्री/प्रधानमन्त्री हात मिलाउनसम्म तयार हुँदैनन्’ भनी दिएको अभिव्यक्तिलाई ध्यान दिनु आवश्यक छ । निश्चय पनि, यो कुरा सत्य हो । तर, उनले यसको दोष अरुमाथि थोपरेर मात्र पुग्दैन । यसबारे आफ्ना कर्तुतहरूको जिम्मेवारी लिँदै त्यस्ता गल्तिको निम्ति आमजनता समक्ष क्षमा याचना गर्नुपर्दथ्यो ।
देशको जतिसुकै उच्च पदमा नियुक्त व्यक्ति किन नहोस्, ऊ विदेशी मुलुकको राजदूत, गैरसरकारी संस्था र विदेशी जासूसी संस्थाको प्रमुख/जिम्मेवार सदस्य समक्ष नियमितरूपमा गोडा ढोग्न पुग्ने संस्कार रहेको छ । यसरी आफ्नो देशको राजदूत र जासूसी संस्थाको प्रतिनिधिको गोडा ढोग्ने दास प्रवृत्तिको पात्रसँग मन्त्री/प्रधानमन्त्रीले कसरी हात मिलाउन सक्दछ ? हो, समस्या यहीँनेर छ । एउटा सार्वभौम मुलुकका राजनीतिक दलको नेता/कार्यकर्ता, सरकारको मन्त्री/प्रधानमन्त्री, प्रशासक, सुरक्षाकर्मी, न्यायकर्मी, शिक्षक/प्राध्यापकलगायतका जिम्मेवार व्यक्तिहरू आफ्नो दायित्व र नैतिकतालाई बिर्सेर निहित स्वार्थपूर्तिका निम्ति विदेशीको दलाल बन्न तम्तयार रहने कुसंस्कार/प्रवृत्तिको अन्त्य नभएसम्म देशमा कायम विकृत अवस्थामा सुधार बिल्कुलै सम्भव छैन । जहाँसम्म सुधारको प्रयत्नको कुरा छ, दशकौँसम्म विदेशीको दलाल बनेर फाइदा ओगटेकाहरूको सोच र व्यवहारमा सुधार सम्भव छैन । त्यसैले अब सुधार होइन, विकल्पको आवश्यकता छ । तर विकल्पको कुरा गरिरहँदा के कुरामा ध्यान जानु आवश्यक छ भने अहिलेका राजनीतिक लुटेराहरूबाट आफ्नो स्वार्थ पूरा हुँदासम्म तिनलाई प्रयोग गरिरहने, तिनीहरू विरुद्ध जनअसन्तुष्टि बढ्दै गएमा नयाँ वैकल्पिक शक्तिको निर्माण र प्रयोग गरेर आफ्नो योजनालाई निरन्तरता दिई राख्ने योजना नेपालका दुश्मन/विरोधी शक्तिहरूको रहेको छ । त्यसैले विकल्पसमेत सहज देखिँदैन ।
यदि नेपालीहरू साँच्चै नै राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्दै राष्ट्रिय हितलाई प्रवर्द्धन गर्ने कुराप्रति सचेत र जागरुक छन् भने विदेशीको संरक्षणमा ब्रह्मलुट मच्चाइरहेका राजनीतिलगायतका क्षेत्रमा सक्रिय दलालहरूसँगै विदेशी हस्तक्षेपकारीलाई समेत खेद्ने अभियानमा लाग्नु जरूरी छ ।