काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि खेलाडीको अक्सन यही फागुन १० गते हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बिहीबार प्रेस रिलिज जारी गर्दै तेस्रो संस्करणको अक्सन मिति घोषणा गरेको हो ।
अक्सनमा सहभागी सात टोलीले खेलाडी आबद्ध गर्न बोली लगाउनेछन् । झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोली एनएसएलमा सहभागी छन् । यो सिजन स्पोर्टिङ डी इलाम र बीरगन्ज युनाइटेड बाहिरिएका छन् । अघिल्लो सिजन विराटनगरले पनि बाहिरिएको थियो ।
आयोजकले यस पटक फरक तरिकाले अक्सन गर्ने तयारी गरेको छ । अक्सनमा ए र बी क्याटेगोरीका खेलाडीहरु हुने आयोजकले जनाएको छ । यस्तै सी क्याटेगोरीका खेलाडीका पछि ड्राफ्ट हुनेछ । हरेक लेभलको खेलाडीका लागि अवसर प्रदान गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।
यो सिजनको अक्सनमा ए, बी, सी र डी श्रेणीका खेलाडी हुनेछन् । एउटा टोलीले कम्तिमा २२ र बढीमा २३ खेलाडी राख्न पाउनेछ । एक टोलीले ‘ए’ क्याटोगोरीबाट कम्तीमा तीन खेलाडी लिन पाउने छन् । त्यसमा कम्तीमा एक जना रिटेन्स गर्न पाउने छ । ‘बी’ बाट ६, ‘सी’ बाट चार र ‘डी’ क्याटोगोरीबाट एक खेलाडी लिन पाइने एनएसइएमले जनाएको छ ।
हरेक टोलीले एक रुकी (नव आगन्तुक खेलाडी) राख्न पर्नेछ । यस्तै, ६ विदेशी तथा आइकोनिक खेलाडी राख्न पाइने छ । तर कम्तीमा एक खेलाडी एसियाबाट हुनुपर्नेछ ।