२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

वैदेशिक रोजगारी : तीन वर्षको अवधिमा कपिलवस्तुका १ सय २६ जनाको मृत्यु

ADV
क्षितिज किरण
२०८१ असार १४ गते २१:४९
वैदेशिक रोजगारी : तीन वर्षको अवधिमा कपिलवस्तुका १ सय २६ जनाको मृत्यु

कपिलवस्तु : स्वदेशमा रोजगारीको अभाव र आकर्षक तलबको लोभमा परेर वैदेशिक रोजगारीमा जानेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आर्थिक अवस्था उकास्न भन्दै  वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढ्दै गएको छ ।

रोजगारीमा जानेका संख्या बढेसँगै जोखिम समेत बढेको छ । जोखिम बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छैन । भने अनुसारको काम नपाएको, मृत्युको संख्या र अंगभंग हुनेको संख्या समेत बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा मात्र वैदेशिक रोजगारीमा गएका कपिलवस्तुका ४३ जनाको मृत्यु भएको छ ।

८ जना अंगभंगमा परेका छन् । विगत ३ वर्षमा भने कपिलवस्तुका १ सय २६ जनाको मृत्यु र ३८ जना अंगभंगमा परेका छन् । ३ वर्षमा नेपालका ३ हजार ८ सय ४६ मृत्यु र ७१२ जना अंगभंगमा परेका छन् । 

कपिलवस्तुको तौलिहवामा सुरक्षित आप्रवासन (सामी) ले राखेको पत्रकार अन्तरक्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साझेदारीमा काम गरिरहेको सामीका लुम्बिनी प्रदेश संयोजक जिया उल हकले बताए । 

हालसम्म कपिलवस्तुबाट १ लाख ४ हजार ३६३ जना वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको मात्र हो । नेपालबाट भने गत वर्ष ७ लाख ७१ हजार ३ सय २७ जना विभिन्न मूलकमा वैदेशिक रोजगारीका लागि गएका थिए । गैर कानूनी ढंगले जाने, प्रक्रिया पूरा नगरी वा पर्यटन भिसामा जाने तथा अध्ययन भिसामा जानेहरूको तथ्यांक भने फरक पर्न सक्ने उनले बताए ।

कपिलवस्तुबाट आर्थिक वर्ष ०७९/०८० मा १५ हजार १०१ जना वैदेशिक रोजगारीका लागी गएको सामीका परियोजनाका जिल्ला संयोजक सुभाष रेग्मीले बताए ।

यस्तै चालु आर्थिक वर्षको जेठ महिना भित्र १२ हजार ८८ जनाले श्रम स्वीकृत लिएका छन् । जसमा महिला ४ सय ३२ जना छन् । कपिलवस्तुमा अहिलेसम्म वैदेशिक रोजगारी ठगीका ३ सय ३४ वटा उजुरी परेका छन् । यस्तै चालु आर्थिक वर्षमा १ सय ५३ वटा ठगी सम्बन्धी उजुरी परेका छन् । पीडितलाई १ करोड ९८ लाख ५१ हजार ५ सय क्षतिपूर्ति दिलाइएको छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले स्वदेशमा रोजगारीको अभाव र आर्थिक स्थितिका कारण वैदेशिक रोजगारीमा अहिले युवाहरूको आकर्षण बढेको छ । एजेन्टको भरमा परेर विदेशमा जाँदा समस्या र जोखिम समेत उत्तिकै बढेको उनले बताए । वैदेशिक रोजगारीमा जानु आकर्षण र बाध्यता भए पनि सुरक्षित रूपले जानु पर्ने उनले बताए ।
१७ वर्षमा ७७ लाख बढी वैदेशिक रोजगारीमा
देशभरबाट विदेश जानेको संख्या बढ्दै गएको छ । रोजगारीका लागि जाने मध्ये खाडीमा जानेको संख्या ९३ प्रतिशत बढी छ । २०६३/०६४ सालयता गएको वैशाख मसान्तसम्म ७७ लाख २० हजार ७ सय ८ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । नेपालबाट गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ जना रोजगारीका लागि विदेश गएका थिए । यो संख्या गएको १७ वर्षयताको उच्च संख्या हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ६ लाख ९ हजार ६ सय ९९ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै लुम्बिनी प्रदेशबाट हालसम्म १० लाख ६१ हजार ५६० जना वैदेशिक रोजगारीका लागि गएका छन् । अहिलेसम्म विदेश जानेहरू कुल ९३ प्रतिशत जनसंख्या मलेसिया तथा खाडी मुलुकमा गएका छन् । बाँकी ७ प्रतिशत नागरिक जापान, बहराइन, कोरिया, क्रोएसिया लगायतका देशमा छन् । राष्ट्रको खर्च धान्न, वैदेशिक मुद्रा सञ्चितिमा रेमिट्यान्स प्रमुख स्रोत हो । विदेशबाट पठाएको अधिकांश रकम दैनिक उपभोग्य सामान खरिद गर्नमै गएको तथ्यांकले देखाएको छ ।

विदेशबाट भित्रिएको पैसाको ७२ दशमलव ४० प्रतिशत रकम दैनिक घर खर्चमै गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यस्तै ऋण तिर्न १५ दशमलव ८ प्रतिशत रकम खर्चिने गरेका छन् । अध्ययनका लागि ४ दशमलव ६ प्रतिशत, घरजग्गामा १ दशमलव ९ प्रतिशत रकम खर्च भएको छ । बचत प्रतिशत जम्मा १ दशमलव ९ रहेको छ । देशका ५६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्छन् भने लुम्बिनी प्रदेशका ८९ दशमलव ६ प्रतिशत घरपरिवारले रेमिट्यान्स प्राप्त गर्दछन् । नेपालमा आएको पैसाको अधिकांश रकम घर खर्चमै सकिएको पाइएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise