२०८२ असोज २७ गते सोमवार / Oct 13 , 2025 , Monday
२०८२ असोज २७ गते सोमवार
Ads

एनआरएनएका घटकहरू एकतातर्फ

shivam cement
२०८२ असोज २६ गते ०६:२०
एनआरएनएका घटकहरू एकतातर्फ

काठमाडौं : आफ्ना एजेन्डाहरुमा वैदेशिक रोजगार र श्रमिकका हक अधिकारलाई पनि प्राथमिकतामा राख्दै आएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का केही घटकहरूबीच एकता हुने प्रक्रिया अघि बढेको छ ।

संघको स्थापना दिवसका अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा संस्थापन पक्षका अध्यक्ष डा. बद्री केसीले गत महाधिवेशनका दुई प्रतिस्पर्धी महेश श्रेष्ठ र आरके शर्माबीच भएको छलफल सकारात्मक रहेको उल्लेख गर्दै दुई दिनभित्र एकता घोषणा हुने दाबी गरे ।

केसीले संघको वर्तमान कार्यसमितिको अवधि थप ६ महिना रहने बताउँदै उक्त अवधिभित्र पूर्ण एकता र नयाँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा सुरु गरिएको गैरआवासीय नेपाली अभियान शनिबारबाट २२ वर्ष पूरा भएको छ । संघले विभिन्न मुलुकमा छरिएका नेपालीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमिको सामाजिक तथा आर्थिक विकासमा उपयोग गर्ने उद्देश्य दोहोर्‍याएको छ ।

स्थापना दिवसका अवसरमा संघले आर्थिक तथा सामाजिक क्षेत्रमा लगानी बढाउने र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हित र कल्याणका लागि काम गर्दै आएको जनाएको छ । तर पछिल्ला वर्षहरूमा राजनीतिक दलहरूको प्रभावका कारण संघमा आबद्ध गैरआवासीय नेपालीहरू विभिन्न गुटमा विभाजित हुँदा वैदेशिक रोजगारमा रहेका नेपालीको संरक्षण, लगानी र सामाजिक कार्य प्रभावित भएको संघले स्वीकार गरेको छ ।

अध्यक्ष केसीले संघमा नेपाली राजनीतिको प्रभाव परेको स्वीकार गर्दै अग्रजहरूको अथक प्रयास र समर्पणले बनेको संस्थालाई अब राजनीतिक प्रभावबाट मुक्त गरेर स्थापना कालको उद्देश्यअनुसार अघि बढाउने प्रतिबद्धता जनाए ।

उनका अनुसार संघ नेपाल र विदेशमा रहेका नेपालीका लागि आशाको केन्द्रका रूपमा स्थापित भएको छ । उनले २२ वर्षको अवधिमा संघले ९० भन्दा बढी देशमा औपचारिक सञ्जाल विस्तार गरेको जानकारी दिँदै भने, ‘यो संसारकै अनौठो उदाहरण हो, यति व्यापक रूपमा संगठित अर्को संस्था छैन ।’

केसीले विभिन्न मुलुकमा छरिएका नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्न संघ सफल भएको बताउँदै नेपालको विकासका लागि नवगठित सरकारसँग पनि सहकार्य गर्न तत्पर रहेको बताए ।

उनले भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का कारण देशमा भएको क्षति र नोक्सानीले नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा उक्लिने सम्भावना टरेको बताए । यस्तो अवस्थामा विदेशी लगानी घट्न सक्ने जोखिम रहेकाले गैरआवासीय नेपालीहरूको लगानी अझ महत्वपूर्ण बनेको उनको भनाइ छ ।

केसीले २२ वर्षको अवधिमा गैरआवासीय नेपालीहरूले नेपालका जलविद्युत्, बैंकिङ, पर्यटन, स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा उल्लेख्य लगानी गरेको उल्लेख गरे ।

उनका अनुसार एनआरएन नेपाल डेभलपमेन्ट फन्ड सञ्चालनको अन्तिम चरणमा छ । उक्त कोषमार्फत विदेशमा रहेका ठुला लगानीकर्ता मात्र होइन, साना तथा मझौला लगानीकर्तालाई पनि देशमा लगानी भित्र्याउने प्रयास भइरहेको छ ।

केसीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूको सुरक्षा र हितका लागि संघले प्रभावकारी रूपमा काम गर्दै आएको दाबी पनि गरे । उनले भने, ‘संघ श्रमिकमैत्री बनेको छ । आप्रवासन र वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, रिटर्नी फेडेरेसन नेपाल र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य भइरहेको छ ।’

अध्यक्ष केसीले २२औं स्थापना दिवसको अवसरमा संघ स्थापना कालदेखिका माग र मुद्दाहरू क्रमशः सम्बोधन हुँदै गएको बताए । उनका अनुसार विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने कानुनी बाटो खोल्नु ठुलो उपलब्धि हो । विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न वर्तमान सरकार सकारात्मक रहेको पनि उनले बताए ।

संघले स्थापना दिवसका अवसरमा पशुपतिनाथ र स्वयम्भूमा विशेष पूजाआजासहित विभिन्न सामाजिक कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise