२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

राहदानीको कम कोटाले समस्यामा कामदार

Nada
२०८२ असोज ३० गते ०६:१५
Shares
राहदानीको कम कोटाले समस्यामा कामदार

काठमाडौं : राहदानी विभागले दैनिक पाँच सय मात्रै राहदानीको एप्लिकेसन लिँदा वैदेशिक रोजगारीमा रहेका कामदार समस्यामा पर्न थालेका छन् ।

ncell

कतारको दोहास्थित नेपाली राजदूतावासले सूचना नै जारी गरेर प्राविधिक कारणले राहदानी छपाइको कार्यमा ढिलाइ भएकाले नयाँ वा नवीकरण भएका राहदानी राजदूतावासमा आइपुग्न नसकेको भन्दै नयाँ राहदानी बनाउन र नवीकरणका लागि आवेदन दिएकाहरूले राजदूतावासको वेबसाइट वा फेसबुक पेजमा हेरेर मात्रै सम्पर्क गर्न भनेको छ ।

राहदानी विभागले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा राहदानी विभाग तथा जिल्लास्थित राहदानी शाखामा समेत आक्रमण भई राहदानी बनाउन प्रयोग हुने विद्युतीय उपकरण चोरी, आगजनी तथा तोडफोड भएकाले समग्र राहदानी सेवा प्रभावित भएको भन्दै दैनिक पाँच सय निवेदन लिने गरेको छ ।

विभागले क्षति तथा हराएका, नासिएका, चोरी भएका राहदानीको विवरण संकलन गर्ने कार्य गरिरहेको भन्दै अर्को सूचना नभएसम्म दैनिक पाँच सय वटा एपोइन्टमेन्ट लिन मिल्ने स्लट बनाएको जानकारी दिएको छ । हरेक दिन साँझ ६ बजेबाट राहदानी विभागको वेबसाइटबाट एपोइन्टमेन्ट लिनुपर्नेछ ।

विभागले विगतमा पनि समयमा राहदानी दिन नसकेपछि यस्तै सीमित संख्यामा अनलाइन एप्लिकेसन लिने गरेकोे थियो । उक्त व्यवस्थाबाट इन्टरनेटको पहुँच नभएका दुर्गममा बस्ने वैदेशिक रोजगारमा जाने युवाहरू समस्यामा परेका थिए ।

हाल दैनिक १५ सयको हाराहारीमा राहदानीको माग रहेको छ । तर विभागले पाँच सय वटा मात्रै एप्लिकेसन लिँदा करिब एक हजार जना राहदानीको आवेदन दिने अवसरबाट वञ्चित भएका छन् ।

विभागले राहदानी सेवा पूर्ववत् रुपमा सञ्चालनमा आउन केही समय लाग्ने भएकाले  धैर्यधारण गरेर सहयोग गर्न आग्रह गरेको छ । उता विदेशस्थित नेपाली राजदूतावासमा नयाँ राहदानी बनाउने तथा नवीकरण गर्नेहरूको चाप बढिसकेको बताइएको छ ।

सम्बन्धित खबर