काठमाडौं : बंगलादेशका अधिकारीहरूले संयुक्त अरब इमिरेट्स (युएई)को भिसा पाउनु नेपालको सगरमाथा आरोहणभन्दा सकसपूर्ण बनेको बताएका छन् । बंगलादेशमा राजनीतिक परिवर्तनका लागि गत वर्ष भएको हिंसात्मक आन्दोलनपछि बंगलादेशका नागरिकका लागि युएईले वर्किङ र भिजिट भिसामा प्रतिबन्ध लगाएको छ ।
भदौ अन्तिम साता नेपालमा भएको आगजनी र लुटपाटपछि नेपालका लागि पनि युएईको भिजिट भिसा रोकिएको छ भने वर्किङ भिसामा औपचारिक जानकारीबिना कडिकडाउ र ढिलासुस्ती गरिएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भिसा सहजताका लागि कुटनैतिक पहल गरेको बताए पनि सहज भएको देखिएको छैन ।
युएईमा बंगलादेशी नागरिकका लागि भिसा पाउन सास्ती रहेकोबारे बंगलादेशको द बिजनेस स्ट्यान्डर्डले आइतबार समाचार छापेको छ ।
समाचारमा भनिएको छ, ‘९–१५ अक्टोबरमा अबुधाबीमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको विश्व संरक्षण कांग्रेसमा भाग लिन बंगलादेशको २७ सदस्यीय प्रतिनिधिमण्डलले मुस्किलले भिसा पायो । त्यसका लागि उनीहरूले लगभग दुई महिनासम्म प्रयास गरे । भिसाका लागि उनीहरूले अनगिन्ती कागज बुझाए । ८ अक्टोबरमा उडान थियो । हप्तौंअघि होटल बुकिङ गरेका थिए । तर अक्टोबर ७ मा साँझ ६ बजेसम्म भिसा आएन । त्यसपछि बंगलादेशको परराष्ट्र मन्त्रालयको हस्तक्षेप र उच्चतम स्तरमा अपिलपछि मात्र जहाज छुट्ने बेलामा सरकारी प्रतिनिधिमण्डलको भिसा आयो । भिसा ढिलाइका कारण ६–७ अक्टोबरमा दुबईमा आयोजना गरिएको फोरेक्स एक्सपोमा धेरै बंगलादेशी सहभागीहरूले भाग लिन पाएनन् ।’
भिसा समयमै नआएपछि क्रिकेटर सौम्या सरकारले पनि यस महिनाको सुरुमा टी–२० शृंखला गुमाउनु परेको थियो । भिसा नपाउने यस्ता घटनाहरू चिन्ताजनक भएपनि एक वर्षभन्दा बढी समयदेखि बंगलादेशदेशीहरू सामान्य ठानेर झेल्न अभिसप्त छन् । बंगलादेशी कामदार, व्यापारी र पर्यटकहरूका लागि एक समय भरपर्दो साझेदार रहेको युएईले २०२४ को मध्यदेखि चुपचाप भिसा जारी गर्ने कामलाई लगभग ठप्प बनाएको छ ।
सन् २०२४ को जुलाईमा बंगलादेशमा भएको राजनीतिक उथलपुथलका बीचमा बंगलादेशी कामदारहरू त्यसमा सहभागी भएर विरोध गरेपछि प्रतिबन्धहरू लगाइएका थिए ।
अनौपचारिक भए पनि प्रतिबन्धहरू त्यसबेलादेखि जारी छन् । त्यसबेलादेखि हजारौं बंगलादेशी कामदार, पर्यटक र सरकारी कर्मचारी अलमलमा परेका छन् । चिकित्सक, इन्जिनियर जस्ता सानो संख्यामा उच्च–दक्ष कामदारले मात्रै भिसा पाएका छन् । अदक्ष र अर्धदक्ष कामदारहरू रोकिएका छन् । त्यसले बंगलादेशको रेमिट्यान्स प्रवाहको मेरुदण्ड समस्यामा परेको छ ।
बंगलादेशको जनशक्ति, रोजगार तथा तालिम ब्युरोको तथ्यांक अनुसार बंगलादेशले यस वर्ष सेप्टेम्बरसम्ममा केवल ८ हजार अर्धदक्ष कामदार मात्र युएई पठाएको छ । जबकि अघिल्लो वर्षको पहिलो ६ महिनामा ४७ हजार १ सय ६६ र सन् २०२३ मा ९७ हजार ८ सय २२ अर्धदक्ष कामदार युएई गएका थिए ।
पर्यटक भिसा पूर्ण रूपमा रोकिएका कारण युएईसँगको व्यवसाय ‘ध्वस्त’ भएको आउटबाउन्ड टुर अपरेटरहरूले बताएका छन् । पर्यटक र ट्रान्जिट भिसा अहिले लगभग शून्य छ । श्रम भिसा पहिलेको तुलनामा जम्मा ५ प्रतिशतमा झरेको छ । युएई जाने एयरलाइन्सहरू पनि यात्रु नपाएर तनावमा छन् । कूटनीतिक प्रयासहरू असफल भएको भन्दै बंगलादेशको परराष्ट्र मन्त्रालयले युएईका अधिकारीहरूसँग यो मुद्दामा दबाब दिइरहेको बताएका छन्, तर प्रगति देखिएको छैन । बंगलादेशको परराष्ट्र मन्त्रालयका प्रवक्ता एसएम महबुबुल आलमले प्रत्येक उच्चस्तरीय बैठकमा भिसा समस्या उठाउने बताएका छन् ।
नेपालको अवस्था पनि बंगलादेशको जस्तै हुन थालेको भएपनि वर्तमान सरकारले उपाय निकाल्न ध्यान नदिएको वैदेशिक रोजगार व्यवसायीहरूको गुनासो छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा छ । वर्षौंदेखि कुटनैतिक सेवामा खारिएको दाबी गर्ने परराष्ट्र मन्त्रालयका कर्मचारी समस्या समाधानको छेउटुप्पो पत्ता लगाउन नसकेर रनभुल्ल जस्तो अवस्थामा देखिन्छन् ।