–राजन तिमिल्सिना
छुवाछूतको मनोविज्ञान भनेको जातीय, राजनीतिक, सामाजिक, धार्मिक वा सांस्कृतिक आधारमा अरूलाई ‘शुद्ध’ र ‘अशुद्ध’ भनेर वर्गीकरण गर्ने पूर्वाग्रही सोच र व्यवहार हो, जसले एक सम्प्रदायले अर्को सम्प्रदायलाई निम्न स्तरको ठान्दै भेदभाव र सामाजिक बहिष्कारलाई जायज ठहर्याउँछ ।
यो सोच ऐतिहासिक, सांस्कृतिक परम्परा, शिक्षा र चेतनाको अभावबाट उत्पन्न हुन्छ । छुवाछूत कानुनी समस्या मात्र होइन, यो मानसिकता र सामाजिक संरचनासँग गाँसिएको गहिरो समस्या हो । यसलाई अन्त्य गर्न समानता, सम्मान र समावेशिताको संस्कारलाई समाजमा स्थापित गर्न जरुरी छ ।
‘छुवाछूतमुक्त नेपाल’ बनाउने सपना कानुनी घोषणाले होइन, राजनीतिक संरचना, व्यावहारिक परिवर्तन र सचेत समाज निर्माणले मात्र सम्भव छ ।
छुवाछूत नेपाली समाजको एउटा गहिरो सामाजिक समस्या हो, जुन मुख्यतः हिन्दु जातीय संरचनाको वरिपरि आधारित छ । यो परम्परा जातीय विभाजन र असमानताको चरम रूप हो, जसले ‘उच्च’ जात र ‘तल्लो’ जातबीचको विभाजनलाई गहिरोरूपले संस्थागत गरेको छ । नेपालमा छुवाछूतको अभ्यासले विशेषगरी दलित समुदायमाथि ठूलो राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र मानसिक उत्पीडन गरेको छ ।
छुवाछूत हिन्दु वर्ण व्यवस्थाको उपज हो, जसले समाजलाई ब्राह्मण, क्षत्री, वैश्य र शुद्र ४ वर्गमा विभाजन गरेको थियो । शुद्र वर्ग (दलित)लाई ‘अस्पृश्य’ मान्दै समाजबाट अलग गरियो । दलित समुदायलाई ‘अशुद्ध’ मान्दै मन्दिर प्रवेश, खानेपानीका सार्वजनिक स्रोतहरूको पहुँच, शिक्षालय, सरकारी नोकरी, राजनीतिक सहभागिता र अन्य सामाजिक अवसरहरूबाट बञ्चित गरिएको थियो ।
१० वर्षे ‘जनयुद्ध’को बलमा २०६३ सालमा नेपालले आफूलाई छुवाछूतमुक्त राष्ट्र घोषणा गर्यो र २०७२ सालको संविधानले छुवाछूतलाई अपराधको रूपमा परिभाषित गर्यो । छुवाछूत गर्नेलाई कानुनी सजायको प्रावधान छ तर हात्तीको देखाउने दाँतभन्दा प्रभावकारी बन्न सकेको छैन ।
यद्यपि, कानुनी रूपमा छुवाछूतलाई अन्त्य गरिएको छ । ग्रामीण क्षेत्र विशेषगरी दलित समुदाय अझै सामाजिक बहिष्कार, भेदभाव र हिंसाको शिकार भइरहेको छन् । उनीहरूलाई उच्च जातीय अहंकारवादीको सिकार बनाइरहँदा राज्य निरीह र मूक दर्शक बनिरहेको छ । खानेपानीको धारा प्रयोगमा रोक, सार्वजनिक भोजभतेरमा सहभागी हुन नदिनु, मन्दिर प्रवेशमा रोक जस्ता, स्कुल–कलेज पढ्ने विद्यार्थीलाई कोठा नदिनु, अन्त।जातीय विवाहमाथि हस्तक्षेप गर्नु जस्ता घटनाहरू अझै भइरहेका छन् ।
छुवाछूतका कारण दलित समुदायका सदस्यहरूलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवसरहरूबाट पनि बञ्चित गरिएको छ ।
धेरैजसो दलितहरू गरिबी र श्रम शोषणको ठूलो चक्रमा फसेका छन् । दलित समुदायलाई निम्न वर्गीय नागरिकझैं व्यवहार गरिन्छ । आत्मसम्मान र सामाजिक सशक्तीकरणमा ठूलो प्रभाव परेको छ । शिक्षा, रोजगारी र भूमि स्वामित्वमा पहुँच कम छ । गरिबी र बेरोजगारीको चक्रबाट मुक्त हुन कठिनाइ भइरहेको छ ।
छुवाछूतका कारण मनोवैज्ञानिक उत्पीडन र अपमानित महसुस गरिने घटनाहरू व्यापक बनेका छन् । छुवाछूतप्रतिको पुरानो सोचलाई तोड्न शिक्षा सबैभन्दा प्रभावकारी माध्यम हो । बा(लबालिकादेखि नै समानताको संस्कार विकास गर्नुपर्छ । छुवाछूतसम्बन्धी कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ । दोषीलाई दण्डित गरेर उदाहरणीय बनाउनु आवश्यक र अनिवार्य छ ।
छुवाछूतको अन्त्यका लागि सामुदायिक स्तरमा सचेतना अभियान चलाउनु आवश्यक छ । दलित समुदायको अधिकार सुनिश्चित गर्न उनीहरूको हरेक क्षेत्रमा राजनीतिक प्रतिनिधित्व बलियो गराइनुपर्छ । दलितप्रतिको सामाजिक सुधारका उपायहरूमा सहभोज एक महत्त्वपूर्ण र प्रभावकारी सांस्कृतिक अभ्यासका रूपमा अघि बढ्न सक्ने माध्यम हो । सहभोजले एकता र सामुदायिक भावना बलियो बनाउने मात्र होइन, जात(ीय भेदभाव र छुवाछूतका परम्परागत संरचनालाई तोड्ने स्पष्ट र व्यावहारिक अभ्यास पनि हो ।
सहभोजले जातीय भिन्नतालाई हटाउँदै सबैलाई समान रूपमा व्यवहार गर्ने सन्देश दिन्छ । ‘उच्च’ र ‘तल्लो’ जातबीचको भौतिक दुरीलाई हटाएर समानता स्थापित गर्छ । जातीय कारणले गरिने सार्वजनिक भेदभावलाई चुनौती दिने माध्यम बन्न सक्छ । साझा बसाइ, खानपान र संवादले सामाजिक सुदृढीकरणको वातावरण तयार हुन्छ । सहभोजले पुराना परम्परागत छुवाछूतका सोच र व्यवहारलाई तोड्न सहयोग पुर्याउँछ । सहभागीहरूको मनोवृत्तिमा परिवर्तन ल्याउँदै उनीहरूलाई समावेशी सोचतर्फ लैजान सकिन्छ । सहभोजको आयोजना गर्न राजनीतिक, सामाजिक र सांस्कृतिक नेताहरूले अग्रसरता लिनुपर्छ । सहभोजलाई स्थानीय स्तरबाट सुरु गरेर राष्ट्रिय स्तरसम्म फैलाउन सकिन्छ ।
स्थानीय जातीय र सांस्कृतिक पर्व, चाडपर्व वा अन्य अवसरहरूमा सहभोजलाई समावेश गर्नुपर्छ । विद्यालय, मन्दिर, सामुदायिक भवन जस्ता साझा ठाउँहरूमा सहभोजलाई प्राथमिकता दिन सकिन्छ । सहभोजमा सफल भएका स्थान वा समुदायहरूको कथा प्रचारप्रसार गरिनुपर्छ । धार्मिक गुरुहरू, कलाकारहरू वा समाजसेवीहरूले सहभोजलाई समर्थन गरी उदाहरणीय कार्य गर्न सक्नुपर्छ, जसले छुवाछूतको अन्त्य गर्न र सबैलाई समान अधिकार र सम्मानका साथ व्यवहार गर्न सकारात्मक वातावरण सिर्जना गर्छ ।
यद्यपि, यसको प्रभावकारिता केवल आयोजनामा होइन, त्यसले ल्याउने सामाजिक, सांस्कृतिक र मानसिक परिवर्तनमा निर्भर हुन्छ । सहभोज केवल खाना खाने क्रिया होइन, यो जातीय समानताका लागि एक सशक्त क्रान्तिकारी अभ्यास पनि हो ।