२०८२ भदौ २२ गते आइतवार / Sep 07 , 2025 , Sunday
२०८२ भदौ २२ गते आइतवार
Ads

कतारमा मनाइयो गौरा पर्व

shivam cement
तिलु शर्मा पौडेल
२०८२ भदौ २२ गते १९:०८
कतारमा मनाइयो गौरा पर्व

दोहा, कतार : आफ्नो मौलिक परम्परामा रहेर कतारवासी सुदूरपश्मेलीले आफ्नो महान् चाड गौरा पर्व (उज्याली) भव्य रूपमा मनाएका छन् । शुक्रवारका दिन अलत्तियास्थित फूलबारी होटेलको सभा हलमा नेपालबाट आमन्त्रित कलाकार सहित कतारमा रहेका दर्जनौं कलाकारहरूको सांगीतिक प्रस्तुतिबीच गौरा मनाइएको हो ।

सुदूरपश्चिमीले नेपाली समाज कतारको आयोजनामा आफ्नो दशौं वार्षिकोत्सवसहित सम्पन्न कार्यक्रममा नेपालबाट आमन्त्रित गायकद्वय महेशकुमार औजी र उमा शंकर जोशीले बेजोड सांगीतिक प्रस्तुति दिए । गायक जोशीले 'मेरी मायाले', 'देउडा गीत', 'सबैको माया बोकी'लगायत आधा दर्जन गीतमा आफ्ना प्रस्तुति राखे । त्यस्तै अर्का गायक औजीले 'कलेजी कटयाउने माया', 'ए मेरी निर्मला', 'छलिया बजाम नाच छमछम', 'घुम्टो ओढी लाज मानेकी', 'साली'लगायतका गीतहरूमा बेजोड प्रस्तुति दिए । उनको प्रस्तुतिमा दर्शकहरू मिलेर गोलो घेरा बनाएर मज्जैले देउडा खेलेका थिए ।

उनीहरूसँगै कतारमा रहेका एक दर्जन कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिए । कार्यक्रममा गौरा माताको मूर्ति विधिवत रूपमा भित्र्याइएको थियो । सुदूरपश्चिमको विशेष पहिचान र मौलिकता बोकेको छलिया हुड्केली नृत्यले कार्यक्रममा रौनकता प्रदान गरेको थियो । बाल कलाकार अनुराधा खत्रीले स्वागत नृत्य राखेको कार्यक्रम समाजका अध्यक्ष गोरख चन्द ठकुरीको सभा अध्यक्षता तथा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कतारमा स्थापित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसहित सयौं दर्शकहरूको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख अतिथि पौडेलले नेपालकै महत्त्वपूर्ण पर्व कला धर्म संस्कृति बोकेको गौरा पर्व कतारमा पनि मनाउन पाउँदा आफूलाई खुसी लागेको बताए । उनले गौराले स्थानीय संस्कृतिलाई सदैव उजागर गर्ने र अनेकतामा एकताको समेत सन्देश फैलाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू, कार्यक्रमका सहयोगी तथा दाताहरू, समाजका विशिष्ट व्यक्तित्व, कलाकार तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष चन्दले सामाजिक एकता र सद्भावको महत्त्वपूर्ण अर्थ बोकेको यो पर्वले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै कार्यक्रमलाई सौहादपुर्ण तथा भव्य रूपमा सम्पन्न गर्न साथ सहयोग गर्ने सबैलाई धन्यवाद तथा आभार व्यक्त गरे । कार्यक्रमको सहजीकरण पुष्कर साउदले गरेका थिए भने स्वागत मन्तव्य समाजका कोषाध्यक्ष विष्णु भट्टले राखेका थिए ।

गौरा पर्व र यसको धार्मिक महत्व

गौरा सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ(आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा बिरुँडा अर्थात् पाँच थरीका गेडागुडी भिजाउने गर्छन् । गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजा अर्चनामा बिरुँडालाई  प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुँडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौरा घरमा भित्र्याउँछन् ।

धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजाआजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू  गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इस्ट र कुल देवता प्रसन्न हुने जनविश्वास छ । गौरा पर्व पहिला पहिला कर्णाली, सुदूरपश्चिम प्रदेशमा मनाइने भएता पनि अहिले त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरू बसाइँ सराइ  गरेर वा कामको सिलसिलामा पुगेका स्वदेशका सहरहरू तथा विदेशमा पनि धुमधामसँग मनाउने गरेको पाइन्छ ।

ADV

सम्बन्धित खबर

Advertise