–रत्न प्रजापति
हिजोका दिनमा त्याग र बलिदानको राजनीति हुन्थ्यो । अहिले चाहिँ स्वार्थ र आर्थिक लाभको राजनीति हुन्छ । राजनीतिमा लागेपछि पद, पावर र पैसा आदि सबथोक मिल्छ भनेरै मान्छेहरू राजनीतिमा लाग्छन् । त्यसैले राजनीतिको पर्याय पद, पावर र पैसा भएका छन् । यी ३ वटा चिज पाएपछि अथवा भएपछि प्रभावशाली नेतामा गनिन्छ ।
अहिले प्रमुख राजनीतिक दलका सबै शीर्ष नेताहरू प्रभावशाली बनेका छन् । ती प्रभावशाली नेताहरूको आर्थिक र सामाजिक हैसियत देखेर छक्क मात्र होइन, तीन छक्कै पर्नुपर्ने अवस्था छ । कुनै पेसा व्यवसाय नभएका नेताहरूको अकल्पनीय आर्थिक हैसियत चाहिँ कसरी बन्यो ?
उपर्युक्त प्रश्नको सहज उत्तर हो– भ्रष्टाचार । भ्रष्टाचार गरेर नै देशका नेता र कर्मचारीको आर्थिक हैसियत पत्यारै गर्न नसकिनेगरी चुलिएको हो । सधैं भ्रष्टाचारमा शून्य सहनशीलता, सुशासन र समृद्धिको भाषण दिने नेताहरू नै कर्मचारीतन्त्रसँगको साँठगाँठमा भ्रष्टाचारमा चुर्लुम्म डुबेकाले मुलुक संसारभरका धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको छ । मुलुक संसारभरका बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्नु, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नमा राज्यका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका आदि ३ वटै अंग असफल हुनुको परिणाम हो ।
भ्रष्टाचार र सुशासनको निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक, २०२४ अनुसार नेपालले कुल १०० अंकमा ३४ अंक मात्र प्राप्त गरेको छ । सर्वेक्षणमा समेटिएका १८० देशमा नेपाल १०७औं स्थानमा परेको छ । यसले नेपालमा धेरै भ्रष्टाचार हुने गरेको जनाउँछ ।
विदेशबाट ऋण लिएर पनि भ्रष्टाचार गर्ने प्रवृत्तिले एकातिर सर्वसाधारणको शिरमा ऋणको भार थोपरिएको छ भने अर्कातिर भ्रष्टाचारकै कारण देशको छवि धमिलिएको छ । नियामक निकाय गतिलो नहुँदा भ्रष्टाचार मौलाएको र लोकतान्त्रिक मुलुक भ्रष्टतान्त्रिक बन्दै गएको विज्ञहरूको विश्लेषण छ ।
एउटा सामान्य मान्छेको मनमा उठ्ने प्रश्न– जिन्दगीभर कृषि वा व्यापार–व्यवसायमा खट्नेको भन्दा राजनीतिमा लाग्नेको आर्थिक हैसियत कसरी उच्च बन्छ ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि पनि यो प्रश्न एउटा महान चुनौती बनेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग साँच्चिकै अधिकार सम्पन्न छ, शक्तिशाली र निष्पक्ष छ भने कुनै पेसा–व्यवसाय नै नगरी यसरी उच्च आर्थिक हैसियत बनाउनेमाथि अविलम्ब छानबिन हुनुपर्छ भन्ने जनताको माग हो ।
यसरी बिनालगानी अकूत सम्पत्ति जोड्ने जोसुकैमाथि छानबिन हुनुपर्छ । यस्तो छानबिन र कारबाही गरी तिनलाई दण्डित गरे मात्र भ्रष्टाचारबाट पीडित आमजनताले राहत पाउँछन् र उनीहरूले सार्वजनिक रूपमा खुसी मनाउने दिन आउँछ ।
भ्रष्टाचारमा नेता र कर्मचारी एकअर्काका परिपूरक बनेका छन् । आफूले खाई नखाई कर तिर्ने सेवाग्राही जनतालाई सास्ती दिँदा रमाउने कर्मचारी र तिनै कर्मचारीलाई खुसी पारेर सेवाग्राही जनतालाई दुखी बनाउने नेताहरूका कारण देशमा विकासभन्दा भ्रष्टाचार मौलाएको छ । सहमतिमै पालैपालो सरकार चलाउने पद्धतिको (कु)परम्पराले गर्दा भ्रष्टाचारले थप मौलाउने अवसर पाएको छ ।
पछिल्लो समय नेपाली राजनीतिमा दलीय गठबन्धन बनाई आलोपालो सरकार चलाउने सहमति हुने गरेको छ । वर्तमान सरकार यस्तै सहमतिमा बनेको हो । यद्यपि, सरकार बनेको केही महिनामै त्यो गठबन्धनमा खटपट सुरु भइसकेको छ । सत्ताकै लागि यो गठबन्धन अझै टिक्न पनि सक्छ र सत्ताकै लागि यो गठबन्धन छिट्टै टुट्न पनि सक्छ । फेरि नयाँ सरकार बन्ने छ र सरकार चल्ने छ । सरकार चल्ने छ के भन्नु, खराब राजनीति चल्ने छ, जसबाट आमनेपाली जनताले फेरि उस्तैगरी प्रताडित हुनुपर्ने छ ।
सरकार चलाउने व्यक्ति फेरिए पनि प्रवृत्ति उही नै हुन्छ । सरकारमा बस्नेहरूले जनताका पिर मर्कालाई भन्दा आफ्नै स्वार्थलाई बढी महत्त्व दिने गरेपछि जनता प्रताडित हुने गर्छन् । निराश हुने गर्छन् ।
सरकार फेरिएसँगै सरकारको नीति फेरिन्छ । सरकारको निर्देशन फेरिन्छ । सरकारको निर्देशन फेरिएसँगै सरकारको निर्देशनमा चल्ने कर्मचारीतन्त्रको कार्यशैली फेरिन्छ । राजनीतिक दलको छत्रछायामा साँढे पल्टेका ट्रेड युनियनहरूले आफ्नो दलको सरकार बन्नेबित्तिकै कामभन्दा बढी दादागिरी गरेर सेवाग्राही जनतालाई सताउँछन् । सेवालाई चुस्त दुरुस्त बनाउनुभन्दा अतिरिक्त आयका छिद्रहरूलाई बलियो बनाउँछन् । ठूला आयोजनाहरूलाई कमाइको माध्यम बनाउँछन् ।
यसरी आलोपालो सरकार चलाउने पद्धति आलोपालो कमाउने माध्यम मात्र बन्छ । सरकारमा बस्ने र सरकारलाई सघाउने कर्मचारी मात्र पोषित हुने र आमजनता आर्थिक रूपमा शोषित हुनुपर्ने अवस्थाले अब लामो त्याग र संघर्षपछि प्राप्त उपलब्धिप्रति जनताको विश्वास गुम्ने खतरा बढेको छ । लोकतन्त्रको राग अलाप्नेहरूले नै लोकतन्त्रको उपहास गरिरहेका छन् । जनताले पनि लोकतन्त्रप्रति व्यंग्य प्रहार गर्न थालेका छन् । कटाक्ष गर्न थालेका छन् । लोकतन्त्रको उपहास भइरहेको छ ।
सरकारको कार्यशैलीकै कारण संघीयताप्रति पटकपटक प्रश्न चिह्न उठाउने गरिएको छ । प्रदेश सरकारको आवश्यकताप्रति प्रश्न उठाउने गरिएको छ । सरकारका हरेक नीति र निर्णय दलीय स्वार्थले अभिप्रेरित हुने गरेकाले आर्थिक विकासले भन्दा आर्थिक विचलनले प्रश्रय पाउँदै आएको छ । कुरा विकासको गर्ने तर काम चाहिँ विनाशको गर्ने परिपाटीले गर्दा ‘न हाँसको चाल, न कुखुराको चाल’ भनेजस्तो भएको छ विकासको गति ।
प्रगतिभन्दा दुर्गतिका संकेतहरू सामुन्ने देखापर्दै छन् । तर, सरकारी तथ्यांकमा प्रगतिको ग्राफ माथि चढेको देखाएर जनतालाई झुक्क्याउने प्रयास हरेक सरकारले गर्दै आएको छ । त्यही मिथ्यांकलाई हेरेर देशले प्रगति गरेको भ्रम छरिरहेका छन् हाम्रा नेताहरू । आफ्ना कमजोरी लुकाएर केही उपलब्धिलाई बढाइचढाइ गर्ने प्रवृत्ति जुनसुकै पार्टीको सरकारमा छ ।
सरकार र नेताहरूको गैरजिम्मेवार कार्यशैलीबाट आजित नेपाली जनताले अब नयाँ परिवर्तनको खाँचो महसुस गरिरहेका छन् । पछिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो विलकुलै नयाँ राजनीतिक पार्टीका युवा नेताप्रति मतदाताको आशा र अपेक्षा बढ्नु यही परिवर्तनको चाहनाको परिणति हो । सचेत नागरिकले परिवर्तन र विकल्पको खोजी निरन्तर गरिरहन्छन् ।
सधैं सरकारको वरिपरि घुम्ने र सरकारकै वरिपरि रम्ने कर्मचारीतन्त्र अनि कर्मचारीतन्त्रलाई खुसी पारेर सरकार सफल भएको भ्रम फैलाउने सरकारी कार्यशैलीले गर्दा जनता आजित छन् । नेता र कर्मचारीको मिलेमतोमा मौलाएको आर्थिक बेथितिले गर्दा आमजनतामा निराशा मात्र बढेको छ । आशाको संचार गर्ने व्यवस्था र पद्धतिको विकासमा देखाइएको उदासीनताले लोकतन्त्रप्रति नै वितृष्णा बढाइरहेको छ । के यही हो लोकतन्त्र ? अथवा लोकतन्त्रमा यस्तै हुन्छ ? भन्ने प्रश्नमा लोकतन्त्रको वितृष्णा झल्किन्छ ।
मुलुकमा सुशासन र गरिखाने अवसर नपाउँदा युवा पुस्ताले देशमा आफ्नो भविष्य देख्नै छाडिसकेका छन् । स्वावलम्बी र स्वाभिमानी युवा पुस्ता देशमा टिक्नै नसक्ने भइसकेका छन् । नेता, नीति निर्माता र सरकार कसैप्रति पनि युवा पुस्ताले विश्वास र भरोसा गर्न छाडिसकेका छन् । राजनीति र नेताका कुरा सुन्नेबित्तिकै आक्रोशित बन्छन् अहिलेका युवा ।
देशका नेता र राजनीति केहीप्रति पनि विश्वास र भरोसा छैन युवालाई । देशप्रति विश्वास र भरोसा टुटेका कारण महात्त्वाकांक्षी युवा पुस्ता उज्ज्वल भविष्यको सपना साँच्दै अवसरको खोजीमा बिदेसिन लालायित बनिरहेका छन् । देश छाड्नेहरूको संख्यामा निरन्तर वृद्धि हुनुको कारण युवा पुस्ताले देशमा आफ्नो भविष्य नदेख्नु नै हो । यस्तो स्थिति उत्पन्न हुनुको मूल कारण बेथितिपूर्ण राजनीति र त्यही बेथितिपूर्ण राजनीतिका कारण उत्पन्न निराशा र भय हो ।
हस्तक्षेप र गैरजिम्मेवारीको राजनीति, सुस्त र भ्रष्ट कर्मचारीतन्त्र, नाफाखोर निजी क्षेत्र र निर्विवाद बन्न नसकेको न्यायको मन्दिरले गर्दा जनताले उपभोग गर्ने नुन र सुनदेखि कानुनसम्म जताततै बेथिति मौलाएको छ । अनि, यही बेथितिले जनतामा निराशा र वितृष्णा बढाएको छ ।
युवा पलायन यही निराशा र वितृष्णाको परिणाम हो । अब यस्तो निराशा र वितृष्णाको अन्त्यका लागि फेरि अर्को परिवर्तनको खाँचो महसुस भइरहेको छ । वर्तमान युवा पुस्ता त्यही नयाँ परिवर्तनको पर्खाइमा छन् । यस्तो लाग्छ, यो समय पनि नेपालमा नयाँ परिवर्तनको पर्खाइमा छ ।