२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

‘४०० बढी व्यवसायीको भविष्य खतरामा परेपछि निर्वाचन रोक्नुपर्‍यो’

draupadi film
२०८१ फागुन ४ गते ०६:२५
‘४०० बढी व्यवसायीको भविष्य खतरामा परेपछि निर्वाचन रोक्नुपर्‍यो’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत २ फागुनका लागि तोकिएको निर्वाचनका लागि व्यवसायीले उम्मेदवार घोषणाका लागि मञ्च सजाउँदै गर्दा खगोल ओभरसिज प्रा. लि.का संचालकसमेत रहेका संघका पूर्वअध्यक्ष तथा पूर्वसंयोजक विमलप्रसाद ढकाल निर्वाचनका लागि तोकिएको मिति व्यवसायीको हितमा नभएको भन्दै त्यसलाई रोक्न संघलाई निवेदन लेखिरहेका थिए ।

उनी आफूले मात्र निवेदन लेखेनन्, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, संघका पूर्व प्रथम उपाध्यक्ष तथा एसोसिएसनका पूर्वअध्यक्ष कुमुद खनाल, एसोसिएसनका पूर्वकार्यबाहक अध्यक्ष तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठलाई पनि त्यसमा सहमत गराएर संघमा लिखित निवेदन दर्ता गराउँदै  निर्वाचन र साधारणसभाको मिति परिवर्तनको माग गरे ।

संघले सोहीअनुसार करिब ४ महिनापछि  स्थापना दिवसको अवसर पारेर आगामी १७ असारमा नयाँ कार्यसमितिको निर्वाचन गराउने उद्देश्यसहित साधारणसभाको नयाँ मिति तोक्ने निर्णय गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी दियो ।

संघको उक्त कदमविरुद्ध एसोसिएसनसहित वैदेशिक रोजगार क्षेत्रका ८ वटा संस्थामा आबद्ध व्यवसायी काठमाडौंका प्रमुख जिल्ला अधिकारी समक्ष पुगेका छन् ।

संघका पूर्वअध्यक्ष ढकाल भने संख्या सय समस्याको समाधान नभएसम्म अहिले चुनाव गर्नुको कुनै अर्थ नरहने र संसद्मा पुगेको संख्या सयसम्बन्धी विधेयक अलमलिए ४०० बढी व्यवसायीले पेसाबाट हात धुनुपर्ने दाबी गर्छन् । प्रस्तुत छ, संघका पूर्वअध्यक्ष ढकालसँग मध्यान्ह दैनिकका रेशमराज पौडेलले संघको साधारणसभासहित वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विषयमा गरेको कुराकानीको सम्पादित अंश :

२ वर्षपछि हुन लागेको कार्यसमिति निर्वाचनमा आमव्यवसायी उत्साहका साथ सक्रिय भएको अवस्थामा मुख्यतः तपाईंले अग्रसरता लिएर निर्वाचनको मिति सार्न लगाउनुभयो, किन ? 

वैदेशिक रोजगार क्षेत्रमा विगत केही समयदेखि महत्त्वपूर्ण मुद्दाहरूले व्यवसाय नै अनिश्चित भई सदैव त्रासपूर्ण अवस्थामा व्यवसाय गर्नुपरेको छ । हाल विशेषगरी संख्या सयको बाध्यता हटाएर सधैंका लागि समस्या समाधान गर्न संसद्मा विचाराधीन अवस्थामा रहेको वैदेशिक रोजगार ऐनको संशोधन विधेयक पारित गराउन भूमिका खेल्नुपर्ने बाध्यात्मक अवस्था छ । समय अति नै कम छ । छोटो समयमा काम गर्न सकिएन भने साढे ४०० बढी व्यवसायीको लाइसेन्स नै जाने र जिन्दगीभर गरेको पेसा व्यवसायबाट सधैंका लागि हात धुनुपर्ने खतरा छ । 

संघको साधारणसभाका लागि साढे ८०० म्यानपावर कम्पनी संघमा दर्ता भएका छन् । तीमध्ये ४०० बढी मलेसिया कामदार पठाउने कम्पनी छन् । तर, मलेसियाले गत मे महिनादेखि नयाँ कामदारको एप्रुभल रोकेको छ ।

चालू आर्थिक वर्ष नसकिँदै संख्या सय खारेज गर्ने वैदेशिक रोजगार ऐनको प्रावधान पारित गराउन सके ठूलो उपलब्धि हुने छ । संख्या सयको विषय अघिल्ला वर्ष अन्तिम पटकका लागि भन्ने भाषा नै प्रयोग गरेर निर्णय आएको छ । अघिल्ला वर्षको जस्तो यस पटक पनि मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउने आदेश जारी गरेर लाइसेन्स नवीकरण भइहाल्छ भनेर ढुक्कसँग बस्ने अवस्था छैन । संख्या सय खारेज गर्ने विधेयक हाल कानुन समितिमा छ । यही हिउँदे अधिवेशनमा त्यसलाई पारित गराउन सकिएन भने बजेट अधिवेशनमा त्यसलाई पारित गराउन सम्भव देखिँदैन ।

वैदेशिक रोजगार क्षेत्रमा क्रियाशील अधिकांश संस्था र व्यवसायी संघ अविच्छिन्न उत्तराधिकारवाला संस्था हुन् । व्यवसायीको ताजा जनादेशबाट आउने नेतृत्व थप सशक्त हुने भएकाले पुरानोले नै प्रभावकारी रूपमा काम गर्छ भन्ने उचित होइन भन्ने तर्क पनि छ नि ?

म एक पटक अध्यक्ष र एक पटक संयोजक भएर संघलाई नेतृत्व दिएको व्यवसायी हुँ । अहिलेको माहोलमा निर्वाचनले बलियो नेतृत्व होइन, एकआपसमा अलमलिएको र दशतिर मुख फर्केको कार्यसमिति आउने निश्चित देखियो । केही व्यक्तिका लागि संख्या सयको समस्याभन्दा आफूले पद प्राप्त गर्ने लालसा होला तर सयौं व्यवसायीहरू संख्या सयको समस्या सधैंका लागि समाधान होस् भन्ने चाहन्छन् ।

समाधानको नजिक पुगेको यो विषय कुनै कारणले पनि नबिथोलियोस् र सबै व्यवसायी साथीहरूले बिनातनाव सहज तरिकाले काम गर्न पाऊन् भन्ने हाम्रो धारणा हो । उचित नेतृत्व नहुँदा व्यवसायी निस्सास्सिएको, कुनै निकास नभएको जस्तो अवस्थामा पुग्छन् । आम वैदेशिक रोजगार व्यवसायीलाई संघमा को नेतृत्वमा जान्छ भन्ने भन्दा पनि आफ्नो इजाजतपत्र नवीकरण हुने र व्यवसाय गर्ने सुनिश्चित वातावरणको खाँचो छ ।

अहिलेको राजनीतिक परिवेश, सम्पर्क, सम्बन्ध आदि कारणले पनि समस्या समाधानका लागि यही नेतृत्वले काम गर्न सक्छ । भवन खरिद गरेर कार्यसमितिले एकखालको परिपक्वता पनि देखाएको छ । त्यसैले वर्तमान कार्यसमितिमाथि भरोसा गर्न सकिन्छ । 

संघका वर्तमान अध्यक्ष, कार्यसमिति मूलतः सेवा शुल्क परिमार्जन, मागपत्र प्रमाणीकरणको समस्या समाधान, व्यवसायीविरोधी ऐेन, कानुन खारेजी र भवन निर्माणको चुनावी प्रतिबद्धतामा निर्वाचित भएका हुन् । बल्लतल्ल भवन खरिद भयो, त्यो पनि पूरै टुंगिएको छैन । यस्तो अवस्थामा वर्तमान कार्यसमितिमाथि तपाईंको यतिधेरै भरोसाको आधार के हो ?

संघले ठूलै रकम व्यवस्थापन गरेर भवन त खरिद गर्‍यो नि ! यो यस क्षेत्रका लागि ठूलो उपलब्धि हो । फ्रि भिसा र फ्रि टिकटको अव्यावहारिक निर्णय पनि सच्याउनुपर्ने अर्को विषय रहेको छ । मागपत्र प्रमाणीकरण, व्यवसायी भलाइ कोष, सेवा शुल्क परिमार्जन जस्ता नीतिगत र व्यावहारिक विभिन्न समस्या छन् । कतिपय सुधारका काम संघ आफैंले गर्न सक्ने होइन, संघका पनि सीमा छन् । संघ नेतृत्वले निःस्वार्थ रूपमा काम गरिरहेको छ ।

कुनै नचाहिने नराम्रो काम गरेको छैन । सबै व्यवसायीहरूको साथ, सहयोग र समर्थनमा संघको नेतृत्वले काम गर्न सक्छ भन्ने मेरो विश्वास छ । नेपाली श्रमिकहरूका लागि आकर्षक मानिएका युरोपेली गन्तव्य मुलुकहरूको मागपत्र प्रमाणीकरमा कूटनीतिक नियोगहरूमा चरम उदासीनता छ ।

त्यस्तै, वैदेशिक रोजगार विभागले परीक्षणका नाममा लागू गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा रहेका झन्झटको सुधार जस्ता अनगिन्ती समस्याभित्र वैदेशिक रोजगार जकडिएको छ । यी समस्या समाधान नगरेसम्म वैदेशिक रोजगार अघि बढ्न सक्दैन । समस्या थाँती राखेर कामदारहरू पनि सुरक्षित हुँदैनन् । यस्ता विषयमा पनि ध्यान दिँदै संघ अगाडि बढ्नुपर्छ । यी समस्या समाधानका लागि संघले निरन्तर प्रयास गरिरहेको देखिन्छ ।

निर्वाचन सार्ने सन्दर्भमा तपाईंमाथि खासगरी नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आबद्ध व्यवसायीले पूर्वअध्यक्ष भएर एसोसिएसनलाई एकताबद्ध गराउनेभन्दा भाँड्ने र आफ्नो स्वार्थपूर्तिका लागि खेल्ने गरेको आरोप लगाएका छन्, यसमा के भन्नुहुन्छ ?

एसोसिएसन नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा क्रियाशील छ । यस संस्थाको स्थापनादेखि म निरन्तर क्रियाशील छु । एसोसिएसनको अहित हुनेगरी मैले कुनै काम गरेको पनि छैन, गर्ने कुरा पनि आउँदैन । मेराविरुद्ध कसैले कुण्ठा पालेको छ, आधारहीन आरोप लगाउँदै हिँड्नेका सम्बन्धमा मेरो केही भन्नु छैन बरु पछिल्ला दिनमा एसोसिएसनमा रहेका साथीहरूले एसोसिएसनको उद्देश्यविपरीत काम गरेर असन्तुष्टिलाई बढाउने काम गर्नुभएको छ ।

एसोसिएसन नेतृत्वले के गल्ती गर्‍यो ?

एसोसिएसनको स्थापनादेखिका केही निश्चित आदर्श र उद्देश्य छन् । नेपाल विद्यार्थी संघ र तरुण दलमा काम गरेर खारिएर इतिहास बनाएर आएका धेरै व्यवसायी साथीहरू हुनुहुन्छ । हाल नेतृत्वमा आएका साथीहरू निर्वाचनको पद्धतिअनुसार नै आउनुभएको हो । त्यसलाई हामी अन्यथा भन्दैनौं, स्वीकार्छौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा क्रियाशील यो संस्थालाई हाल नेतृत्व दिएका साथीहरूको विगत के हो ? कहिलेदेखि कहाँ कसरी काम गर्नुभयो ? राजनीतिक दलको शुभेच्छुक संस्थाले आफ्नो आदर्श र दायरा सम्झिनुपर्छ । विगतमा संस्थाका लागि त्याग गर्ने अहिले कहाँ छन् ? त्यो सम्झनुपर्दैन ? अहिले प्राविधिक रूपमा नेतृत्वमा आएँ, म नै सर्वेसर्वा हुँ, यसरी नै अगाडि बढ्दै गएँ भने छिट्टै पार्टीको सभापति पनि हुन सक्छु भनेर केही साथीहरूले नसुहाउँदा व्यवहार देखाउनुभएको छ । नेपाली कांग्रेसमा कुनै पनि शुभेच्छुक संस्थाको निर्वाचन हुँदा वा उम्मेदवार तोक्दा पार्टीको आधिकारिक प्रतिनिधिले तोक्ने गर्छ ।

म संघको अध्यक्षको उम्मेदवार हुँदा पार्टीले समन्वय गर्न चिठ्ठी नै पठाएको हो । खोइ, अहिले चिठ्ठी कहाँ छ ? कोठामा बसेर मध्यरातमा हतारहतार निर्णय गर्नुपर्ने के बाध्यता थियो ? साथीहरूले किन यस्तो कमजोरी देखाउनुभयो ? उहाँहरूको पार्टी सदस्यता र क्रियाशील सदस्यता कहिलेको हो ? त्यो खोजी हुन्छ, पार्टीले खोज्छ ।

लोकतान्त्रिक एसोसिएसनको निर्वाचनमा आएका प्रतिनिधिहरूको पृष्ठभूमि पनि प्रश्नको घेरामा छ । यसमा पार्टीले पनि समयमै ध्यान दिएर छानबिन गर्नुपर्ने देखिएको छ । यसमा व्यापक छलफल नगरी अगाडि बढेमा संस्थाले सही तरिकाबाट स्थापनाकालको उद्देश्यअनुसारको काम गर्न सक्दैन, संस्था नै दुर्घटनामा पर्न सक्छ । एक ठाउँमा बस्दा हामी वैदेशिक रोजगार क्षेत्रको सबैभन्दा ठूलो शक्ति हौं । सबैलाई समेटेर सही निर्णय हुन नसक्नुमा केही अग्रज व्यवसायीहरू पनि जिम्मेवार हुनुहुन्छ । सम्मान चाहनेले सम्मानित भएर अभिभावकीय व्यवहार देखाउनुपर्छ । मलाई नै सधैंभरि सबैले सर्वेसर्वा मान्नुपर्छ भन्ने कुण्ठा कसैले पाल्नु हुँदैन । नयाँनयाँ र युवा व्यवसायमा आएका छन्, उनीहरूले नयाँ तरिकाबाट सोच्छन् भन्ने हेक्का सबैले राख्नुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise