सुर्खेत : कर्णालीका विभिन्न जिल्लामा रहेका कारागारमा आमाबुबासँगै केही बालबालिकाले समेत बिनाकारण कारागारमा बस्नुपर्ने बाध्यता छ ।
कर्णालीमा बालगृह नहुँदा पनि बालबालिकाहरू विभिन्न आपराधिक घटनामा जोडिएका बाबुआमासँगै कारागारमा बस्ने गरेका पाइएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दिएको तथ्यांकअनुसार आमाबाबु कसुर ठहर हुँदा बालबालिका पनि आमासँगै कारागार बस्नुपर्ने बाध्यतामा छन् ।
बालबालिकाहरूको संख्या जिल्लागत हेर्ने हो भने सुर्खेत, सल्यान र रुकुमपश्चिममा उस्ताउस्तै छ । कर्णालीका कारागार भएका ९ जिल्लामध्ये ३ जिल्लाका गरी करिब ७ जना बालबालिका अहिले पनि आमाबुबासँगै बन्दी बनेर दिन काटिरहेका छन् । मुगुमा भने कारागार छैन । कारागार भएका दैलेखमा १ जना बालिका, रुकुम पश्चिममा २ जना बालक, सल्यानमा २ बालिका, १ बालक र सुर्खेतमा २ बालिका कारागारमा आश्रित जीवन बिताइरहेका छन् ।
कानुनी विवादमा परेका बालबालिकालाई वयस्क अपराधीसँग थुनामा नराखी बाल सुधारगृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ । तर, कर्णाली प्रदेशका ९ जिल्लामा कानुनी विवादमा परी सजाय भोगिरहेका आमाबाबुसँगै बालबालिकालाई राख्ने बालगृह नहुँदा कर्णाली प्रदेशका बालबालिकालाई नेपालगन्ज, भक्तपुर, पोखरा र धरान पठाउने गरिएको छ । आमाबाबु वा संरक्षकविहीन, बेवारिसे, असहाय, अनाथ, आपराधिक क्रियाकलापमा संलग्न बालबालिकाहरूलाई आश्रय र खानपिन, सुरक्षा, पालनपोषण तथा शिक्षा प्रदान गर्न बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ८६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि प्रदेश सरकार वा स्थानीय तहले आवश्यकताअनुसार बालगृहको स्थापना, संचालन र व्यवस्थापन गर्न बाञ्छनीय भएकाले भन्दै नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालगृह संचालन नमुना कार्यविधि, २०७५ जारी गरेको छ ।
तर, कर्णालीमा अहिलेसम्म पनि बालगृह स्थापना हुन सकेको छैन । गत १९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले बाल सुधारगृह स्थापना तथा संचालन गर्ने निर्णय गरेको छ । तर, उक्त प्रक्रिया भने अघि बढ्न सकेको छैन ।
अपराध करार भएका आमाबुबासँग आश्रित बालबालिकालाई कारागारमा राख्नु मानवअधिकारको हनन भएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी बताउँछन् । ‘बालबालिकालाई यसरी जेलमा राख्दा मनोसामाजिक रूपमा ठूलो असर पर्छ किनभने उनीहरू बाहिर स्वतन्त्र रूपमा हिँडडुल गर्ने कुरामा बञ्चित छन् । घरमा पाउनुपर्ने वातावरण र जेलभित्र पाउने वातावरण फरक त भइहाल्छ’, संयोजक सुवेदी भन्छन्, ‘उनीहरूको शिक्षा, स्वास्थ्य, खानपिन तथा समग्र दैनिक जीवनशैलीमा फरक पर्छ ।’
अभिभावकसँगै कारागारमा कैद हुनुपर्दा बालबालिका घुमफिर, पठनपाठन, खेलकुद, मनोरञ्जनलगायत सुविधाबाट बञ्चित भएका उनको भनाइ छ । अभिभावकले गरेको गल्तीको सजाय भोग्ने क्रममा सन्तानको जिम्मा लिने कोही नभएपछि पनि कारागार बस्नुपर्ने बाध्यता रहेको संयोजक सुवेदी बताउँछन् ।
‘२ वर्षभन्दा माथिका बालबालिकालाई जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था भए पनि अभिभावकलाई छाड्न नमान्दा र आफन्तले लिन नआउँदा कारागारमा राख्नुपर्ने बाध्यता पनि छ’, उनले भने ।
बालबालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । कारागारमा कैदी बन्दीको जिवन बिताइरहेका अभिभावकसँग रहेका बालबालिकालाई छोटो समयका लागि जिम्मा लिने कोही नभएकाले समस्या भएको उनको भनाइ छ । अधिकांश कारागारमा ९ महिनादेखि २ वर्षसम्मका आश्रित बालबालिका छन् ।