उदयपुर : जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार रहेका आधा दर्जनभन्दा बढी कैदीहरूलाई उदयपुर प्रहरीले पछिल्लो समयमा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले असोज २१ सम्मको तथ्यांकअनुसार जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, कर्तव्य ज्यान, लागूऔषध, सवारी अंगभंग र डकैती चोरी उद्योग जस्ता गम्भीर मुद्दामा फरार रहेका कैदीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
उदयपुर प्रहरीको सक्रियताले सुनसरीको धरान-८ का प्रविण सुन्दासलाई भदौ २९ मा पक्राउ गरिएको छ । उनलाई जबरजस्ती करणी मुद्दामा झुम्का कारागारबाट फरार रहेको अवस्थामा ९ वर्ष १० महिना ८ दिनको सजाय तोकिएको थियो । त्यस्तै, चौदण्डीगढी नगरपालिका-४ का ज्ञान बहादुर सार्कीलाई भदौ ३१ मा पक्राउ गरिएको छ । उनलाई जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार, सुन्धाराबाट फरार रहेको अवस्थामा ११ वर्षको सजाय तोकिएको थियो ।
यसैगरी, त्रियुगा नगरपालिका-१, जोगिदहका दिलिप कार्की नख्खु कारागार, ललितपुरबाट फरार रहेको अवस्थामा असोज १७ मा पक्राउ परे । बेलका नगरपालिका-३ का योगेन्द्र राईलाई झुम्का कारागारबाट फरार रहेको अवस्थामा असोज २१ मा नियन्त्रणमा लिइयो । चौदण्डीगढी नगरपालिका-१, काभ्रेका धन बहादुर राईलाई जबरजस्ती करणी उद्योग मुद्दामा भदौ ३० मा पक्राउ गरिएको छ । उनी पनि झुम्का कारागारबाट फरार थिए ।
लिम्चुङबुङ गाउँपालिका-५, जातेका ७२ वर्षीय सन्त बहादुर राई कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागार, सुन्धाराबाट फरार रहेको अवस्थामा असोज ६ मा पक्राउ परे । बेलका नगरपालिका-९, कमलाबारीका नरेश विक लागूऔषध मुद्दामा झुम्का कारागारबाट फरार रहेको अवस्थामा असोज १७ मा समातिए । रौतामाई गाउँपालिका-८ का प्रेम बहादुर तामाङलाई सवारी अंगभंग मुद्दामा जिल्ला कारागार, बैतडीबाट फरार रहेको अवस्थामा असोज २१ मा पक्राउ गरियो । त्यस्तै, त्रियुगा नगरपालिका-६, जल्जलेका सञ्जीव अछामी, जसलाई सञ्जीव दर्जी पनि भनिन्छ, डकैती चोरी उद्योग मुद्दामा नख्खु कारागार, ललितपुरबाट फरार रहेका थिए । उनलाई ५ वर्ष ६ महिना कैद र ५५ हजार जरिवाना तोकिएको अवस्थामा असोज २१ मा पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार कैदीहरूलाई पक्राउ गर्न विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ । जेजी आन्दोलनका क्रममा विभिन्न जिल्लाका कारागारबाट कैदीहरू फरार भएका थिए । प्रहरीले स्थानीय समुदायको सहयोग र सूचनाको आधारमा यस्ता अपराधीहरूलाई कानुनी दायरामा ल्याउन सक्रियता देखाएको छ । अन्य फरार कैदीहरूको खोजी कार्यलाई पनि निरन्तरता दिइएको प्रहरीले बताएको छ ।