कालिकोट : कालीकोटमा ८ हजार ६ सय ८४ किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाएका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको खोप अभियानले ९८.५३ प्रतिशत लक्ष्य हासिल गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।
जिल्लाका ९ वटा स्थानीय तहलाई तीन भागमा विभाजन गरी चरणबद्ध रुपमा खोप अभियान संचालन गरिएको थियो । त्यस्तै पहिलो चरण (माघ २२–२४) रास्कोट नगरपालिका, पलाँता, पचालझरना र सान्नीत्रिणेणी गाउँपालिका, त्यस्तै दोस्रो चरण नरहरीनाथ गाउँपालिका, शुभकालीका गाउँपालिका र खाँडाचक्र नगरपालिका र तेस्रो चरणमा तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा फागुण ४ गतेदेखि ६ गतेसम्म खोप संचालन गरिएको स्वास्थ्य सेवा व्यवस्थापक डा.भीष्म पोखरेलले बताए ।
उनले अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सहजमय बनाउने सम्पूर्णमा धन्यवाद दिए । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सम्पूर्ण छात्राहरुलाई विद्यालयमै खोप दिएको र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपीभी) खोप दिन सफल भएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।