-सञ्जु दाहाल
लोकतन्त्र भनेको राजनीतिको सुशासनको प्रतिज्ञा हो । २००७ सालदेखि ७ फागुनमा हरेक वर्ष नेपालमा प्रजातन्त्र दिवस मनाउंदै आइएको छ । प्रजातन्त्र वा लोकतन्त्र भनेर पनि राजनीतिक जानकारबीचमा टीकाटिप्पणी हुने गरेकै छन् । लोकतन्त्र, प्रजातन्त्र जे भने पनि कुरा विधिको साशनको हो । कसले समस्त जनतालाई आफ्नो मान्यो ? कुन दल वा सरकारले सबै जनताको आवश्यकता बुझ्यो ? भन्ने विषय नै वास्तवमा लोकतन्त्रको सूचक हो ।
चीनमा सन् १९४९ मा सम्पन्न जनवादी क्रान्ति र नेपालमा २००७ सालको प्रजातान्त्रिक आन्दोलन ऐतिहासिक रूपमा फरक भए पनि दुवै आन्दोलनले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । यी २ घटनाको तुलनात्मक अध्ययन गर्दा केही प्रमुख समानता र भिन्नताहरू देख्न सकिन्छ । लगभग उस्तै समयमा स्वतन्त्र प्रजातान्त्रिक अथवा समाजवादी मार्गमा हिँड्न सुरु गरेका चीन र नेपालमा चीन आज विश्वको प्रथम शक्ति र नेपाल यो दुखद अवस्थामा किन ? के भयो चीनमा अनि के भयो नेपालमा ?
चीनिया जनवादी क्रान्ति (१९४९)
चीनमा सन् १९११ मा मञ्चु शासन समाप्त भएपछि सामान्यतया कमजोर गणराज्य स्थापना भयो र देशले राजनीतिक अस्थिरता भोग्नुपर्यो । सही मार्गमा चल्न गाह्रो थियो । चीनमा कम्युनिस्ट पार्टी र कुओमिन्ताङबीच लामो गृहयुद्ध चल्यो । पछि माओत्सेतुङको नेतृत्वमा सशस्त्र क्रान्ति गरी जनवादी गणराज्य चीन स्थापना भयो ।
चीनमा जनवादी क्रान्ति सशस्त्र विद्रोहको माध्यमबाट सम्पन्न भयो । भयंकर जनयुद्ध भयो । माओत्सेतुङको नेतृत्वमा भएको लालसेनाले गाउँबाट शहर नियन्त्रण गर्दै सामन्तवादी तथा पुँजीवादी शक्तिलाई पराजित गर्यो । भनौं, चीनमा जनवाद आयो । विधिको साशन स्थापित भयो ।
जनवादी क्रान्तिपछि चीनमा सामन्ती संरचना भत्काई वैज्ञानिक भूमिसुधार लागू गरियो साथै औद्योगीकरण र आधुनिकीकरण तीव्र रूपमा अगाडि बढ्यो । शिक्षामा ठूलो सुधार गरियो, विशेषगरी सर्वसाधारणका लागि स्थानीय उद्योग, व्यवसाय तथा कृषि आधुनिकीकरण शिक्षा लागू गरियो ।
समानताको सिद्धान्तले महिला तथा श्रमिक वर्गलाई अधिकार दियो । सब ठीकठाक भयो । आज चीनमा महिलाहरूको अवस्था उल्लेखनीय राम्रो छ । चीनमा सन् १९४९ पछि निरन्तर कम्युनिस्ट पार्टीको नेतृत्व रह्यो । चीन आर्थिक रूपमा तीव्र विकास गरेर विश्वशक्ति बन्यो तर नेपाल भने अझै आर्थिक रूपमा कमजोर रह्यो, रहेकै छ ।
नेपाली प्रजातान्त्रिक आन्दोलन (२००७ साल)
नेपालमा राणा शासनको समयमा निरंकुश सत्ता थियो । जनअधिकारका लागि प्रजातन्त्रका पक्षधर नेपाली कांग्रेस तथा अन्य समूहहरूले आन्दोलन थाले । तत्कालीन चीन तथा भारतको स्वतन्त्रता आन्दोलनले नेपाली आन्दोलनलाई थप ऊर्जा प्रदान गर्यो । राजा त्रिभुवनको समर्थनमा राणा शासनको अन्त्य भई संवैधानिक प्रजातन्त्र स्थापना भयो ।
सत्याग्रह, सशस्त्र आन्दोलन आदि हुँदै गए । परिवर्तन भयो । नेपालमा राणा शासन हटेपछि नागरिक अधिकार स्थापित भए । शिक्षा र संचार क्षेत्रमा विस्तार भयो । बहुदलीय लोकतन्त्रको अभ्यास सुरु भयो । आर्थिक रूपान्तरण भने चीनको जस्तो तीव्र रूपमा हुन सकेन । नेपालमा २००७ सालपछि संवैधानिक राजतन्त्र, बहुदलीय लोकतन्त्र र गणतन्त्र आयो । तर, झन् राजनीतिक अस्थिरता देखियो ।
चिनियाँ जनवादी क्रान्ति र नेपाली प्रजातान्त्रिक आन्दोलनको तुलनामा राजनीतिक प्रणालीमा चीनमा साम्यवादी राज्य स्थापित भयो भने नेपालमा संवैधानिक राजतन्त्र हुँदै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आयो । त्यस्तै, विचारधाराका आधारमा चीनमा माओवाद÷माक्र्सवादआयो भने नेपालमा प्रजातन्त्र, बहुदलीय व्यवस्था र गणतन्त्र आयो । परिवर्तनको मुख्य उद्देश्य चीनमा सामन्तवाद र पुँजीवादको अन्त्य गर्दै सर्वहारा अधिन(ायकत्व स्थापना गर्नु थियो भने नेपालमा निरंकुश राणा शासन हटाई जनताको शासन स्थापना गर्नु थियो ।
चीनको लक्ष्य सही थियो भने नेपालको लक्ष्य लहड, जुँगाको लडाइँ तथा चीन र भारतको इसारामा चल्ने खालको थियो । चिनियाँ जनवादी क्रान्ति र नेपाली प्रजातान्त्रिक आन्दोलन दुवै ऐतिहासिक रूपमा महत्त्वपूर्ण छन् तर तिनको स्वरूप, उद्देश्य र प्रभावमा भिन्नता छ । चीनको क्रान्ति एक साम्यवादी क्रान्ति थियो, जसले समाजको संरचनात्मक परिवर्तन गर्यो, जबकि नेपालमा प्रजातान्त्रिक आन्दोलनले राजनीतिक परिवर्तन त ल्यायो तर आर्थिक विकासको गति भने अपेक्षित रूपमा अघि बढ्न सकेन ।
राजनीतिको अपराधीकरण
सर्वप्रथम यो राजनीतिक अपराधीकरण भन्ने शब्द नेपालका लोकप्रिय पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले प्रयोग गर्नुभएको थियो । मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले राम्रो सुरुवात गर्नुभएको थियो तर उहाँको सरकारलाई अल्पमतमा पारेर गिराउने प्रयत्न गरियो ।
यही सन्दर्भमा उहाँले ‘राजनीतिको अपराधीकरण’ भएको भन्दै टिप्पणी गर्नुभएको थियो । २०४८ सालमा कृष्णप्रसाद भट्टराई तथा गणेशमान सिंह जस्ता नेता हराएर प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले बहुमतको दम्भले अनैतिक रूपले संसद् भंग गरे । २०५१ सालमा मध्यावधि चुनाव भयो । त्यतिबेला देशले नयाँ आर्थिक विकासको मार्ग समाउनुपर्ने तर देश सत्ताको खेलमा भ्रष्टाचार र अनैतिकतामा चुर्लुम्म डुब्न पुग्यो ।
माओवादी युद्ध सुरु भयो । देशले सही मार्ग पक्रिनै सकेन । सम्पूर्ण पुराना सांस्कृतिक धरोहरहरू नष्ट हुन थाले । १२० जना मन्त्री, ९०० सभासद् र ७ प्रदेश निर्माण गरेर राजाीतिक कार्यकर्ता भर्ती गर्ने काम गरियो तर उत्पादमा कोही एकीकृत हुन सकेनन् ।
चीनको आधुनिक विकास
चीनले राजनीतिक क्रान्तिको अन्त्य भएको घोषणा गरेर नै आर्थिक क्रान्तिको मार्ग पहिल्यायो । चीनको आर्थिक विकास सन् २००० देखि उल्लेखनीय रूपमा तीव्र भएको छ । सन् २००० को दशकको सुरुआतदेखि चीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ । यसको आर्थिक वृद्धिका मुख्य कारकहरूमा औद्योगीकरण, निर्यात केन्द्रित उत्पादन, विदेशी लगानी र ठूला संरचनागत सुधारहरू रहेका छन् ।
सन् २००० पछि चीनले आफूलाई ‘विश्वको कारखाना’का रूपमा स्थापित गर्यो । सस्तो श्रम, कच्चा पदार्थमा पहुँच र सरकारद्वारा प्रवद्र्धित औद्योगिक नीतिहरूले उत्पादन उद्योगलाई तीव्र रूपमा वृद्धि गरायो । चीन विश्व व्यापार संगठनमा सन् २००१ मा सामेल भएपछि अन्तर्राष्ट्रिय बजारसँग अझ सघन रूपमा जोडियो । यसले विदेशी लगानीको वृद्धिलाई तीव्र बनायो र निर्यातमा उल्लेखनीय वृद्धि गर्यो ।
चीनले सडक, रेल, विमानस्थल र अन्य पूर्वाधारमा व्यापक लगानी गर्यो, जसले आर्थिक वृद्धिलाई थप प्रवद्र्धन गर्यो । बेइजिङ–सांघाई हाई स्पिड रेल जस्ता परियोजनाहरूले आन्तरिक व्यापार र जनसंख्याको आवागमनलाई प्रभावकारी बनायो ।
सन् २०१० पछि चीन प्रविधिका क्षेत्रमा अग्रणी बन्न थाल्यो । अलीबाबा, टेन्सेन्ट र ह्वावई जस्ता कम्पनीहरूले नवप्रवर्तनमा लगानी गरेर चीनलाई प्रविधि शक्तिको रूपमा अगाडि बढाए । सन् २०१३ मा चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ सुरु गर्यो, जसले विश्वभरका पूर्वाधार परियोजनामा लगानी गरी चीनको व्यापारिक प्रभावलाई विस्तार गर्यो ।
देश विकास हामी सबैको साझा सरोकार हो । चप्पल पड्काउँदै काठमाडौं छिरेका नेताको आलिसान महल बन्यो । ७० लाख युवा विदेशिनुपर्यो । देशले अझै सही मार्ग समाउन सकेन । आर्थिक विकासको मार्ग औंल्याउनै सकेन ।
२१औं शताब्दीमा सशक्त नेतृत्व दिन सक्ने सफल नेता उत्पादन नै हुन सकेनन् । जनता नेतादेखि दिक्क भएका छन् । नेताहरू जनताले कुरा बुझेनन् भन्छन् । जनताका कुरा नेताले बुझ्नुपर्छ । आर्थिक क्रान्तिको बाटोमा हिँड्न कसले रोकेको थियो ? सत्ता सधैं यिनै प्रमुख दलहरूको वरिपरि घुमिरहेको थियो ।
मुख्य नेतृत्वमा नैतिकता राष्ट्रियता सबै जनता आफ्नै हुन् भन्ने आत्मविश्वास नै भएन । रिस, दम्भ, घमण्डले नै देश बर्बाद भयो । सक्षम तर स्थायी राजनीति नेपालमा फेरि कम्जोर हुँदै गएको देखिन्छ । अझै नेतामा चेतना आएको देखिँंदैन ।
उता, चीन विश्व शक्तिको रूपमा उदाइसकेको छ । चीनबाट हाम्रो देशले धेरै सिक्नुपर्छ । लोकतन्त्र वा प्रजातन्त्र सुशासनको प्रतिज्ञा हो । सत प्रतिशत सुशाशानको प्रत्याभूति दिने हो भने पुराना दलहरु आफ्नो लयमा फर्किन सक्नेछन् नत्र भन्न सकिने अवस्था छैन । प्रजातन्त्र दिवस २०८१ को हार्दिक मंगलमय शुभकामना !