२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

पोखरा घटनाले उठाएको प्रश्न

draupadi film
मध्यान्ह
२०८१ फागुन ८ गते ०८:४६
पोखरा घटनाले उठाएको प्रश्न

-अच्युतप्रसाद पौडेल ‘चिन्तन’-

देश आध्यात्मिक हो, देश धार्मिक हो, देश वैदिक हो, देश देवभूमि हो र त पर्यटकहरू यहाँ आएर देह विसर्जन गर्दा पनि आपत्ति मान्दैनन् किनकि विश्वकै एक मात्र शिवजीको शिरोभाग पशुपति छ यहाँ । यहाँका पर्यटकीय हिम शृंखलाहरू शिव र पार्वतीका क्रीडास्थल हुन् । पार्वतीको नामबाटै पर्वत जिल्ला छ हाम्रो र पर्वत जाने बाटैमा छ, पोखरा ।

त्यहाँ केही दिनअघि मात्र बेलुन पड्कियो, २ राजनीतिक हस्तीहरू घाइते भए, पर्यटन वर्ष २०२५ उद्घाटनकै क्रममा । २० लाख पर्यटक ल्याउने सरकारी योजना छ, लगभग त्यति नै संख्यामा नेपालीहरू पर्यटक त के काम खोज्दै मलेसिया, खाडीतिर धकेल्ने कार्यमा रोक लगाउन सक्ने योजना भने हाम्रो नेतृत्वसँग छैन ।

हाइड्रोजन ग्यास भरिएको बेलुन कोन फायरको झिल्कामा पुग्दा विस्फोट भयो होला, यो विज्ञानले भन्ने कुरो हो तर सजगता बा असावधानी कति छ भन्ने विषय भने हामी आफ्नै होला । आफू नमरी स्वर्ग देखिँदैन, ठूलालाई पर्दा होहल्ला भयो, तुइन चढेर स्कुल जाने विद्यार्थी खोलामा खसेर मर्दा यहाँ हल्ला हुन्न, न सुत्केरीले सवारी साधन नपाएर बाटोमै मर्दा ।

मन्दिर जान केबुलकारका विषयमा छिनाझप्टी भइरहन्छ, भ्यु टावर र ठूला विमानस्थल बनाउने कुरामा पनि । राजनीतिबाट वितृष्णा भएका नेपालीहरूले कति यसबारे सामाजिक संजाल भरेका छन्, आफ्नो ठाउँमा होला तर क्षति हुनु कुनै पनि राम्रो होइन, त्यसमाथि मानव, त्यसमा पनि उच्च खान्दानीहरू नै पर्नु त झन् राम्रो भएन ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको केही समय भयो । उद्घाटनकै थोरै समयमै त्यहाँ ठूलो विमान दुर्घटना भयो । त्यो घटना सेलाएको छैन । पशुपतिमा गत साउनमा अतिविवादित कोटिहोम गर्ने आयोजक अहिले फेरि पोखरा गएर रूखहरू काट्दै छन् र यहीँ बेलुन विस्फोटमा पर्ने नगर प्रमुखले त्यो काम गर्न दिनु हुन्न भनिरहँदा आयोजकले धर्मका लागि अधर्म गर्न पनि तयार छु भन्दै पुनरावेदन अदालत गई आयोजकले गर्न चाहेको काममा कानुनीबाहेक अरू झन्झट नदिनू भन्ने आदेश गराएका छन् । यसको सामान्य अर्थ हुन्छ अदालतको पनि आशय आइसकेकाले अब उनको काम नरोकिने देखिन्छ । 

तर, विगत केही वर्षयतादेखि धार्मिक कामहरू बडो अनियन्त्रित तवरबाट भइरहेको र केवल पैसा असुलीको माध्यम बनेको छ । राजनीतिमा हाम्रा टाठाबाठाहरूले ठगे सिधासाधा नेपालीहरूलाई र धार्मिक भन्दै आचरण नगर्नेहरूले धर्ममाथि अहिले ठूलै व्यापार गरिरहेका छन् ।

नेपाली महिलाहरू खासगरी धेरै बेरोजगार भएकाले कमसेकम सत्संगमै जानु राम्रो भन्दै उर्लिएर भीड जम्मा हुने परिपाटी छ र त्यो भीड देखाएर आयोजकहरूले मनपरी रकम असुलिरहेका छन् । कलीयुगमा निष्ठाबिनाको स्वाध्याय ढोंग मात्र हुन्छ, त्यसले परिणति राम्रो दिँदैन । 
यसअघि पशुपतिमा भएको यज्ञ पनि दक्षिणायन र शिव स्नानका बेला परेको थियो, कोटिहोमकै आसपास धेरै ठूला दुर्घटनाहरू भएका थिए ।

त्रिशूलीमा बसहरू हराउनेदेखि पशुपति नजिकै विमान खसेको थियो । काभ्रे लड्केश्वरको केही महिनाअघिको कोटिहोममा विधि पुगेन भनेर विज्ञहरू अहिले पनि कराइरहेका छन् र असोजमा त्यहीँ शिर हुने रोशीले बीपी राजमार्ग खाएकालाई पनि यसैमा जोडेर हेर्नेहरू पनि छन् ।

हाम्रा कार्यकारी प्रमुख देश धर्मनिरपेक्ष भन्छन् तर पशुपतिमा क्विन्टल सुन चढाउन गए, देशको ढुकुटीबाट र आफ्नो नाम पनि लेखाए त्यहाँ । यसअघिका कार्यकारी प्रमुख भारतको कालेश्वर गएर पण्डा बनेको सबैलाई थाहा छ र पंक्तिकारले बिहानभरि भद्रकालीमा चण्डीपाठ गरेर, दिउँसो टीका पुछेर सिँहदरबार गएर मन्त्रालयको कुर्सीमा बसेको कम्युनिस्ट ठूलै नेता पनि देखेको छ ।

नदी तर्दा पुलमाथिबाट सिक्का खसाल्ने र बिरालोले बाटो काट्दा दिनभरको काम नराम्रो हुने भयो भनी खिन्न हुने कम्युनिस्टहरू पनि छन् हाम्रो देशमा, जसले शासनको बागडोर पटकपटक लिए र लिने धुनमै छन् जहिले पनि । 

माक्र्स, लेनिन, माओहरूले भने यसो नगरेका र आफ्नै सिद्धान्तमा अडेका थिए । नेपालको सन्दर्भमा देशअुसारको भेष हाम्रा कम्युनिस्टहरूले गरे, त्यो त राम्रो भयो होला तर देशलाई धर्मनिरपेक्षचाहिँ किन बनाए, अन्योलको कुरो छ । वैदिक सनातनी बुद्ध भूमि नेपाल यथावत् रहन दिएको भए संसारका पर्यटकहरू यहाँ ओइरो लाग्ने नै थिए ।

पोखरा मात्र होइन, देशको पूर्वी भेग ताप्लेजुङको पाथीभरामा अहिले ठूलो विवाद छ । मठ मन्दिरमा जहाँ विवाद हुन्छ, त्यो भारी अपशकुन हो, त्यसले क्षति मात्र होइन, सर्वनाश गर्छ । 

विज्ञानले जे भने पनि गत असारको बाढी–पहिरो र गत असोजको बाढी–पहिरोले असह्य पीडा दिएको छ । हामी प्रकृति पुजक हौं र केही वर्षअघिदेखि देशमा प्रकृतिप्रति ठूलो अन्याय भइरहेको छ । असारे डोजरे विकासका नाममा प्रकृति दोहन भएको छ । माटो, पानी, हावा, तेज, प्रकाशबाटै यो शरीर र संसार बनेको हो । हामी सबैलाई पूजा गर्ने गर्छौं, नाग पूजा गर्छौं, भूकम्पले क्षति नदेओस् भनेर ।

कारण, यो भूमिमा मात्र देवताहरू बस्ने हुन्, स्वर्गमा भन्दा बढी प्यार गरेर । अरू भूमि कर्म भूमि होला हाम्रो भूमि पहिले धर्म भूमि हो र पछि कर्मभूमि र त पहिले नै हामी सूर्यकै उपासना गर्छौं । जे काम गर्दा पनि अपशकुन नहोस् ।

ADV

सम्बन्धित खबर

Advertise