२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

पाथीभरामा केबलकार निर्माण सुविधा कि विनाश ?

hardik ivf
मध्यान्ह
२०८१ फागुन ८ गते २२:३९
 पाथीभरामा केबलकार निर्माण सुविधा कि विनाश ?

-ईश्वर श्रेष्ठ-

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणका लागि भएको प्रस्तावले अहिले ठूलो बहस सिर्जना गरेको छ । पाथीभरा मन्दिर जस्तो पवित्र धार्मिक स्थलमा केबलकार निर्माण गरेर सुविधा दिने बहानामा प्राकृतिक स्रोत, साधनलाई विनाश गर्दै व्यापारिक लाभ मात्र खोजिएको स्थानीयवासी र विभिन्न धार्मिक तथा सामाजिक समूहहरूको बुझाइ छ । यो विषयले धार्मिक आस्था, पर्यावरण संरक्षण र भविष्यका पुस्ताको अधिकारसमेतको गहिरो प्रश्न खडा गरेको छ । 

पाथीभरा मन्दिरसम्मको पैदल यात्रा मात्र आध्यात्मिक शान्ति र प्राकृतिक सौन्दर्य अनुभव गर्ने, स्वास्थ्य तन्दुरुस्त राख्ने अबसर हो । यस क्षेत्रमा केबलकार बनाउने बहानामा हुने गतिविधिहरूले प्राकृतिक स्रोत, साधन दोहन मात्र हुँदैन, स्थानीय समुदायको संस्कृतिमा समेत ठूलो असर पुग्छ ।  कतिपयले यो प्रस्तावलाई ‘मुन्धुम’ संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको भनी विरोध गरिरहेका छन् ।

मानसरोवर, बद्रीनाथ र केदारनाथको दृष्टान्त

धार्मिक स्थलहरूमा केबलकार निर्माण गर्ने सोच नयाँ होइन । चीनले चाहेको भए कैलाश पर्वत, मानसरोवरमा परिक्रमा केबलकारबाट गराउन सक्थ्यो । भारतले पनि बद्रीनाथ र केदारनाथ जस्ता महत्त्वपूर्ण धार्मिक स्थलमा केबलकार बनाइसक्नुपर्ने थियो । तर, यी संरचनाहरू नबनाइनुको प्रमुख कारण प्राकृतिक स्रोत र धार्मिक आस्थाको सम्मान हो । यसले देखाउँछ कि यस्ता सुविधा देवी–देवताले समेत नचाहेका हुन् ।

पाथीभारा मन्दिरमा केबलकार निर्माणका लागि सर्वेक्षण गर्न जाँदा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको घटनाले धेरैलाई सोच्न बाध्य बनाएको छ । कतिपयले यस घटनालाई देवी माताले नै केबलकार अस्वीकार गरेको संकेतका रूपमा हेरेका छन् ।

नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिएको देशमा केबलकार जस्ता संरचना बनाउनु भनेको प्रकृति र पर्यावरणलाई विनाश गर्नु हो । खप्तड, बडिमालिका, फाक्तालुङ जस्ता धार्मिक स्थलहरूमा केबलकार बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने सोचले लामो समयसम्म प्राकृतिक स्रोत, साधनहरूको दोहन हुन सक्छ । सुदूरपश्चिमको माहाकाली लिपुलेख क्षेत्रको महत्त्वपूर्ण जैविक विविधता अहिले नै खतरामा परिरहेको छ ।
हिमालहरूमा हिउँ पग्लने क्रमले वातावरणीय संकट बढाइरहेको छ । ग्लोबल वार्मिङले नेपालका हिमालहरू कालो ढुंगामा परिणत हुने अवस्था छ । यस्तो परिस्थितिमा यस्ता संरचना थप्नुले भविष्यमा हाम्रो प्राकृतिक सम्पदा र जैविक विविधतालाई थप नोक्सानी पुर्याउनु हो ।

केबलकारको निर्माणले प्रारम्भमा सहजता दिने भए पनि यसले हाम्रो समाजमा गहिरो असर पुर्‍याउन सक्छ । यस्ता संरचनाले मानवलाई अल्छी बनाउँदै प्रकृतिसँगको सजीव सम्बन्ध तोडिदिन्छन् । धार्मिक स्थलहरूमा पुग्नका लागि गर्ने पदयात्राले मात्र मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई सुधार गर्ने मौका दिन्छ ।

भविष्यका पुस्ताहरूले प्राकृतिक सम्पदाको अनुभव गर्न नपाउने र धार्मिक स्थलहरूमा पुग्ने वास्तविक साधना र आध्यात्मिक शान्ति गुमाउने सम्भावना हुन्छ । अहिले केबलकार निर्माणको बहसमा भविष्यको पुस्ताको अधिकारलाई नजरअन्दाज गर्नु ठूलो गल्ती हुने छ ।

पछिल्लो समय पाथीभारा मन्दिरको विषयलाई लिएर साम्प्रदायिक र जातीय विवाद फैलाउने प्रयास गरिएका छन् । देवी, देवता कुनै एक जाति वा धर्मका मात्र नभएर सबैको साझा आस्था हुन् । मन्दिरबाट मूर्ति हटाउने, जातीय विवाद सिर्जना गर्नेजस्ता प्रयासले धार्मिक सहिष्णुता खल्बलिन सक्छ । यस्तो भ्रमपूर्ण प्रचारलाई रोक्न स्थानीय समुदाय, धार्मिक संस्थाहरू र सम्बन्धित निकायहरूले सहकार्य गर्नु आवश्यक छ ।
धार्मिक स्थलहरूको संरक्षण गर्न र पर्यटकलाई आकर्षित गर्न विकासका केही विकल्पहरू अपनाउन सकिन्छ ।

त्यस्ता क्षेत्रहरूमा केबलकार बनाउने सोचलाई सीमित राख्दै धार्मिक आस्था र पर्यावरणीय असरलाई प्राथमिकतामा राख्नुपर्छ ।

पैदल यात्रालाई सहज बनाउन स्तरीय बाटोहरू बनाउनु, खानेपानी, स्वास्थ्य सेवा आदि दिन सक्नुपर्छ ।

प्राकृतिक क्षेत्रको संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न दीर्घकालीन योजनाहरू तयार पार्नुपर्छ ।

यो विषयमा कुनै पनि समूहको स्वार्थभन्दा माथि रहेर सामूहिक रूपमा निर्णय गर्नुपर्छ । सुविधा बनाउने बहानामा धर्म, प्रकृति र भविष्यका पुस्ताको अधिकारलाई नजरअन्दाज गर्ने प्रयासलाई समयमै रोक्नु जरुरी छ ।

पाथीभारा, खप्तड, बडिमालिका, दामोदर कुण्ड, गोसाइँ कुण्ड जस्ता पवित्र धार्मिक स्थलहरूलाई विकासका नाममा व्यापारिक लाभको केन्द्र बनाउनुहुन्न । देवी, देवताको आस्थाको सम्मान गर्दै प्रकृतिप्रति उत्तरदायी बन्ने बेला आएको छ ।

केबलकार जस्ता सुविधा सीमित स्वार्थका लागि हुने भएकाले यस्ता स्थानहरूमा यसको निर्माण रोक्नु आजको आवश्यकता हो । प्राकृतिक सम्पदा, धार्मिक आस्था र भावी पुस्ताको अधिकारलाई मध्यनजर गर्दै समाधान हामीले नै खोज्नुपर्छ ।

ADV

सम्बन्धित खबर

Advertise