२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

शुक्लाफाँटाको धार्मिक तथा पर्यटकीय ताल मुडका पुरिन थाल्‍यो

himalayanlife
२०८१ फागुन ९ गते १०:५५
Shares
शुक्लाफाँटाको धार्मिक तथा पर्यटकीय ताल मुडका पुरिन थाल्‍यो

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेको मुडका (मणिका) ताल पुरिँदै जान थालेको छ । चुरे पर्वत क्षेत्रबाट बग्ने खहरे खोलाले बगाएर ल्याउने माटो, ढुंगा बालुवालगायतले ताल पुरिन थालेको हो ।

ताल पुरिनबाट जोगाउनका लागि विभिन्न दातृ निकायको सहयोगमा छेकवार पर्खाल लगाउने कार्य गरिए पनि ताल पुरिने क्रम जारी रहेको छ । तीन बिघा क्षेत्रफलमा फैलिएको ताल प्रत्येक वर्ष एक मिटरका हिसाबले पुरिँदै जान थालेको मणिकाधाम धार्मिक क्षेत्रका कारिन्दा डम्बरबहादुर ऐरले बताए ।

‘तालको आधाभन्दा बढी भाग पुरिएको छ’, उनले भने, ‘आर्थिक अभावले पुरिँदै गएको ताल सफाइ गर्न सकेका छैनौँ।’ यस्तै क्रममा रहे केही वर्षभित्रै ताल पुरै पुरिएर सकिने उनले बताए । ताल पुरिएको क्षेत्रमा घाँस, भेल्लरका बुट्यान उम्रिएका छन् ।

तालको उत्तरतर्फको क्षेत्र भएर बर्सातमा बग्ने पानी रोक्नका लागि भरपर्दो व्यवस्था गरिनुपर्ने मणिकाधाम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुरन हमालले बताए । ताल पुरिँदै जाँदा गहिराइमा निकै कमी आएको जनाउँदै उहाँले बढी गर्मी हुने दिनमा गएको एक दुई–वर्षदेखि ताल सुक्ने अवस्थामा पुग्ने गरेको बताए ।

‘ताल सफाइ गरी एकनासको पानीको व्यवस्था गर्नका लागि बोरिङ जडान गरिनुपर्ने भए पनि समितिसँग आर्थिक अभाव भएकाले कार्य अगाडि बढाउन सकेका छैनौँ,’ उनले भने, ‘तालमा थिग्रिएर बसेको माटो, बालुवा, ढुङ्गा हटाउनका लागि मेसिनको प्रयोग गर्नुपर्छ, यस कार्यका लागि दातृ निकायलाई आग्रह गर्दै आए पनि अहिलेसम्म कुनै पनि निकायले चासो देखाएका छैनन्।’

नगरपालिकाबाट पनि धार्मिक पर्यटकीय क्षेत्र संरक्षण संवर्द्धनका लागि कुनै कार्यक्रम अघि नसारिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे । तालमा रहेका माछा, कछुवालगायत जलचर प्राणी पानी अभाव हुन थालेपछि जोगाउन निकै समस्या रहेको उनको भनाइ छ ।

यो ताल जलेवा र मालक हाँसको बासस्थानका रुपमा पनि रहेको छ । मुडका क्षेत्रमा रहेको तलाउमा मणिवाला सर्प बस्ने कारण यस क्षेत्रको नाम मुडका रहन गएको स्थानीय बुढापाकाको भनाइ रहेको छ । थारू भाषामा मुड भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुडबाट मुडका भएको एक थरीको भनाइ रहेको छ ।

यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सर्नेहरुको आश्रयस्थलका रुपमा रहेको थियो । पहाडबाट झर्ने व्यक्तिहरुले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको हो । मुडका क्षेत्रको दर्शन गरेमा मनोवाञ्छित फल पाइने जनविश्वासका कारण यस क्षेत्रमा फागुनमा प्रत्येक वर्ष मेला लाग्ने गर्दछ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा धार्मिक क्षेत्रमा मन्दिर निर्माण गरिएको छ । हाल संघीय सरकारले रु दुई करोडको लागतमा ठेक्का प्रक्रियामार्फत धर्मशाला निर्माणको कार्य अगाडि बढाएको छ ।

यस क्षेत्रमा दर्शन गर्न आउने दर्शनार्थीका लागि शौचालय, विद्युत् तथा खानेपानीको व्यवस्था हुन सकेको छैन । खानेपानीका लागि प्रत्येक वर्ष मन्दिर व्यवस्थापन समितिले पाइप तानेर खोलाबाट पानी ल्याउने गरे पनि चुना पाइपमा भरिएर अवरुद्ध हुने गरेको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर