२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

नबिर्सौं वीरताको इतिहास

ADV
२०८१ असार १६ गते ०६:२५
नबिर्सौं वीरताको इतिहास

–अच्युतप्रसाद पौडेल ‘चिन्तन’

वीर बहादुर शाह नेपालको इतिहासका यस्ता नाम हुन्, जसको वीरतालाई हामी नकार्न सक्दैनौ । ४० वर्षकै उमेरमा मृत्युवरण गरेका शाहले देशको नक्सा तेब्बर बनाएका थिए । उनलाई राजाहरूको सूचीमा मात्रै राखिनु अन्यायपूर्ण हुन्छ । यस लेखमा हामी इतिहासको त्यो पाटोलाई केलाउने छौँ, जसको सही मूल्याङ्कन हुन सकेको छैन । जसरी वीर बहादुर शाहको सम्मान हुन सकेन ।

‘ने’ नामक तपस्वी मुनिले बस्ती बसालेकोले देशलाई नेपाल भनिएको हो । युगौँदेखि यसको छुट्टै अस्तित्व रहेको थियो । संस्कृत भाषामा नयेन पाल्यते इति नयपालः भनिन्छ । न्यायद्वारा धर्मको समेत रक्षा गरी जहाँ राज्य सञ्चालन हुन्छ, त्यो राज्यलाई नेपाल भनिएको हो । संस्कृत भाषा नयपाल अपभ्रंश हुँदा नेपाल भएको हो ।

यो हिमालयको काखमा रहेको छ । यो शिव र शक्ति अर्थात् महादेव र पार्वतीको बासस्थल हो । सतीदेवीले आफ्नो प्राण त्याग गरेपछि शिवकै इच्छाअनुसार हिमालय पर्वत राज पुत्री भएर यसै हिमालय क्षेत्रमा जन्म लिई श्री शिवलाई पुनः प्राप्त गरेकी हुन् । सतीदेवीको पछिल्लो रूप हिमालय पर्वतराज महारानी मेनकाको गर्भबाट पार्वतीको रूपमा जन्म भएको हो । हिमालयको शिखर सगरमाथाको प्राचीन नाम व्योमकुट हो, जुन विश्वमै सर्वोच्च छ । सगरमाथा नामकरण धेरै पछि हाल आएर मात्र भएको हो । पर्वत पुत्री भएकीले देवीको नाम पार्वती भएको हो । उनलाई शिवा, भद्रा, उमा आदि नामले पुकारिन्छ ।

श्रीमद्भागवत् र देवी भागवत् पुराणहरूमा कलीयुगीन राजा महाराजाहरूको चर्चा भएको छ । राजनैतिकरूपमा दृष्टिगत गर्दा नेपालमा पहिले गोपालबंशीहरूले राज्य गरेका थिए । भुक्तमान, जय गुप्त, परमगुप्त, यज्ञ गुप्त आदि राजाहरूले ५०० वर्षसम्म राज्य गरे । त्यसपछि महिपाल (जसलाई अहिर भनिन्छ)हरूले शासन गरे । सुरुमा नेपाल भन्नाले काठमाडौँ उपत्यका मात्रलाई जनाउँथ्यो । मूल सिंह, जय सिंह, भुवन सिंह राजाहरूले झण्डै १०० वर्ष राज्य गरेपछि उपत्यकाको राज्य सञ्चालनको जिम्मा किराँतहरूले लिए । प्राचीन शासकहरू झैं किराँतीहरू पनि शिव भक्त नै थिए । एक हजार वर्षसम्म करिब यिनीहरूले राज्य गरे । यलम्वरलाई किराँतकालीन प्रथम शासक मानिएको कुरा इतिहासविद्हरू बताउँछन् । बौद्ध धर्मको पनि बाहुल्यता भएको कुरा विदेशी लेखक राइटले बताएका छन् । काठमाडौंमा स्वयम्भू चैत्य र बौद्ध स्तूपहरू भव्यरूपमा निर्माण हुनुले यो कुराको थप पुष्टि हुन्छ । नेपालको इतिहास स्थापना गर्ने कार्यमा महा मुनि मञ्जुश्रीको नाम अग्रस्थानमा रहेको पाइन्छ ।

पशुपति मन्दिर परिसरमा स्थापित वि.सं. ७९० को अभिलेखमा लिच्छवी वंशका प्रथम राजा जयदेव प्रथम भनिएको छ । प्रसिद्ध कैलाशकुट भवन, चाँगुनारायणको मन्दिर, बुढानीलकण्ठ स्थान आदिको स्थापनामा मानदेवको नाम अग्रणी रूपमा आउँछ । इतिहासले राजा मानदेवलाई प्रथम लिच्छवी राजा मानेको छ । राजा मानदेव आफू शैव थिए र उनले शिव मन्दिरहरू धेरै निर्माण गर्न लगाएका थिए भनिन्छ । उनका पालामा धेरै बौद्ध स्तूपहरूको पनि निर्माण भएको थियो । जे होस् मानदेव, अंशुवर्मा एवम् नरेन्द्रदेवका पालामा हिन्दु र बौद्ध धर्मको प्रचार प्रसार व्यापकरूपमा भएको थियो ।

वि.सं. ९३७ सँगसँगै नेपाल मल्लकालीन समयमा अवतरण हुन्छ । मल्ल शासनकालका प्रथम राजा अरिमल्ल उनका छोरा अभय मल्ल र यसपछि क्रमशः जयस्थिति मल्लको अभ्युदय भएको पाइन्छ । यक्ष मल्लको समयमा आइपुग्दा नेपालको सीमाकंन विस्तृत भएको र छोराहरूलाई राज्य सुम्पदा काठमाडौँ, भक्तपुर र पाटन छुट्टिएको देखिन्छ । भक्तपुरमा भुपतीन्द्र मल्लद्वारा बनाउन लगाइएका कला कौशलले पूर्ण मन्दिरहरू धेरै छन् । पाटनमा सिद्धिनरसिंह मल्लले बनाउन लगाएका कलाकारिताले पूर्ण भएका मन्दिरहरू धेरै छन् । काठमाडौंमा प्रताप मल्लका पालामा बनेका सयौं मन्दिरहरू छन् भने रानी पोखरी पनि उनकै पालामा बनेको हो । साबिक समयमा नेपालका शासकहरू सिधै भगवानसँग वार्ता गर्न सक्थे भनिन्छ । सपनामा दर्शन हुने, न्यायको, नैतिकताको आधारमा राज्य सञ्चालन हुने, आवश्यकताअनुसार ईश्वरकै सदिच्छाअनुसार मठ मन्दिरहरू बन्ने गरिन्थ्यो । हनुमान ढोका, कुमारी स्थान, प्रसिद्ध काल भैरवको मूर्तिको स्थापना कार्यले हाम्रो मल्लकालीन इतिहास दैवी शक्तिमा पूर्ण थियो भन्न सकिन्छ । सोह्रौँ शताब्दीमा आइपुग्दा मल्ल शासकहरूमा आपसी बैमनस्यता देखिएकाले उनीहरूको आफ्नो शक्ति पनि गुम भएको स्पष्ट हुन्छ । वि.सं. १८२५ मा आइपुग्दा गोर्खाका पृथ्वीनारायण शाहले काठमाडौँ, भक्तपुर एवम् ललितपुरका अन्तिम मल्ल राजाहरू क्रमशः जयप्रकाश मल्ल, रणजीत मल्ल र तेजनरसिंह मल्लमाथि विजय प्राप्त गरी नेपालको एकीकरण अभियान प्रारम्भ गरेका हुन् । 

प्रत्येक राष्ट्रको आफ्नो इतिहास हुन्छ । युगौंयुगदेखि धर्म सम्पदाको रूपमा रही आएको नेपाल एक पवित्र धार्मिक क्षेत्र हो । धार्मिक दृष्टिले सहिष्णु क्षेत्र हो । हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चस्व कायम रहेको छ । सत्य, त्रेता, द्वापरदेखि करिब पाँच हजार वर्षदेखि आरम्भ भएको कलि युगमा पनि यो तपोभूमिकै रूपमा रहेको छ । नेपाल माहात्म्य, हिमवत् खण्ड स्कन्द पुराणले ने मुनिको नामबाट कलियुगीन नेपालको नामकरण भएको चर्चा गरेको छ । आधुनिक मेचीदेखि महाकालीसम्मको सिमाना भूमि नेपाल विश्वकै एउटै नमुना क्षेत्र हो । पृथ्वीको सबैभन्दा ठुलो एसिया महाद्विपको मध्य भागमा रहेको यो मुलुक भारत र चीनका बिचमा अवस्थित छ । आर्थिक विकासको दृष्टिले निकै अगाडि बढेका दुई छिमेकी भारत र चीनसँग यसको विशेष सम्बन्ध रहिआएको छ । 

सरदर १९३ कि.मि. उत्तर–दक्षिण चौडाइ र पूर्व–पश्चिम सरदर ८८५ कि.मि. लम्बाई क्षेत्र ओगटेको यसको क्षेत्र पूर्वी भागको अपेक्षा पश्चिम भाग फराकिलो छ । भौगोलिक दृष्टिले विश्वमान चित्रमा सानो आकार भए पनि विश्वको शिखर सगरमाथाको कारण र विश्वमै नौलो प्राकृतिक, सांस्कृतिक, सामाजिक परिवेश भएकाले यो मुलुकप्रति सबैको चासो बढ्नु स्वाभाविक हो । यसको कूल भू–भागको झन्डै ७७ प्रतिशत उच्च हिमाली क्षेत्र र पहाडी क्षेत्र तथा झन्डै २३ प्रतिशत क्षेत्र तराई भाग (समथर)मा पर्छ । धरातलीय आधारमा यसलाई हिमाली, पहाडी र तराई गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ भने अपार जल स्रोतको भण्डार रहेको यो मुलुक पर्यटकहरूको आकर्षणको केन्द्र बिन्दु बनेको छ ।

उत्तर तिब्बततर्फ सिमाना २५ कि.मि.देखि ५० कि.मि.सम्मको चौडाइमा रहेको यसको क्षेत्रले करिब १५ प्रतिशत भू–भाग ओगटेको छ भने अग्ला हिम शिखर कञ्चनजंघा, मकालु, ल्होत्से, मनासलु, धवलागिरिसम्म यसै क्षेत्रमा पर्छन् । शेर्पा, थकाली, भोटे आदिको अधिक बस्ती यो क्षेत्रमा आधुनिक विकासको न्यानो घाम लाग्न सकेको छैन । बौद्ध धर्मावलम्बीहरूको अधिक बाहुल्यता रहेको यो हिमाली क्षेत्रमा सञ्चार, यातायात, शिक्षा, विद्युत् जस्ता विकासका पूर्वाधार तयार गर्न ढिला भैसकेको छ । ७७ जिल्लामध्ये १६ वटा जिल्ला ओगटेको हिमाली क्षेत्रको संस्कृति छुट्टै किसिमको शैलीसमेतले नेपालको पहाडी क्षेत्र आफ्नै महत्वको छ । 

समुद्रबाट टाढा रहेका कारण तेस्रो मुलुकसँग सम्पर्क गर्न कठिनाइ भएको यो क्षेत्र समुद्र सतहदेखि ६०० देखि ३००० मिटरसम्मको उचाइमा रहेको छ । पूर्व–पश्चिम कडा चट्टानी भाग रहेको यो क्षेत्र ७५ कि.मि. देखि १२५ कि.मि. चौडाइ पूर्व पश्चिम फैलिएको छ । यो पहाडी क्षेत्रले कूल भू–भागको ६८ प्रतिशत क्षेत्र ओगटेको छ । महाभारतको लेक, रारा, ताल, फेवा ताल, शिवालिक पहाड जस्ता ऐतिहासिक धरोहर बोकेको पहाडी क्षेत्रकै कारण यो मुलुकलाई पहाडी मुलुक भनिएको छ । गण्डकी, कोशी, कर्णाली, सुनकोसी, त्रिशूली, महाकाली जस्ता अति पवित्र नदीहरू यहीँ छन् । स्वर्गबाट झरेका, शिव जटाबाट बगेका पावन नदीनालाहरूले हिमाली क्षेत्रदेखि यस भू–क्षेत्रसम्मलाई पवित्र पार्दै भारतको प्रसिद्ध क्षेत्र गंगासागरसम्म पुगेका छन् । अयोध्याको क्षेत्रमा बग्ने पवित्र सर्यु नदी नेपाल पश्चिम क्षेत्रकी महाकाली हुन् । बागमती, विष्णुमती आज भोलि प्रदूषित देखिए पनि तिनको उद्गम क्षेत्र शिवपुरी स्वयम् शिव जटा नै हो । गहिरो अरुण, पूर्वको कोसी अनि बहु–चर्चित मेलम्ची पनि यिनै पहाडी क्षेत्रबाट बगेकी छन् ।

राजधानी काठमाडौँ, पर्यटकीय नगरी पोखरा, विशाल क्षेत्र ओगटेको सुर्खेत र अत्यन्त रमणीय क्षेत्र दिपायलले नेपालको भू–बनोटलाई हराभरा बनाएका छन् । सिन्धुलीको सभ्यतादेखि रुम्जाटार, बेलटार, मङ्गलवार, पाँचखाल हुँदै पश्चिम रेसुङ्गादेखि रुरुसम्मको क्षेत्र र पवित्र आर्यघाटदेखि देवघाटसम्मको क्षेत्र प्रवेश गर्दासम्म पनि स्वर्णीम आनन्दको अनुभूति हुन्छ । जनकपुरको जानकी क्षेत्रदेखि नवलपरासीको त्रिवेणी क्षेत्र र डडेलधुराकी उग्रतारादेखि डोटीकी शैलेश्वरीसम्मले यो भू–भागलाई तीव्रतर देवभूमि बनाएको छ । अधिराज्यको दुई तिहाइ भू–भाग ओगटेको पहाडी क्षेत्रका ३९ वटा जिल्लाहरू रहेका छन् भने पूर्वमा माइपोखरीदेखि पश्चिममा ब्रह्मदेव क्षेत्रसम्म पावन र पवित्र छ । ब्राम्हण, क्षेत्री, किरात, मगर, नेवार, तामाङ आदि विभिन्न जात जातिका मानिसहरू आपसी समन्वयका साथ यस क्षेत्रमा बस्दै आएका छन् । जातिपातिमा बैमनस्यता कहिल्यै भएको छैन ।

नेपालको इतिहास खोज्दा, यसको अस्तित्व अनन्तकालसम्म जोडिएको भेटिन्छ । सत्ययुगमा यसको नाम सत्यवती थियो । राम राज्यका समय त्रेतामा यसको नाम तपोवन रहन पुग्यो । महाभारत कालीनद्वापरमा यसको नाम मुक्ति क्षेत्र रहन गयो । हालको समय यसको नाम नेपाल रहेको छ । सुगौलीको सन्धि पूर्व यसको क्षेत्र विशाल थियो । ईश्वरको नवौँ अवतार बुद्धको जन्मभूमि नेपाल तराई क्षेत्रमा छ । पवित्र लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतले नियालेर हेरिरहेछ । अहिंसा परमो धर्म नेपालको शान्ति, मैत्री र अहिंसा विश्वको लागि उदाहरण बन्नु नै पर्ने हुन्छ । 

सबै वैदिक सनातन धर्मका आदिम स्रष्टा विश्व साहित्यका आदि कवि वेदव्यास, महर्षि वाल्मीकिसमेतको तपस्थली नेपाल भूमि नै हो । त्रेताका सूर्यवंशी राम आफ्ना पितृ उद्धार गर्न नेपालको पश्चिम क्षेत्र डोटीमा आएका थिए । साथमा रहेकी सीताको नामले सेती नदी अहिलेसम्म बग्दैछ । विश्व साहित्यका प्रणेता व्यास, वाल्मीकिलगायत उच्च विशिष्ट व्यक्तिहरूबाट तयार भएको वेद, उपनिषद्, पुराणका ग्रन्थ तथा हिन्दु, बौद्ध सभ्यतालाई बडो भरपर्दोरूपले व्यवस्थित गरिराखेको छ एसियन सिभिलाइजेशन म्युजियम सिंगापुरले ! वीरबहादुर शाहको नाम इतिहासमा दर्ज भएको छ, हामीले बिर्सनु हुन्न, भर्खरै पंक्तिकारले गोरखाको भ्रमण गर्दा पनि भ्रमण टोलीलाई सोको स्मरण गराएको याद आइरहेको छ । हाम्रो इतिहास गौरव गर्न लायक छ । गौरव गर्न लायक इतिहास बनाउने पात्रहरूको उचित सम्मान हुनु वर्तमानको पनि सम्मान हो । यद्यपि, ती महान् सपुतहरुलाई सम्मान दिने काम राज्यबाट भइरहेको छैन । 

ADVADV

सम्बन्धित खबर

Advertise