जुम्ला : जुम्लाका ६ हजार ५ सय ६ जना बालिकाले पाठेघरविरुद्धको खोप (एचपीभी) लगाएका छन् । गएको माघ २७ गतेदेखि फागुन ७ गतेसम्म जिल्लाका विभिन्न केन्द्रमा खोप लगाइएको थियो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार सरकारको राष्ट्रिय खोप अभियान अन्तर्गत जिल्लाका ८ वटै स्थानीय तहमा लगाएको खोपको प्रतिवेदन अनुसार ६ हजार ७ सय ३९ जनालाई लगाउने लक्ष्य अनुसार जुम्लामा ६ हजार ५ सय ६ (९६.५४ प्रतिशत) ले खोप लगाएका छन् ।
प्रमुख सापकोटका अनुसार कनकासुन्दरी गाउँपालिकामा ८ सय जना(१०७.२४ प्रतिशत), सिँजा गाउँपालिका ७ सय १५ जना (१०४.२३ प्रतिशत), तातोपानी गाउँपालिका ६ सय ७३ जना (१०२.२८ प्रतिशत), गुठिचौर गाउँपालिकामा ४ सय १५ जना (९७.१९ प्रतिशत), चन्दननाथ नगरपालिका १ हजार ४ सय २७ जना (९७ .०७ प्रतिशत), हिमा गाउँपालिका ८ सय ८ (८२.७ प्रतिशत), पातारासी गाउँपालिका ८०३ जना ८९.८२ प्रतिशत र तिला गाउँपालिकामा ८ सय ६५ जना ८२.७ प्रतिशत) बालिकालाई खोप लगाइएको छ ।
जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईका अनुसार विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षा देखि १० कक्षाका किशोरी र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षका किशोरीलाई खोप लगाइएको छ ।
खोप अभियान सफल पार्नका लागि ८६ वटा विद्यालयमा खोप केन्द्र, अन्य हेल्थपोष्टसहितका क्षेत्रमा आवश्यकता अनुसार र २ सय जना स्वास्थ्यकर्मी परिचालन भएका र जनस्वास्थ्य कार्यालयले मापदण्ड अनुसारका सबै किशोरीलाई खोप लगाउन सूचनासमेत गरेको थियो ।
जनस्वास्थ्य कार्यालयका अनुसार खोप अभियानमा जुम्लामा १ सय ६३ वटा खोप सेसन थिए । जसमा कक्षा ६ अध्ययनरत १० वर्षका एक हजार तीन सय ३८ जना, ७ कक्षा देखि १० कक्षा, ११ देखि १४ वर्षका पाँच हजार ७७ बालिका तथा किशोरीलाई खोप लगाइएको छ । चिसोले विद्यालय ढिला लागेका कारण जुम्लामा माघ २७ गतेबाट मात्र खोप अभियान भएको थियो ।