-हरि गोपाल प्रधान
संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन पनि हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातबिना पर्यटन विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरूमा यातायातका स्थल साधनहरू विकट पहाडी क्षेत्रहरूमा पुर्याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता राष्ट्रहरूमा स्थल यातायातभन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
अत्यन्तै न्यून भूभाग मात्र सुगम र अत्यधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरूमा समेत यातायात सेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । धेरैजसो जिल्लाहरूमा त सडकले छोएको समेत छैन । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरूमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भर्खरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन–विकासमा यातायातका यस्ता पक्षहरूले अहम् भूमिका खेल्न सक्छन् ।
नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातलाई पर्यटन प्रवर्द्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगम (तत्कालिन शाही नेपाल वायुसेवा निगम)लाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँहरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाईसेवाको कर्तव्य हो । हाम्रो जस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाइ सेवा हो । पर्यटन उद्योग नै देश विकासको मेरुदण्ड भएको हुनाले र पर्यटन उद्योगको विकास हवाईसेवाको क्रियाकलापमा नै निर्भर रहेको हुनाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्नेछ ।
एकातिर नीति निर्माण तहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताको कारणले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकहरूले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटकहरू नेपाल आउन पाइरहेका छैनन् । तर अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकोले अब पर्यटकहरूको संख्यामा उल्लेख्यरूपमा वृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले सात वर्षअघिदेखि दुबई उडान थालेको र विश्वका ठूला–ठूला वायुसेवा निगमहरूले उडान गर्ने दुबई र हालसालै दमामसँग सिधा हवाई सम्पर्क भएकोले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरूको संख्यामा उल्लेख्यरूपमा वृद्धि हुने आशा पलाउनु पनि स्वभाविकै हो । खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब दशौं लाख नेपाली मजदुरहरूको आवत–जावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दुबई र दमामसँग सिधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।
पर्यटन व्यवसायका लागि सबैभन्दा ठूलो बरदान बनेको हवाई सेवाले, विश्वलाई साँघुरो पार्दै लगी एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाई यात्रुहरूको संख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष दशौं लाखभन्दा बढी व्यक्तिहरूले आन्तरिक हवाई यात्रा गरिरहेका छन् । हवाई सेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च बुद्धि हासिल गरेको छन् भने चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै संख्यामा वृद्धि गरिसकेको छन् । विश्व पर्यटन बजारको आम्दानीमा वृद्धि भई एक हजार अरब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कूल आम्दानीको एक प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ ।
नेपालले पनि हवाई सेवाबाट आय–आर्जन गर्न त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरूको संख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त संख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम डलर मात्र पर्यटन व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
सन् १९९० को दशकदेखि हवाई यात्रुहरूको संख्या विश्वमा नै बढिरहेको छ । हवाई यात्रुहरूको संख्या बढेपछि सडक यात्रुहरूको संख्या चाहिँ घटिरहेको छ । सडक यात्राले भन्दा हवाई यात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुनसक्छ । हवाई यात्राको प्रतिशत लगातार बढिरहे झैं सडक यात्राको प्रतिशत चाहिँ लगातार घटिरहेछ । हवाई यातायताका क्षेत्रमा यो शुभ संकेत हो । युरोपबाहेक अरु सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ ।
विश्वभरका मूल एक दशमलव पाँच अरब पर्यटकहरूले हवाई यातायातमार्फत आफ्नो यात्रा तय गर्ने गरेको अभिलेख छ । उता एसिया र प्रशान्त क्षेत्रका हवाईसेवाहरूले आफ्नो परिवहन क्षमता विगतको तुलनामा झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ । विश्वको हवाई यातायातको विकासको क्रमसँगसँगै हवाईयात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरूमा हवाई सेवा र पर्यटनमा अरु चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकोले लागत कम गर्नेतर्फ ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।
यस क्षेत्रमा ठूला–ठूला एयरक्राफ्ट जस्ता सुपर जम्बो र एयरबसहरू उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आफ्नो धारक क्षमतालाई पनि अझै वृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ । पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरी समेत पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरूले टेकिङ्ग एजेन्सीहरू वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुहरूले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि साँच्चै महत्वपूर्ण हुने हुरा स्पष्टै छ ।
नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, टेकिङ्ग एजेन्सी र होटलहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शङ्का छैन । अन्य विभिन्न सङ्घ–संस्थाहरूको पनि प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सम्बन्ध रहेको छ । तर सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक समन्वय र सामञ्जस्य हुन नसक्ता त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले आफ्नो लक्ष्य प्राप्तिका लागि कठिनाइ भइरहेको छ ।
सरकारी नीतिनिर्धारण गर्नेहरू, चालकदल, हवाई–कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाई–कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरू र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणहरूमा समन्वय र सामञ्जस्य ल्याउन नसकेसम्म र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवम् पर्यटन–व्यवसायको समेत भविष्य उज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्दैन । नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ६० वटा विमानस्थलहरू छन्, ती सबै विमानस्थलहरूलाई संरक्षण गरेर समुचित ढङ्गले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पुर्याउने छ । आगामी दिनहरूमा नेपालमा विदेशी पर्यटकहरूको संख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।
नेपालमा पूर्णरूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । चौथौ विमानस्थल बनाउने कुरामा विवाद नरहे तापनि त्यो विमानस्थल कहाँ बनाउने भन्ने विषयमा सधैँ विवाद भइरहेको अव त्यो विवादको टुङ्गो लगाएर छिटै नै अन्तर्राष्ट्रिय विमानस्थल भरतपुर, बनेपा, त्रिशूली र सिमरा विमानस्थलको निर्माण गर्नु आवश्यक भइसकेको छ । त्यो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तै चौथौ विमानस्थल वा वैकल्पिक विमानस्थल नभएर एउटा स्वतन्त्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्दछ । पोखरा र लुम्बिनीका विमानस्थलहरूलाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिनु पनि आवश्यक छ ।
अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई सम्झौताले पनि नेपालको पर्यटन व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
नेपालभित्र रहेका गन्तव्य स्थलहरूमध्ये सम्बन्धित व्यवसायीहरूबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलहरूको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पु¥याउने छ । पर्यटन प्रवर्द्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार प्रवर्द्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरू चालिनुपर्छ र खुला आकाश नीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।
आन्तरिक हवाई उडानमा यात्रुहरूको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई कम्पनीहरूलाई थप इजाजत दिने तर्फ नियन्त्रण गर्ने तर यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटन नीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संघ–संस्थाहरूको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न पर्यटन बोर्ड गर्नु र नेपाल पर्यटन बोर्डसँग त्यसले सामञ्जस्य राखी काम गर्नु पनि आवश्यक छ । सरकारले सबैको सहमति र सामञ्जस्यतामा राष्ट्रिय पर्यटन नीति बनाई त्यसलाई कडाइका साथ लागू गर्ने हो भने नेपालमा पर्यटन क्षेत्रको विकास नहुने कुरै छैन ।