काठमाडौं : संसद्मा प्रतिनिधित्व गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरू सतर्क देखिएका छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिमा फरक गतिविधिहरू बढेको निष्कर्षसहित दलहरू काठमाडौं केन्द्रित भएर छलफलमा जुट्ने तयारीमा लागेका हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउने कार्यक्रमलाई लक्षित गरेर उनका समर्थकहरूले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत कार्यक्रम राखेका छन् ।
सो कार्यक्रमका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले देशका विभिन्न स्थानमा प्रशिक्षण गराएर जनसमर्थन जुटाउन अभियान नै चलाएका छन् । राप्रपाले १ लाख नागरिक काठमाडौंमा उतार्ने दाबी गरे पनि गृह मन्त्रालयले केही हजार व्यक्तिहरू काठमाडौंमा आउने आँकलन गरी सतर्कतासहित सुरक्षा व्यवस्था कडाइ गरेको छ ।
नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ फागुन महिनाभरका लागि स्थगित गरेर नेताहरू काठमाडौं केन्द्रित भएका माओवादी नेताहरूले बताएका छन् ।
राष्ट्रिय राजनीतिमा फरक परिस्थिति देखिँदै गएको अवस्थालाई मध्यनजर गर्दै केही समयका लागि पार्टीको अभियान स्थगन गरेको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले बताए । गुरुङले मध्यान्हसँग भने, ‘राष्ट्रिय राजनीतिमा फरक गतिविधिहरू बढेका कारण पार्टीको यो अभियानले मात्र नपुग्ने ठानेर थप सशक्त कार्यक्रम तय गर्नका लागि तत्कालका अभियान स्थगन गरेका हौं ।’ पार्टीको तत्काल बैठक बसेर नयाँ कार्यक्रम तय गर्ने उनले बताए ।
पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि छलफल भएको छ । पछिल्लो राजनीतिक सन्दर्भलाई लिएर राष्ट्र प्रमुख र कार्यकारी प्रमुखबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राष्ट्र प्रमुख र कार्यकारी प्रमुखबीचको भेट नियमित र समसामयिक विषयमा रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
गत ६ फागुनको राति प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना भिडियो सन्देश सार्वजनिक गरेसँगै राप्रपासहित उनका समर्थकले राजसंस्था फर्काउने भन्दै आफ्ना अभियानलाई थप सशक्त बनाएका छन् ।
रास्वपाका नेताहरू यो विषयमा मौन छन् भने नेपाली कांग्रेस, एमाले र माओवादीसहित राजनीतिक दलहरूबीच छलफल गर्ने तहमा पुगेका छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले समेत ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले राजनीतिक गतिविधिका नाममा केही अबाञ्छित गतिविधिहरू बढेका बताए । ‘संविधानको खिलाफमा कोही पनि जान सक्दैन’, उनले भने, ‘तर, यो व्यवस्थाका ंविरुद्ध अबाञ्छित गतिविधिहरू बढेको कुरा सत्य हो । यसमा संघीय लोकतान्त्रिक गणतन्त्रका रक्षक राजनीतिक दलहरूले छलफल गरेर यस्ता गतिविधिलाई रोक्न लाग्नुपर्ने अवस्थाचाहिँ आएको देखिन्छ ।’
माओवादी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकको निर्णयअनुसार गत १२ फागुनदेखि माओवादीले तराई–मधेश केन्द्रित अभियान चलाइरहेको थियो ।
माओवादीको पूर्वनिर्धारित कार्यक्रमअनुसार २५ फागुनमा बारा, २६ पर्सा, २७ चितवनमा अभियान संचालन हुने तय भएको थियो । यस्तै, २ चैतमा नवलपुर (नवलपरासी पूर्व), ३ चैतमा परासी (नवलपरासी पश्चिम), ४ गते रुपन्देही र ५ चैतमा कपिलवस्तुमा कार्यक्रम गर्ने तय भएको थियो ।
यसरी नै ६ गते दाङ, ७ गते बाँकेमा र ८ गते बर्दियामा अभियान संचालन हुने तय भएकामा सबै कार्यक्रम स्थगित भएको छ । ११ चैतमा कैलाली, १२ चैतमा कन्चनपुरमा कार्यक्रम गर्ने तय भएको थियो । यी सबै कार्यक्रम अब कहिलेदेखि सुरु गरेर कहिले सक्ने भन्नेबारे केन्द्रीय बैठकले छिट्टै मिति तय गर्ने नेताहरूको भनाइ छ ।
मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै बालुवाटारको आग्रहमा माओवादी अभियान स्थगन भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले बताए । उनले भने, ‘मलाई लाग्छ, बालुवाटारबाटै केही सूचना पठाएकाले माओवादीको अभियान स्थगित गरिएको हुनुपर्छ । माओवादी तराई–मधेशमा अल्झेका बेलामा काठमाडौंमा अरूले कब्जा गर्ने अवस्था आउने हो कि भन्ने कुरालाई ध्यानमा राखेर कार्यक्रम स्थगित भएको हुन सक्छ ।’
केही दिनदेखि संसद्मा समेत दलका नेताहरूले पूर्वराजा शाह केन्द्रित अभिव्यक्ति दिएपछि राजनीतिक बजारमा विभिन्न शंका उपशंकाहरू उब्जिएका छन् । राजसंस्थाको वकालत गर्दै आएको राप्रपाले राजावादी गतिविधि बढिरहेको अवस्थामा उनीहरूको गतिविधिलाई चुनौती दिनेगरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको माओवादी महासचिव देवप्रसाद गुरुङले बताए ।
अभियानअन्तर्गत शनिबार रौतहटमा कार्यक्रम सकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू काठमाडौं फर्किएका छन् । अभियानलाई केही समय स्थगित गर्दै पार्टीको बैठकपछि संसदीय मोर्चामा सक्रिय रहँदै प्रतिगामी शक्तिहरूको गतिविधिलाई चिर्न लाग्ने उनको भनाइ छ ।
पूर्वराजाले राजनीतिक सक्रियता देखाएको भन्दै प्रधानमन्त्रीसहित सत्तासीन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताले राजनीति गर्ने भए दल खोलेर चुनावमा आउन चुनौती दिइरहेका छन् । शीर्ष दलका नेताहरूको यस्तो अभिव्यक्तिपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका ठूला भनिएका दलसँग लड्न आफूहरू नै काफी रहेको टिप्पणी गरेका छन् ।