नेपालगञ्ज : बाँकेका आठ स्थानीय तहले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।अन्तरपालिका समन्वय, सहकार्य एवं अनुभव आदान प्रदानसम्बन्धी भएको समन्वय बैठकमा सो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
जिल्लाका स्थानीय तहबीच विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रूपले कार्य गर्नको लागी समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवर्द्धन गर्ने, विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय तहमा भएका असल अभ्यास र सिकाइको अनुसरण गर्दै आवश्यक पर्दा एक स्थानीय तहले अर्को स्थानीय तहलाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख छ ।
यसबाहेक विपद् व्यवस्थापनमा सहयोग आदानप्रदान गर्न तथा सहकार्य गर्न स्रोत साझेदारीको लागि सम्बन्धित स्थानीय तहको मौजुदा कानुन अद्यावधिक गर्ने, आगलागीको समयमा कुनै स्थानीय तहले दमकल सेवा माग गर्दा तुरुन्त उपलब्ध गराउनुपर्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।
सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका एम्बुलेन्सको विवरण अद्यावधिक गरी आपत् र विपद्को समयमा तुरुन्तै सेवा दिन प्रबन्ध मिलाउने, विपद् सूचना प्रणालीलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापना एवं सुदृढीकरण गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनेलगायत समझदारी पत्रमा जनाइएको छ ।
विपद्को समयमा आवश्यक पर्ने उद्धार, राहत तथा पुन:स्थापनाको लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, अस्थायी आवास आदिजस्ता अत्यावश्यक सेवा तत्काल प्रदान गर्ने उद्देश्यले त्यस्ता सामग्रीको निश्चित मात्रामा भण्डार गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । समझदारी पत्रमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहलगायत विभिन्न पालिकाका विपद् सम्पर्क व्यक्तिले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताए । उक्त बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठ, परियोजनाका जनसम्पर्क अधिकृत रुपन ज्ञवालीले परियोजनाको विभिन्न विषयमा जानकारी दिएका थिए । सबै पालिकाले विपद्मा गरेका विभिन्न असल कामको अभ्यासबारे समेत जानकारी दिएका थिए ।