सुमन महतारा/मध्यान्ह
गुल्मी : गुल्मी रेसुङ्गा नगरपालिका–२ की दुवै मृगौला पीडित मैया बिक अहिले ५२ वर्ष पुगिन् । विगत दश वर्षदेखि मृगौला औषधि गर्दै आएकी विकको उपचारमा लाखौँ खर्च भइसकेको छ । मृगौला पीडित मैयाका श्रीमान ३५ वर्षमै खसे । उनका छोरा २२ वर्षीय मनोज विक पनि दुवै मृगौला फेल भई खसेको डेढ वर्ष भयो ।
अहिले उनको परिवारमा दुई जना मात्रै छन् । उनका छोरा र मृगौला पीडित मैया । परिवारको आर्थिक अवस्था अन्यन्तै कमजोर छ । समय–सयमा मैयालाई डायालासिसका लागि पाल्पा–बुटवल लैजानुपर्छ । जसले गर्दा उनका छोराले काम गर्ने समय समेत पाएका छैनन् । परिवारलाई आर्थिक संकटले घेरेको छ । यो समयमा आर्थिक सहयोगको याचना गर्नुको विकल्प छैन ।
मैया मात्र होइन सोही स्थानका ५८ वर्षीय बुद्धिकुमार शाक्य र उनकी ५२ वर्षीया श्रीमती गीता शाक्य पनि प्यारालाइसिस रोगले ग्रसित छन् । बस्ने गतिलो ओतसमेत नभएका उनीहरुको आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेको छ ।
बुद्धिकुमार विगत २ वर्षदेखि र उनकी श्रीमती गीता विगत १ वर्षदेखि प्यारालाइसेस रोगले ओछ्यानबाट उठ्न सकिरहेका छैनन् । उनका छोरा–बुहारीले हेरचाह गर्दै आएका छन् । सामान्य ज्याला मजदुरी गरि परिवार चलाई रहेका उनीहरुलाई कतैबाट आर्थिक सहयोग भए उपचारमा राहत मिल्ने आशा छ ।
पीडितहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित त्यस वडाका वडाअध्यक्ष उदय थापाले सहयोगका लागि विभिन्न माध्यममार्फत आग्रह गरे । स्वदेश तथा विदेशबाट विभिन्न सहयोगीदाताहरुको सहयोगमा आर्थिक संकलन गरि वडाअध्यक्ष थापा पीडितहरुको साहारासमेत बन्दै आएका छन् ।
वडाअध्यक्ष तथा युवा समाजसेवी थापाको आग्रहपछि रेसुङ्गा नगरपालिका–८ घर भई अहिले युकेमा रहेका झपट भुजेलले त्यहाँ रहेका अन्य २३ जना सहयोगीबाट रु १ लाख ५६ हजार ३ सय संकलन गरी उनका रुन्द्र भुजेलको खातामा पठाएका छन् ।
सो रकम भुजलले सोमबार रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष थापामार्फत वडा सदस्य कृष्ण बहादुर थापा, शेर बहादुर वि.क लगायतको उपस्थितिमा पीडितहरुलाई हस्तान्तरण गरे ।
दुवै मृगौला पीडित विकलाई रु ७८ हजार १ सय ५० र प्यारालाइसिस पीडित शाक्य दम्पत्तीका छोरा झवि शाक्यलाई रु ७८ हजार १ सय ५० रुपैँया हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग हस्तान्तर गर्दै वडाअध्यक्ष थापाले आफु दीन दुःखीहरुको राहत र सहयोगका लागि हरेक समयमा जुट्ने गरेको बताए ।
आफ्नो आग्रहलाई स्वीकार गरि स्वदेश तथा विदेशबाट सहयोग गरेका सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा राखे ।
वडाअध्यक्ष थापाले दुवै मृगौला फेल भई मृत्युवरण गरेका मैया विकका २२ वर्षीय छोरा मनोजको आर्थिक सहयोग जुटाएर उपचार गर्दा गर्दै निधन भएको भन्दै बचाउन नसकिएको मा दुःख व्यक्त गरे ।
सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी भुजेलले विदेशमा आफ्नो गाँस कटाएर पठाएको सहयोग रकमको उचित सदुपयोग गर्न आग्रह गरे । पीडितहरुको उपचारमा सानै भए पनि राहत पुर्याउने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी लागेको भुजेलले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies