सिन्धुली : सिन्धुलीमा २८ चैतदेखि ‘राष्ट्रिय कला महोत्सव’ हुने भएको छ । सिन्धुली कलाघरले सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीमा २८ चैतदेखि ३ वैशाखसम्म जिल्लामै पहिलो पटक महोत्सवको आयोजना गर्न लागेको हो ।
कला घर निर्माणको अभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले ५ दिनसम्म महोत्सवको आयोजना गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले बताए ।
महोत्सवमा विभिन्न १२ जातजातिको कला, संस्कृति, पोशाक, परिकार र झाँकी प्रदर्शन गरिने छ । नेपाली मौलिक परम्परा झल्कने घरका नमुना, मौलिक परिकारहरू प्रदर्शनीमा राखिने छन् ।
यस्तै महोत्सवमा विभिन्न मौलिक खेलकुद प्रतियोगिता गरिने छ । हस्तकला, चित्रकला, मूर्तिकला लगायतका कलाको प्रदर्शन र व्यापार गरिने छ ।
राष्ट्रिय कलाघर सिन्धुलीले कलाघरलाई मौलिक कलाको संरक्षण गर्दै कला सिर्जनाको आविष्कार केन्द्र तथा सांस्कृतिक विश्वविद्यालयका रूपमा विकास गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान लगायतका कलाहरूलाई समेत प्रदर्शन गरिने छ । जिल्लाका विद्यालयस्तरीय नृत्य, गायन, चित्रकला लगायतका प्रतियोगिताहरू गरिने छ । मार्सल आर्टका विभिन्न खेलहरू हुने छन् । स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ । महोत्सवमा १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने विश्वास गरिएको छ ।