
काठमाडौँ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।
ल्यान्ड गर्ने क्रममा दुई वटा हेलिकोप्टर एक आपसमा ठोक्किँदा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडुको मृत्यु भएको हो ।
आज बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा न्युजिल्यान्ड निवासी अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल के.सी. घाइते भएका छन् ।
घाइतेमध्ये सेलिशकुमार पटेल र फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।
त्यसैगरी, डाइनेस्टी एयरका पाइलट प्रजल के.सी.को लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।