२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मार्क्सवाद बुझ्न मार्क्सवाद पढ्नैपर्छ

ADV
२०८१ असार १८ गते ०६:२५
मार्क्सवाद बुझ्न मार्क्सवाद पढ्नैपर्छ

–लेखराज रेग्मी

कार्ल मार्क्सलाई बुझ्न मार्क्सवाद अध्ययन गरौँ तर, मार्क्सवाद बुझ्न मार्क्सका विरोधी विचारहरू र त्यसमा भएका तात्कालिक बहसहरूलाई अध्ययन गरौँ । नेपालको सन्दर्भमा कसरी प्रदिप गिरी मार्क्सवाद पढेर पनि कम्युनिष्ट बनेनन् ? यसबारेमा बुझौँ । कसरी केशरजङ्ग रायमाझी मार्क्सवाद पढेर, कम्युनिष्ट पार्टीमा रहेर, काम गरेर, सर्वोच्च पदमा पुगेर पनि आजीवन कम्युनिष्ट बन्न सकेनन् । यो कुरा अन्य व्यक्तिहरूमा कसरी लागु भैरहेछ ? त्यसको अध्ययन अनिवार्य छ । 

मार्क्सका समकक्षी समाजवादीहरू फस्ट इन्टरनेशनलमा जे–जस्ता तर्क गर्दैथिए, आज पनि विभिन्न संशोधनवादीहरू तिनै तर्कहरूलाई नवीकरण गरिरहेका छन् । यद्यपि, उनीहरु नयाँ कुरा गरेको हुइयाँ पिटिरहेका छन् । जसको गहिरो अध्ययन गरिएन भने वास्तविकता भेट्न सकिन्न । प्लेखानोभ जसले रुसमा कम्युनिष्ट विचारधारा स्थापित गर्न धेरै उच्च स्तरको मेहनत गरे, उनी लेनिनका गुरु नै हुन् । तर, जब साँच्चै क्रान्तिकारी परिस्थिति देखापर्‍यो, उनी लरखराए ।

भारतमा जतिबेला नक्सलवाडी आन्दोलन अखिल भारतीयको नाममा विकास भैरहेको थियो, त्यसकै छातामुनि नयाँ संस्करणको माओवादी कम्युनिष्ट पार्टी पनि हुर्किरहेको थियो । नेपालको सन्दर्भमा नेकपा (मार्क्सवादी–लेनिनवादी)को गठन, क्रान्तिकारी विरासतबाट संशोधनवादको दिशामा प्रस्थानविन्दु बनिरहेको पाइन्छ ।

यावत घटनाहरू कहाँ र कहिले र कसरी पुनरावृत्त हुँदैछन् र भैरहेका छन्, थाहा पाउन त्यसको जरासम्म पुगेर अध्ययन गरेकै हुनुपर्छ । कसरी प्रतिक्रियावादीहरू वि.सं. २०३५ पछि चौथो महाधिवेशन विरुद्ध मालेको विकासलाई अनुकूलता पैदा गर्दैथिए र एमालेलाई ताछ्न जनयुद्धलाई भजाउँदै थिए ? पछि प्रचण्डलाई गलाउन उनकै टिमभित्र र विभाजित माओवादीलाई स्थापित गर्न छद्म चाल चाल्दै थिए ? आज उनीहरू के गरिरहेका छन्, बुझ्न र थाहा पाउन विभिन्न समयका घटनाक्रम र ऐतिहासिक बहसहरूको अध्ययन गर्नुपर्छ । 

यदि हामीले विषयवस्तुको सही अध्ययन गरेनौ भने हामीले सही निष्कर्ष निकाल्न सक्दैनौ । हामी मात्रै भ्रममा पर्दैनौ, हामीले अरुलाई पनि भ्रममा पार्छौँ । कतिपय सन्दर्भ, भ्रमबाटै सिर्जना भएका छन् अनि भ्रमबाटै फिजाएका छन् । खासगरी नेपालमा को कम्युनिष्ट हो ? कम्युनिष्टको शैली कस्तो हुन्छ ? यसको आन्दोलनका तरिका कस्तो हुन्छ ? यसको संगठन र जनसम्बन्ध कस्तो हुन्छ ? यावत् विषयमाथि स्पष्ट हुन जरुरी छ । यदि नेतृत्व तहमा रहेका पात्र स्पष्ट हुन सकेनन् भने त्यसले थप क्षति पुर्‍याउँछ ।

खासगरी संशोधनवादी धाराको प्रभाव बढी हुँदा वास्तविक कम्युनिष्टहरू सधैँ अप्ठ्यारोमा पर्दै आएका छन् । वास्तविक कम्युनिष्टहरूले नेतृत्व गर्ने आन्दोलनलाई बिदु्रपिकरण गर्न अनेकन खेल भइरहेको पाइन्छ । यस्तोमा आन्दोलनमा सहभागि, आन्दोलनमा नेतृत्वको भूमिकामा रहनेले आन्दोलनबारे राम्रोसँग अध्ययन गरी स्पष्ट हुन जरुरी हुन्छ । कम्युनिष्टको सही इतिहासलाई आत्मसाथ गरेको हुनुपर्छ । अन्यथा, त्यसले आन्दोलनलाई बिदु्रपिकरण मात्रै गर्दैन, समग्र संशोधनवादी धारामा बिसर्जित गराउँछ । त्यसकारण यसबाट सजग हुनु अनिवार्य छ । अध्ययन जीवन र जगतलाई बुझ्न र बदल्न प्रयोग गरौँ ।

ADVADV

सम्बन्धित खबर

Advertise