सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राउटेलाई देखाउने काम भएको तर उपयोग हुन नसकिरहेको बताएका छन् ।
वीरेन्द्रनगरमा आयोजित जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर/प्रभाव सम्बन्धी कार्यक्रममा बोल्दै उनले राउटे समुदायद्वारा निर्माण भएका कोशी, मधुस जस्ता सामग्री ललितकलाका लागि प्रदर्शनी र बजारीकरण गर्न सके सही उपयोग हुने बताए ।
जङ्गलमा फिरन्ते राउटे समुदायले जलवायु परिवर्तनका कारण विभिन्न जोखिमहरूसँग सामाना गरिरहेको उनले बताए । उनीहरूका लागि गाउँ, समुदाय, सरकार र सरोकारवाला निकायहरूले योजनाबद्ध कार्यहरू गर्नुपर्ने उनको सुझाव थियो ।
साथै, राउटेलाई मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भिर बन्नुपर्ने धारणा राखे । स्वास्थ्य र शिक्षामा गम्भिर हुन ध्यान केन्द्रित गर्दै राउटे समुदायमा भएको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गर्न आवश्यक भएको बताए ।
राउटे समुदायको भाषा र उनीहरूले प्रयोग गर्ने लिपिहरूलाई अभिलेख गर्न आवश्यक रहेको जनाउँदै उनले सोहीअनुरूप प्रदेश सरकारले आगामी दिनमा योजनावद्ध कार्य गर्ने जानकारी दिए ।