राजविराज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको अनुगमन टोलीले राजविराजमा सञ्चालित स्वास्थ्य संस्थाको निरीक्षण गरेको छ । अनुगमनका क्रममा २ अस्पताल अवैध रूपमा सञ्चालन भएको पाइएको छ । ती अस्पताललाई तत्काल बन्द गर्न निर्देशन मुख्यमन्त्री सिंहले दिएका छन् ।
राजविराजस्थित प्रसुति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्वास्थ्य क्लिनिकको अनुमति लिएर पोलिक्लिनिकको सेवा प्रदान गरिरहेको भेटिएपछि बन्द गर्न निर्देशन दिइएको छ ।
यस क्लिनिकले शैयासहितको इमेजिङ तथा शल्यक्रिया सेवा उपलब्ध गराउँदै आएको थियो । जसका लागि प्रदेश सरकारबाट छुट्टै अनुमति आवश्यक पर्ने नियम छ ।
त्यस्तै, सेवा सञ्चालनको अनुमतिपत्र नलिई सञ्चालन भइरहेको भारती इमेजिङ सेन्टरलाई पनि बन्द गर्न निर्देशन दिइएको छ ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुमति बिना नै सञ्चालन भएकाले यी संस्थाहरू बन्द गरिनुपर्ने निर्णय भएको हो ।
अनुगमन टोलीले अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई २ महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ । यी अस्पतालहरू १५ शैयाको अनुमति लिएर सञ्चालन भए पनि मापदण्ड अनुसार सेवा प्रदान नगरेको पाइएको छ ।
राजविराजकै ५० शैयाको युनिक सिटी अस्पताललाई २ महिनाभित्र अनुमतिपत्र नवीकरण गर्न भनिएको छ । त्यस्तै, २ सय शैयाको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक भए पनि सरसफाइ व्यवस्थापनमा सुधार आवश्यक रहेको भन्दै थप ध्यान दिन निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिंहले संघ सरकार मातहत सञ्चालित गजेन्द्रनारायण सिंह अस्पतालको पनि अनुगमन गरेका छन् । निरीक्षणका क्रममा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेको, अनुमति बिना केही कर्मचारी अनुपस्थित रहेको र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी गिरावट आएको पाइएको छ ।
मुख्यमन्त्री सिंहले अस्पताल प्रशासनलाई सेवाको गुणस्तर सुधार्न, जनशक्ति व्यवस्थापनलाई चुस्त बनाउन र उपकरणको उपलब्धता सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
साथै, संघीय स्वास्थ्य मन्त्रीसँग जनशक्ति व्यवस्थापन, सेवा विस्तार र उपकरण उपलब्धताका विषयमा छलफल गर्ने उनले जनाएका छन् ।